एचकेनेपाल डट कम संवाददाता-
काठमाडौं, २० असार । पल्सर स्पोर्टस् अवार्ड २०६८ मा गल्फका शिवराम श्रेष्ठ पुरुषतर्फ र भारोत्तोलनकी तारादेवी पुन महिलातर्फ बर्षका उत्कृष्ट खेलाडी घोषित भएका छन्। गल्फ र भारोत्तोलनले मुख्य विधा जितेको यो पहिलो पटक हो।
गत बर्ष सूर्य नेपाल गल्फ टुरको ११ मध्ये ७ उपाधि जितेका शिवारामले नेपालको प्रतिष्ठित सूर्य मार्स्र्टसमा दुवै पटक तेस्रो भएका थिए। शिवरामले पौडीका शैलेश राणा, क्रिकेटका पारस खड्का, एथलेटिक्सका तिलकराम थारु र घोडचडीका ध्रुबप्रसाद आर्याललाई पछि पारेका थिए।
शिवराम श्रेष्ठ र तारादेवी पुन
छैटौं राष्ट्रिय खेलकुद अर्न्तर्गत भारोत्तलनको ६९ केजीमा क्लिन एन्ड जर्कमा ९१ केजी र कूल तर्फ १ सय ५७ केजी उचाल्दै नयाँ कीर्तिमान बनाएकी तारा सोही खेलमा स्ट्रङगेस्ट वुमन घोषित भएकी थिइन्। प्रथम दक्षिण एसियाली भारोत्तोलन च्याम्पियनशिपमा स्वर्ण पदक जितेकी उनले बर्षका उत्कृष्ट महिला खेलाडी बन्ने क्रममा एथलेटिक्सकी प्रमिला रिजाल, पौडीकी श्रेया धिताल, टेबुल टेनिसकी नवीता श्रेष्ठ र व्याडमिन्टनकी नङ्शलदेवी तामाङलाई पछि पारेकी हुन्।
यु-१९ क्रिकेट टोलीका कप्तान पृथु बास्कोटा बर्षका उत्कृष्ट युवा खेलाडी चुनिदा क्रिकेटकै जगत टमाटाले बर्षको उत्कृष्ट प्रशिक्षक बने।
नेपाल एपिएफ क्लब एकदिवसीय राष्ट्रिय र छैटौं राष्ट्रिय खेलकुदमा विजेता बन्दा महत्वपूर्ण खेलाडी रहेका पृथु आयरल्यान्डमा नेपाललाई आइसिसी यु-१९ विश्वकप छनोटमा उपविजेता बनाई छैटौं पटक यु-१९ विश्वकपमा छनोट गराउँदाका कप्तान समेत थिए। विश्वकप छनोटमा उनले १ सय ५५ रनका साथै ९ विकेट समेत लिएका थिए। पुथृले युवाको विधामा क्रिकेटकै रुविना क्षेत्री, एथलेटिक्सकी विश्वरुपा बुढा र सिद्धान्त अधिकारी तथा पौडीका शिरिष गुरुङ मनोनयमा थिए।
पृथुले कप्तानी गरेको नेपाली यु १९ टोलीलाई प्रशिक्षण दिएका टमाटा उत्कृष्ट प्रशिक्षकबाट सम्मानित भएका थिए। नेपाललाई यु-१९ को विश्वकपमा छनोट गराउने टमाटा केवल दोस्रो घरुल प्रशिक्षक समेत हुन्। क्रिकेटका पुवुदु दसानायके, नविन सिंह, जुडोका वीरबहादुर राना र पौडीका इश्वर कार्की प्रशिक्षकको मनोयनमा परेका थिए।
लोकप्रिय खेलाडीको पुरस्कार भलिबलकी रमिला तन्डुकारले जितिन्। १ लाख २३ हजार ६ सय ५२ एसएमएस भोटिङमध्ये रमिलाले ४४ हजार २ सय ५४ मत पाप्त गर्दै बर्षका लोकप्रिय उपाधि हात पारिन्। फुटबलका भरत खबास दोस्रो स्थानमा रहे। उनले ३८ हजार ९ सय ५८ मत पाए। २४ हजार १ सय ८६ मतका साथ क्रिकेटका शक्ति गौचन तेस्रो स्थानमा रहे। मनोनयनमा परेका अन्य दुइ खेलाडीमा एथ्लेटिक्सकी सविता चौधरी र टेनिसकी अस्लेशा लिसानोभिच थिए।
पल्सर स्पोर्टस अवार्ड वितरण कार्यक्रममा नृत्य गर्दै राष्ट्रिय भलिबल खेलाडी सिपोरा गुरूङ। तस्विरः सुदर्शन रञ्जित / एचकेनेपाल डट कम
स्मरणशक्ति कमजोर भएकी चितवनकी शर्मिला लामिछाने पारा एथलिट पुरस्कारबाट सम्मानित भइन्। २१ वर्षीया शर्मिलाले गतवर्ष ग्रिसमा सम्पन्न स्पेशल ओलम्पिकमा शटपुटतर्फ स्वर्ण पदक जितेकी थिइन। स्पेशल ओलम्पिकको दौडमा पनि भाग लिएकी उनले त्यहाँ भने चौथो स्थान हासिल गरेकी थिइन्।
विजेताहरू
नेपाली खेलकुदका दानवीरका रुपमा चिनारी बनाएका नेपाल भारोत्तोलन संघका अध्यक्ष रतन टण्डन विशेष पुरस्कारबाट सम्मानित भए। नेपालगञ्जका उद्योगी टण्डनलाई नेपाल खेलकुद पत्रकार मञ्चले नेपाली खेलकुदमा उनले लामो समयदेखि गर्दै आएको योगदानका लागि विशेष पुरस्कारबाट सम्मानित गरेको थियो। नेपालगञ्जमा १५ वर्षअघि चौथो राष्ट्रिय खेलकुद आयोजना गर्दा व्यक्तीगत रुपमा सहभागि सवै खेलाडी तथा पदाधिकारीको खानपिन र बसोवास व्यवस्था गरेका टण्डन नेपाली खेलकुदका ठूला लगानीकर्ता हुन्। नेपालगञ्जमा अन्तर्राष्ट्रिय व्याडमिन्टन तथा हालै पहिलो दक्षिण एसीयाली भारोत्तोलन च्याम्पियनसिप गर्दा उनैले सवै खर्च बेहोरेका थिए।
पहिलो नेपाली ओलम्पियनमध्येका भुपेन्द्र सिलवाल लाईफटाइम एचिभमेन्ट अवार्डबाट सम्मानित भए। नेपालले पहिलो पटक सन् १९६४ बाट ओलम्पिक सहभागिताको सुरुवात गर्दा सहभागी खेलाडी मध्ये सिलवाल एक थिए। पुख्यौली घर ललितपुरको गोदावरी वरिपरि डाँडाकाँडामा दौडदा दौडदै सिलवाल २० वर्षको उमेरमा नेपाली सेनामा भर्ति भएका थिए र आफ्नो औपचारिक खेल जीवन सुरु गरेका थिए। उनले सन् १९५८ को टोक्यो एशियन गेम्समा खाली खुट्टा दौडीएरै सातौं स्थान समेत हासिल गरेका थिए।
बर्षका उत्कृष्ट खेलाडी पुरुष, महिला र लोकप्रिय खेलाडीले बजाज पल्सर मोटरसाइकल, ट्रफी, सामसुङको क्यामरा र डिस होमको सेट बक्स प्राप्त गरे। त्यस्तै अन्य विधाका विजेताले जनही ट्रफी ३० हजार रुपैयाँ, सामसुङको क्यामरा, डिसहोमको सेट बक्स पाए। मनोयनमा पर्नेले टाइमेक्सको घडी र जोन प्लेयरको तर्फाट गिफ्ट ह्याम्पर प्राप्त गरेका छन्।
नेपाल खेलकुद पत्रकार मञ्चको आयोजना तथा हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिको अटोमोबाइल ब्राण्ड पल्सरको मुख्य प्रायोजन रहेका अवार्डलाई डिस होम, वेर्स्र्टन युनियन, सूर्य नेपाल, आइएसएमई र एभेन्युज टेलिभिजन लगायतका ब्यपारिक एवं ब्यवसायीक संघ संस्थाले साथ दिएका थिए।
आज पल्सर स्पोर्टस अवार्ड
एचकेनेपाल डट कम संवाददाता-
काठमाडौं, २० असार । नेपाल खेलकुद पत्रकार मञ्चले बुधबार नेपाल प्रज्ञा प्रतिष्ठानको हलमा पल्सर स्पोर्टस अवार्ड २०६८ को आयोजना गर्दैछ।
अवार्ड वितरणको सम्पूर्ण तयारी पुरा भैसकेको मञ्चले जनाएको छ। विभिन्न आठ विधामा गरी अवार्ड वितरण गरिनेछ। जसमा पल्सर बर्षका उत्कृष्ट खेलाडी पुरुष, महिला, युवा, बर्षका उत्कृष्ट प्रशिक्षक, पपुलर प्लेयर अफ द इयर, पारा एथलिट अफ द इयर, स्पेशल अवार्ड र लाइभ टाइम इचिभमेन्ट अवार्ड छन्।
पल्सर स्पोर्टस अवार्ड वितरण कार्यक्रमको लागि नृत्य तयारी गर्दै राष्ट्रिय भलिबल खेलाडी सिपोरा गुरूङ
पारा, स्पेशल र लाइभटाइम एचिभमेन्ट अवार्डबाहेकको विधाको मनोयन मञ्चले यसअघि नै सार्वजनिक गरिसकेको छ। हरेक विधाको मनोनयनमा पर्ने पाँच मध्येबाट एक जना विजेता चुनिनेछन्। पपुलर प्लेयर अफ द इयर एसएमएस भोटिङमार्फत बढी मत प्राप्त गर्ने एक पपुलर प्लेयर अफ द इयर अवार्ड विजेता बन्नेछन्। लाइफटाइम अवार्ड, स्पेशल अवार्ड र पाराएथ्लिट अफ द इयरको घोषणा बुधबार कार्यक्रमकै अवसरमा गरिनेछ।
बर्षका उत्कृष्ट खेलाडी पुरुष, महिला र पपुलर प्लेयर अफ द इयरले बजाज पल्सर मोटरसाइकलसहित ट्रफी प्राप्त गर्नेछन्। त्यस्तै, अन्य विधाका विजेताले जनही ३० हजार रुपैयाँ र ट्रफी प्राप्त गर्नेछन्। सबै विधाका मनोयनमा पर्ने खेलाडी, प्रशिक्षक टाइमेक्सको घडी प्राप्त गर्नेछन्।
स्पोर्टस अवार्ड कार्यक्रम आयोजना गर्न नेपालका प्रसिद्ध ब्यापारिक प्रतिष्ठानहरुले यो वर्षपनि सहयोगलाई निरन्तरता दिएका छन्। पछिल्ला ३ वर्षझैं यो वर्षपनि हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिको अटोमोबाइल ब्राण्ड पल्सर अवार्डको मुख्य प्रायोजकका रुपमा रहेको छ। यसैगरी, डिस होम, वेर्स्र्टन युनियन, सूर्य नेपाल, आइएसर्एमई र एभेन्युज टेलिभिजन लगायतका ब्यपारिक र ब्यवसायीक संघ संस्थाहरूले साथ दिएका छन्।
हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस