एचकेनेपाल डट कम संवाददाता-
काठमाडौ, १ साउन । अर्थमन्त्री वर्षामान पुन अनन्तले सरकारले आइतवार सार्वजनिक गरेको एक तृतीयांश बजेटले राजनीतिक गतिरोध अन्त्यको लागि सहमतिको ढोका खोलेको दावी गरेका छन्।
रिपोर्टर्स क्लब नेपालले सोमबार आयोजना गरेको साक्षात्कारमा उनले सरकारले पूर्ण बजेटको लागि तयारी गरे पनि राजनीतिक दलहरुवीच सहमतिको ढोका खोल्ने उद्धेश्यले पूर्ण बजेटको आवश्यकता हुँदा हुँदै पनि सरकारले एक तृतीयांश बजेट ल्याएको बताए।
साक्षात्कारमा अर्थमन्त्री पुनले विघटित संविधानसभामा प्रतिनिधित्व गर्ने दलहरुसँगको छलफलपछि सरकारले तृतीयांश बजेट ल्याएकोले बजेटमा विरोध गर्ने ठाँउ नभएको दावी गरे। उनले भने- बजेट सहमति गरेर ल्याएका हौ। न्यूनतम कार्यक्रममा सहमति बनेको छ। त्यसैले यसमा कसैले विरोध गर्ने ठाँउ छैन । अहिलेको बजेट पनि विगतका अर्थमन्त्री डा रामशरण महत र सुरेन्द्र पाण्डेले ल्याएको विशेष बजेट जस्तै छ। नयाँ केही गरेका छैनौ।
बजेटकै कारण राष्ट्रपति र सरकार त्यस्तै सरकार र प्रतिपक्षी दलहरुवीच द्धन्द्ध नबढोस् भन्ने सोचेर सरकारले आंशिक बजेट ल्याएको भन्दै यसले सहमतिको ढोका खोलेको र छिट्टै सहमति बन्ने विश्वास पनि ब्यक्त गरे।
अर्थमन्त्री पुनले संविधानसभाको निर्वाचन वा संविधानसभाको पुनर्स्थापना लगायतका विषयमा दलहरुवीच सहमति बन्नासाथ सरकारले पूर्ण बजेट ल्याउने गरी तयारी गरिसकेको जानकारी पनि साक्षात्कारमा दिए।
बजेट अघिल्लो वर्षको खर्चको एक तृतीयांश भन्दा पनि ४ हजार रुपैया कमै रहेकोले नबुझेर विरोध गरिएको दावी गर्दै निर्वाचन, समायोजनका लागि महानिर्देशनालय गठन, स्वेच्छिक अवकासमा जाने लडाकुलाई रकम र नयाँ मन्त्रालयका लागि खर्चको ब्यवस्था ब्यवस्था गर्नु परेकोले बजेट केही ठूलो जस्तो देखिएको बताए। सबै खर्च एक तृतीयांश भित्र रहे पनि राष्ट्रपति, उपराष्ट्रपति सहित संबैधानिक निकायको खर्च भने वर्ष दिनकैलागि छुट्याईएकोले पनि बजेट ठूलो जस्तो देखिएको उनको तर्क थियो।
हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस