Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

संविधान र सहमति विपरितको बजेट

एचकेनेपाल डट कम संवाददाता-
काठमाडौ, ३१ असार । नेकपा-माओवादीका सचिव देबप्रसाद गुरुङले सरकारले आइतवार सार्वजनिक गरेको एक तृतीयांश बजेट एक खर्व ६१ अर्व ६२ करोड संविधान र सहमति विपरित भएको दावी गरेका छन्।

रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा गुरुङले अघिल्लो आर्थिक वर्षको कुल खर्च ३ खर्व २९ अर्बको एक तृतीयांश १ खर्व ९ अर्व हुनु पर्नेमा त्यो भन्दा झण्डै ५२ अर्ब बढीको बजेट ल्याएर संविधानको धारा ९६ क को ठाडो उल्लंघन गरेको आरोप लगाए।

साक्षात्कारमा उनले काम चलाउ सरकारले पूर्ण आकारको बजेट जस्तो गरी कार्यक्रम सार्वजनिक गरेको भन्दै तृतीयांश बजेटको भावना विपरित नयाँ कार्यक्रमहरु समावेश गरेर सरकारले आफू कामचलाउको हैसियतमा भएको कुरा आत्मसाथ नगरेको देखिएको बताए।

उनले भने-तृतीयांश बजेटमा पुरानै कार्यक्रमलाई निरन्तरता दिनु पर्छ तर सरकारले पूर्ण बजेट जस्तै गरेर ५० वटा जति नयाँ कार्यक्रम ल्याएको छ। जुन कुरा स्वीकार्य हुँदैन । सरकार संविधान विपरित गएको छ। बजेट मार्फत सरकारको निरकुंश प्रबृति बाहिर आएको छ।

हुनै नसक्ने निर्वाचनको लागि संविधान विपरित बजेट छुट्याए, अघिल्लो वर्षको निरन्तरतामा रहेको समायोजनलाई शान्ति प्रक्रियाको नाममा नयाँ शीर्षमा बजेट छुट्याएको भन्दै उनले बजेट कार्यान्वयनमा आशंका ब्यक्त गरे।

उनले तृतीयांश बजेटको नाममा सरकारले पूर्ण देखिने बजेट ल्याएको भन्दै बजेट सस्तो लोकप्रियताको लागि ल्याएकोले कार्यान्वयन हुन नसक्ने ठोकुवा गरे।

साक्षात्कारमा नेपाली काग्रेसका केन्द्रीय सदस्य डा प्रकाशसरण महतले लागु हुन नसक्ने कार्यक्रमसहित वितरणमुखी बजेट ल्याएको आरोप लगाउँदै संविधान विपरित ल्याएका नयाँ कार्यक्रम कुनै पनि हालतमा कार्यान्वयन हुन नदिने चेतावनी दिए।

पूर्ण बजेटको शैलीमा सरकारले बजेट ल्याएको भन्दै उनले सरकारले बजेटको नाममा आफूलाई निरन्तरता दिने प्रयत्न गरेको आशंका ब्यक्त गरे।

अर्थविद्ध डा विश्वम्भर प्याकुरेलले नीजि क्षेत्रलाई उत्सहित गर्न नसक्ने बजेट भएको भन्दै नेपाली अर्थतन्त्रको लागि हावादारी बजेट भएको टिप्पणी गरे । उनले भने-यो अर्को सरकारलाई अप्ठ्यारो पार्ने खालको बजेट छ। भए भरको कुरा तृतीयांश बजेटमा दिन्छु भनेको छ, जुन कुरा सम्भव छैन।

राजनीतिक स्थायीत्व विना आर्थिक विकास सम्भाव नभएको उल्लेख गर्दै उनले सरकारलाई नयाँ कार्यक्रम ल्याउन भन्दा पनि आर्थिक स्थायीत्वको उपाय खोज्न बुद्धि मिलोस् भन्ने कामना गरे।

अर्का अर्थविद्ध डा चिरन्जीवी नेपालले सरकारले साधारण खर्च चलाउन ल्याएको बजेटमा ठूला ठूला कुरा गरेर हावादारी बनाएको दावी गर्दै नीजि क्षेत्रलाई बजेटले संशकित बनाएको बताए। उनले बजेटले अर्थतन्त्रलाई चलायमान बनाउनु बाहेक केही गर्न नसकेको भन्दै बजेट कार्यान्वयनको विधी नभएकोले कार्यान्वयन हुन नसक्ने ठोकुवा गरे।

उद्योगी सुरेन्द्रवीर मालाकारले बजेट तृतियाश भए पनि पूर्ण जस्तै भएको भन्दै कार्यान्वयन हुनेमा आशंका ब्यक्त गर । उनले लगानीकर्ता उत्साहित हुने अवस्था नरहेको भन्दै मुलुकमा रोजगारीको अवस्था खुम्चने, मुल्यबृद्धि बढ्ने र लगानी वर्षको कार्यान्वयनमा समस्या उत्पन्न हुने चेतावनी दिए।

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
 
 

About the author

More posts by