माधव बराल, धन बस्नेत/ एचकेनेपाल डट कम-
पोखरा, २३ असार । सेती नदीमा आएको बाढीले कास्कीको हेम्जा गाविसस्थित याम्दी क्षेत्रमा व्यापक कटान गरेपछि थप ४० घर विस्थापित भएका छन्। असारको सुरुदेखि नै नदीले कटान गर्दा पनि त्यसलाई रोक्ने ठोस पहल नहुदाँ पोखरा-बाग्लुङ राजमार्ग खण्डको याम्दीमा एक पक्की घर खसेको छ।
कटानका कारण दुइ साताअघि विस्थापित कविता तिमिल्सेनाको दुइ तले पक्की घर पहिरोमा परेको हो। उनको घरको नाम निसान नै छैन भने तिमिल्सेनाको घरसँगै रहेको प्रमिला भण्डारीको घर पनि खस्ने अवस्थामा पुगेको छ।
तस्विरहरूः सुदर्शन रञ्जित / एचकेनेपाल डट कम
सेती गण्डकी बाढी पीडित सरोकार समितिका सचिव मीनबहादुर थापाका अनुसार भण्डारीको घरको केही भाग नदीमा खसिसकेको छ।सेती नदी भन्दा करिव एक सय मिटरका उचाईमा रहेका ती घरहरु कटानका कारण पहिरो गएपछि यसअघि नै चर्किएका थिए।
कटानले पोखरा बागलुङ राजमार्ग पनि उच्च जोखिममा परेको छ। स्थानीयबासीका अनुसार नदीको कटान जारी रहेमा राजमार्गमा पहिरो गई धौलागिरी अञ्चलमै यातायात सेवा नै अवरुद्ध हुने खतरा बढेको छ। राजमार्ग भन्दा पहिरो करिव ५ मिटरको दूरीमा मात्र रहेको छ।
दुइ साताअघिदेखि नदीले गरेको कटानलाई ठोस रुपमा रोक्ने पहल नहुदाँ पहिरो राजमार्ग नजिकै पुगिसकेको छ। राजमार्ग किनारको विजुलीको तारसमेत सारिसकिएको छ। बाढी र पहिलो जाने डरले याम्दीकै मसिना बगरका करिव ३५ घर परिवार पनि त्यहाँबाट अन्यत्र सरेका छन् भने राजमार्ग पारीका चार घर परिवार पनि विस्थापित भएका छन्।
थापाका अनुसार राजमार्ग पारीका पेमा, तासी एन्जेन, डिल्लीराम उपाध्याय, आईतबहादुर थकालीको परिवार विस्थापित भएका हुन्। सोही ठाउँमा घर भएका देवीलाल दाहालका परिवार भने अन्यत्र जाने विकल्प नहुदाँ जोखिम मोलेर त्यही बस्न बाध्य छन्।
हेम्जाकै मसिना बगरमा रहेका सुकुम्बासी बस्तीका बासिन्दा बस्ती भन्दा माथि रहेको व्यक्तिको जग्गाका पाल टाँगेर बस्न बाध्य छन्। स्थानीय लालबहादुर गुरुङका अनुसरा ३० घर परिवार पाल टाँगेर बसेका छन् भने कोही हेम्जा, याम्दीमा भाडामा बसेका छन्। रेडक्रसले उनीहरुलाई २० वटा पाल उपलब्ध गराएको छ।
६८ घर रहेको उक्त ठाउँका अधिकांश बासिन्दाले महत्वपूर्ण सामान अन्यत्र सारिसकेको स्थानीय माईली तामाङले जानकारी दिइन्। ‘दिउँसो घरमा बसेपनि अधिकांश रातिमा सुत्नको लागि अन्यत्र जाने गरेका छन्’ तामाङले भनिन् ‘ न भोक न निन्द्रा त्रासका बस्नु परेको छ।’
मसिना बगर भन्दा केही माथि हेम्जा क्षेत्रमै नदीको बहाव ठोक्किएकोले कटान गर्न सक्ने खतराका कारण पनि उनीहरु थप चिन्तित भएका छन्। सो ठाउँमा रहेका ६८ घर नै पहरो र बाढीको जोखिमा रहेका छन्। केही समय अघिसम्म स्थानीयबासीले राति केही हुन सक्ने भन्दै पालो मिलाएर सुत्ने समेत गरेको स्थानीय प्रताप गुरुङलेले जानकारी दिए। उनका अनुसार बस्तीमा बाढी पस्न नदिनको लागि केही माथि ग्याभिन समेत भरिएको छ। ग्याभिन परेपछि उनीहरुले केही राहतको महसुस गरेपनि ढुक्कसँग राति सुत्न पाएका छैनन्। ग्याभिन अस्थायी रुपमा लगाइएको छ।
दुइ दिनअघि मात्रै सेती नदीको धारमा सामान्य परिवर्तन गरेपनि लगातार परेको पानीले नदीको बहाव एक्कासी बढेको थियो। नदीको धार परिर्वतन गर्न प्रशासनले लगाएको तार जालीयुक्त ग्याभिन समेत पानीले पुरेपछि तारजाली लगाउन समेत कठिन भएको थियो। तारजाली लगाउने ठेक्का पाएका निर्माण व्यवसायी विष्णु ढुङ्गानाका अनुसार करिव २ सय घन मिटरमा तारजालीयुक्त ग्याभिन लगाउने काम भएको छ।
‘नदी नियन्त्रण गरेर मात्र अव राजमार्ग जोगिने अवस्था छैन ‘ उनले भने ‘ बर्षादको भलले पनि राजमार्गलाई भत्काउने खतरा बढेको छ। ‘ ढुङ्गानाका अनुसार अहिले लगाएको तारजाली अस्थायी प्रकृतिको हो। वर्षाले नदीमा पानीको बहाव बढेपछि राजमार्ग किनारको क्षेत्रमा गत असार ४ गतेदेखि तिब्र कटान हुदैं आएको थियो। तिब्र कटानप्रति जिल्ला प्रशासन कार्यालय गम्भीर नहुदाँ कटानले ठूलो क्षति पुर्याएको हो। राजमार्ग नजिकैका अन्य आधा दर्जन घरहरु पनि पहिरोमा पर्ने खतरा बढेको छ।
बाढीले आसरको सुरुदेखि नै कटान गरेपछि पहिरो खस्ने डरले याम्दीका ९ घर परिवार यसअघि नै विस्थापित भएका थिए। विस्थापित मध्ये कोही आफन्तको घरमा, केही भाडामा त, कोही पाल टाँगेर बस्न बाध्य छन्। किनारका बस्ती र राजमार्गलाई बचाउन सर्वसाधारणले बेलैमा प्रशासनलाई जानकारी गराउँदा पनि वेवास्ता गरेका कारण ठूलो क्षति भएको गुनासो स्थानीयबासीको छ।