विजय नेपाल / एचकेनेपाल डट कम-
पोखरा, २५ असार । सेतीनदीमा पछिल्लो पटक आएको बाढीले महाविपत्ति निम्तिएको भन्दै दिवगंत आत्माको चिरशान्तिको कामनासहित मंगलबार पूजाअर्चना गरिने भएको छ।
केदारेश्वर महादेवमणि संरक्षण समिति र बोलबम समिति पोखराले बगरस्थित शुक्लागण्डकीमा नदीको तटमा वैदिक शास्त्रअनुसार धार्मिक गंगापूजा, आराधना एवं हवन गर्ने भएको हो।
फाइल तस्विरः
बिहान ७ बजेदेखि सुरु हुने सो गंगापूजन बाजागाजा र भजनकीर्तनका साथ हुने कार्यक्रम संयोजक शंकर खरालले बताए। उनका अनुसार पवित्र नदीनालामा मानवीय अतिक्रमण हुने गरेको र फोहोरमैला र दुर्गन्ध फैलाउने काम मानवले गर्ने गरेकोले पीडा र कष्टका कारण माता गंगाको धैर्यताको बाँध टुट्न जाँदा बाढी पहिरो र विपत्ति निम्तिने गर्दछ।
यसैले बाढीका कारण अल्पायुमै ज्यान गुमाउन पुगेका आत्माहरुको सदा शान्ति र राष्ट्रकल्याणको कामनासहित माता शुक्लागंगाको विशेषपूजा गरिन लागिएको उनले बताए।
पूजामा अक्षय पुण्य लाभ गर्नसमेत सम्पूर्ण श्रद्धालु भक्तजन एवं सर्वसाधारणलाई आग्रह गरिएको केदारेश्वर महादेवमणि संरक्षण समितिका अध्यक्ष सूर्यनाथ अधिकारीले बताए।
यसैबीच, साउन सोमबार हुने बोलबमको सन्दर्भ पारी बोलबमधाम केदारेश्वर मन्दिर परिसरमा यही असार २६ देखि २८ गतेसम्म विशेष कार्यक्रम गरी एक सय आठ शिवलिंग स्थापना गरिने समितिले जनाएको छ। शिवलिंगको प्राणप्रतिष्ठाका लागि सोमबार पूर्वाङ्ग गरिएको मन्दिरका पुजारी इन्द्र पौडेलले बताए।
हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस