Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

चम्कदै ओम प्रकाश

सौरभ श्रेष्ठ /एचकेनेपाल डट कम-
डेढ दशकदेखि नेपाली संगीत क्षेत्रमा आफूलाई स्थापित गराउन सक्रिय संगीतकार ओम प्रकाश राई अहिले आएर निक्कै चर्चामा छन्।

लामो प्रयासपछि चर्चित गायक राजेशपायल राईको एकल स्वर तथा उनको एकल संगीत रहेको एल्वम ‘मूर्च्छना-२’ बजारमा आएपछि आधुनिक गीत/संगीतका पारखीहरु माझ उनको चर्चा चुलिँदै गएको छ।

‘मूर्च्छना-२’ को विर्सन्छु निष्ठुरी, माया निष्ठुरी, को रुदैन होला, धेरै माया गर्छु भन्र्थ्याे, हाक्पारे ख्यालीलगायतका गीतहरुले राम्रो प्रसंशा पाएको छ । गायक पायल अचेल आफ्ना कर्न्सटमा उनका ती गीतहरु गाउन छुटाउँदैनन् र कर्न्सटमा ती गीतहरुले पनि दर्शकहरुको वान्स मोर पाउन थालेको छ। आफूसधै नयाँ प्रतिभासँग काम गर्न इच्छुक रहेको बताउने गायक पायलले संगीतकार ओम प्रकाश राईको सांगीतिक प्रतिभाबाट प्रभावित भएर नै ‘मूर्च्छना-२’ संगीतकार राईको एकल संगीतमा तयार भएको बताउँछन्।

धरानमा सरगम संगीत विद्यालय नामको संगीत विद्यालय एक दशकसम्म चलाएका संगीतकार राईले धरानमै हुदा राजेशपायल राई, रामकृष्ण ढकाल, कुवेर राई, यम बराल, शिव लामिछाने, सुरेश कुमार, सपन श्रेष्ठ, शान्तिराम राईलगायतका चर्चित गायकहरुलाई आफ्नो संगीतमा गवाएर स्वीकार, तिम्रो मुस्कानमा, आभार प्रिति, नियति, आकाश लगायतका थुप्रै एल्वमहरु सार्वजनिक गरिसकेका छन्।

उनको संगीतमा माल टनाटन, छातावाली छौडी, चाँदका टुकडा लगायतको भोजपुरी एल्वमसमेत आइसकेको छ। नेपाली संगीतमा समर्पित हुने चाहना बोकेका संगीतकार राईले राम्रा प्रतिभाहरुलाई प्लेटफार्म दिने उद्धेश्यले धरानमा ‘पूर्वाञ्चल आइडल’ समेत गराएका थिए। पूर्वाञ्चल आइडलमा प्रथम भएका गायक संजय तुम्रोकले अहिले राम्रै नाम कमाएका छन्। अहिले भने उनी नेपाल आइडलको तयारीमा छन्।

हाल काठमाडौंमा बसेर आफूलाई स्थापित गराउने प्रयासमा लागेका संगीतकार राईले लक्की सेभेन, राजा, बुलेट, द रोयल वार, जंगल लव, निलकाँडा, वलामी, थ्याङक्यू लगायतका एक दर्जन चलचित्रमा आफ्नो सांगीतिक जादु चलाइसकेका छन्।

मूर्च्छना-२ रिलिजपछि आफूलाई चलचित्रसंगै थुप्रै एल्वमको लागि एकल संगीतको अफर देश-विदेशबाट आइरहेको उनी बताउछन्।

भर्खरै उनको एकल संगीतमा नेपाल यातायात मजदुर संगठनको ‘यात्रा’ नामक एल्वम बजारमा आएको छ भने अर्का चर्चित गायक शिव लामिछानेले समेत संगीतकार राईको एकल संगीतमा गीत रेकर्ड गर्दैछन्। विशेषतः हाइस्केलका तर स्तरीय गीत मात्र गाउन रुचाउने शिवले ओमप्रकाश राईको संगीतबाट प्रभावित भएर गीत रेकर्ड गराएको बताउछन्।

इलाहावाद विश्वविद्यालयबाट संगीतमा एम म्यूज गरेका संगीतकार राई संजय तुम्रोक, सुमन केसी, सूर्यकिरण लामा, किशोर लिम्बू लगायतका गायकहरुको एकल एल्वमसगै अन्य दुइ दर्जन एल्वमको काममा व्यस्त छन्।

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
 
 

About the author

More posts by