एचकेनेपाल डट कम संवाददाता-
काठमाडौ, ७ असार । निर्वाचन आयोगका आयूक्त अयोधिप्रसाद यादवले दलहरुवीच सहमति बन्न नसके मंसिर ७ गते निर्वाचन सम्भव नरहेको बताएका छन्।
रिपोर्टर्स क्लब नेपालले विहीबार अयोजना गरेको साक्षात्कारमा बोल्दै आयुक्त यादवले यथास्थितिमा निर्वाचन हुन नसक्ने भन्दै निर्वाचन हुन गतिशिल अवस्थाको सृजना गर्नु पर्ने धारणा राखे।
साक्षात्कारमा उनले सबै कानुनी, राजनीति र प्राविधिक समस्याको अन्त्यपछि निर्वाचन सम्पन्न गर्न १२० दिन आवश्यक रहेको भन्दै साउन पहिलो सातासम्म कानूनी जटिलताको अन्त्य गर्नु पर्ने बताए। उनले भने-हामीले सरकारलाई भनिसकेका छौं, साउनको पहिलो साताभित्र राजनीतिक सहमति गरेर कानूनी र संबैधानिक जटिलता अन्त्य गर्नु पर्यो। निर्वाचनको लागि १२० दिन चाहिन्छ त्यो भन्दा कम समयमा निर्वाचन गराउन कठिन हुन्छ।
आयुक्त यादवले निर्वाचन गर्न संविधानमा संशोधन गरेर मतदातको बैद्यता, संविधानसभा सदस्य निर्वाचन ऐन २०६९, मतदाता नामावलीको अपडेट भर्सनर्,र् इलेक्ट्रोनिक भोटिङ मेसिनको प्रयोगको तालिम र कर्मचारीको ब्यवस्था गर्नु पर्नेमा जोड दिए।
स्वतन्त्र र निष्पक्ष निर्वाचनकोलागी निर्वाचन आयोगले जारी गरेको आचार संहिता सरकारले पूर्ण रुपमा पालना गर्नु पर्ने भन्दै निर्वाचन आयोगले यसको कडा अनुगमन गर्न संयन्त्रको निर्माण गरिसकेको जानकारी दिए। उनले भने- हामी अहिले आचार संहिताको प्रभावकारी अनुगमनमा लागेका छौं। यसलाई प्रत्येक दिन गर्र्छौ। हामीले मतदाता, सरोकारवालाबाट फोन, इमेल र फ्याक्सबाट सूचना लिन्छौ, आमसञ्चार सञ्चारका माध्यमको अनुगमन गरेर आचारसंहिता उल्लंघनमा सरकारलाई सचेत गराउँछौ।
अहिलेसम्म १०७ वटा आचार संहिताको उल्लघनको उजुरी आयोगमा पसिरकेकामा केहीलाई सहमति समेत दिईसकेको यादवले जानकारी दिए।
नेपाल प्रहरीको एआईजी र डिआईजीको सरुवामा गृहमन्त्रालयले आयोगको सहमति नलिएको भन्दै उनले आयोगको सहमति नलिई सरुवा गरेकोले आयोगले सो निर्णय खारेजीको निर्देशन दिएको बताए। गृहमन्त्रालयले केही सरुवाको विषयमा सहमति मागे पनि एआईजी र डिआईजीको विषयमा भने सहमति नदिएको उनले स्पष्ट पारे। उनले भने-आयोगको निर्णय र निर्देशन अनुसार नै सरकारले काम गर्नुपर्छ। त्यसो गरे स्वच्छ निर्वाचन गर्न सकिन्छ।
हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस