एचकेनेपाल डट कम संवाददाता-
काठमाडौ, १ साउन । नेपाल नागरिक पार्टीका अध्यक्ष राजकुमार लेखीले नेपालमा आइएनजीओहरु मार्फत अन्तर्राष्ट्रिय हस्तक्षेप भएको, नेपालमा भ्रष्टाचार र अपारदर्शितालाई बढावा दिइएको बताएका छन्।
नेपाल नागरिक पार्टीले सोमवार राजधानीमा आयोजना गरेको नेपालमा अन्तर्राष्ट्रिय हस्तक्षेप र आइएनजीओको भूमिका कार्यक्रममा उनले वैदेशिक सहयोगलाई पारदर्शी र उत्तरदायी बनाउन सरकारसँग माग गरे। उनले वैदेशिक सहयोगका नाममा नेपालमा डलरखेती फस्टाएको भन्दै यस्तो डलरखेती र नेपाली नागरिकले अधिकारका लागि चलाउँदै आएको आन्दोलनबीच कुनै नातासम्बन्ध नरहेको बताए।
समाज कल्याण परिषद्ले विदेशीलाई नेपालको गाउँगाउँमा राज्यसरह जान दिएकोमा आपत्ति जनाउँदै यसकाबिरुद्ध परिषद्मा धर्ना दिने लगायतका कार्यक्रम पनि घोषणा गरे।
कार्यक्रममा नेपाली कांग्रेसका नेता आनन्द सन्तोषी राईले मुलुकको कार्यकारी अधिकार आदिवासी जनजाति समुदायको नेतृत्वको हातमा नआएसम्म मुलुकमा भ्रष्टाचार नियन्त्रण नहुने बताए। उनले नेपाललाई
आइएनजीओहरुले केकति सहयोग गरिरहेका छन् भन्ने सरकारले पारदर्शी गर्नुपर्ने बताए।
त्यसैगरी, नेकपा एकीकृतका नेता नगेन्द्र राईले अफ्रिकी देशहरुमा प्रचलित एउटा भनाइ उदृत गर्दै भने, ‘गोरो छालाका मानिस, रातो झण्डा, नीलो प्लेटको चिल्लो मोटर सल्बलाउन थालेपछि मुलुकमा अनिष्ट हुन्छ। नेपालमा
पनि अहिले त्यस्तै अनिष्टको संकेत देखिन थालेको छ।’ उनले लक्षित समुदायमा दातृ संस्थाहरु नपुगेको भन्दै उनीहरुले नेपालको गरिबीलाई उपहास गर्दै सम्भ्रान्त वर्गलाई पोस्ने काम मात्र गरेको बताए।
त्यसैगरी, नेवा राजनीतिक अभियानका नेता शाक्य सुरेनले छिमेकी भारत र बंगलादेश दाताको सर्तमा होइन आफ्नो सर्तमा मात्र सहयोग लिन्छन् तर नेपालले त्यसो गर्न नसकेको बताए।
बुद्धिजीवी तथा अधिकारकर्मी ज्योति दनुवारले नेपालका आइएनजीओ अपारदर्शी भएको बताउँदै विगतमा उनीहरुले आफ्नो वेबसाइटमा आफ्ना बारेमा धेरै सूचना राख्ने गरेको तर अहिले त्यसरी राख्न बन्द गरेको खुलासा गरे। उनले आइएनजीओहरु उहिलेका राणा शासकभन्दा स्वेच्छाचारी छन्, मनलागी पैसा बाँडेर नेपालमा धनी र गरिबको खाडल बढाइरहेका छन्, एकथरिलाई गरिबका नाममा धनी बनाइरहेका छन्, सम्भ्रान्तहरुको जागिर खाने थलो आइएनजीओ बनेको बताए।
नेपाल गणतान्त्रिक मोर्चाका अध्यक्ष बलराम ऋषिदेवले नेपालमा आइएनजीओहरुले दलितका नाममा पनि ठूलो रकम भित्राएको तर लक्षित समुदायमा नपुगेको भन्दै काठमाडौंका टाठावाठाले नै सहयोग रकम स्वाहा पारेको आरोप लगाए।
एकीकृत नेकपा माओवादीका पूर्व सभासद् रामबहादुर थापाले अन्तर्राष्ट्रिय हस्तक्षेपको बिरोध र आइएनजीओको पारदर्शिताको माग राम्रो तर गाह्रो काम हो भन्दै सरकारले समेत आइएनजीओहरुलाई तह लगाउन सकेको छैन भने नागरिक पार्टीले कसरी तह लगाउन सक्छ भन्ने प्रश्न उठाए। उनले, ‘अरु कुनै राजनीतिक पार्टीले गर्न आँट नगरेको काममा नागरिक पार्टीले हात हालेको छ, यो कामलाई आगाडि बढाउनुपर्छ।’
हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस