एचकेनेपाल डट कम संवाददाता-
काठमाडौ, १० असार। वर्षा र सहकालका देवताका रूपमा मानिने रातो मच्छिन्द्रनाथको रथजात्राको अन्तिम दिन आइतबार जावलाखेलमा भोटोजात्रा मनाइँएको छ। भोटोजात्राको अवसरमा सरकारले आइतबार उपत्यकामा एक दिन बिदा दिइएको थियो।
करीब एक हजार ६०० वर्षपुरानो मच्छिन्द्रनाथको रथजात्रा वैशाख शुक्ल प्रतिपदादेखि सुरु भएर असार शुक्ल चौथीसम्म करीब दुई महिनासम्म हुन्छ।
फाइल फोटोः
लोककथनअनुसार टौदहका नागराज कर्कोटकले नागिनीको आँखाको रोग निको पार्ने किसान वैद्यलाई उपहारस्वरूप दिएको रत्नजडित भोटो किसान वैद्यले खेतको आलीमा राखी काममा व्यस्त भएको बेला हराएको र पछि मछिन्द्रनाथको जात्रा हेर्न भेला भएको भीडमा भूतले भोटो लगाएर आएको देखेपछि किसानले आफ्नो भोटो चिनेर दावी गर्यो।
दुवैका बीचमा भोटो खोसाखोस गर्दै विवाद पर्यो। सो विवाद राजासमक्ष पुर्याउँदा लिच्छवी राजा गुणकामदेवले पर्याप्त प्रमाणको अभावमा भोटो कसको हो भनेर निर्णय गर्न सकेनन्।
उनले प्रमाण लिएर नआउन्जेल सो भोटो मछिन्द्रनाथको जिम्मा लगाए र रथमा राखेर अर्को वर्ष कसैको प्रमाण छ कि भनी जानकारी लिने उद्देश्यले त्यसलाई देखाए। सोही परम्पराअनुसार प्रत्येक वर्ष मछिन्द्रनाथको रथयात्राको अन्तिम दिन सो भोटो कसको हो भनी रथको बुर्जाबाट पुजारीले चारैतिर घुमाउँदै तीनपटकसम्म देखाउने प्रचलन रहिआएको छ। जात्राका प्रमुख अतिथिको उपस्थितिमा सिल तोडेर भोटो निकाल्ने र देखाइसकेपछि तत्कालै सिल गरेर राख्ने प्रचलन छ।
हिन्दू धर्मावलम्बी मछिन्द्रनाथलाई ऐतिहासिक सन्त गुरु करुणामयका रूपमा पुज्छन् भने बौद्ध धर्मावलम्बी ‘पद्मपाणि’ (पञ्चबुद्धमध्येका चौथो बुद्ध) का रूपमा पूजा गर्छन्।
संस्कृतिविद् सत्यमोहन जोशी कालो मखमलको कपडामा मणिमाणिक, बहुमूल्य नवरत्नजडित सो भोटोको दर्शन गर्नाले मानसिक चिन्ता हट्ने, शान्ति मिल्ने र शुभफलदायी हुन्छ भन्ने सांस्कृतिक मान्यता रहेको बताउँछन्।
लिच्छविकालीन राजा नरेन्द्रदेवको पालादेखि राजा भोटोजात्राको प्रमुख अतिथि बन्ने परम्परा रही आएपनि गणतन्त्र स्थापनापछि राष्ट्रपति प्रमुख अतिथि बन्ने नयाँ इतिहास सुरु भएको छ।
हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस