Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

तीन करोड नेपालीको भविष्यमाथि खेलवाड नगर्न खबरदारी

योगेन्द्रमिलन छन्त्याल/ एचकेनेपाल डट कम-
पोर्तुगल, सबै प्रवासीलाई देशका हरेक गतिविधिमा चासो हुने उल्लेख गर्दै आदिवासी जनजाति महासंघ पोर्तुगलले सचिवालय महासचिव आङकाजी शेर्पालाई एमालेबाट निष्काशन गर्नु ‘समग्र जनजातिलाई हाउगुजी देखाएको’ ठहर गरेको छ।


“प्रमुख चार दलसहित ठूला नेता भनाउँदाहरुको आज्ञा शिरोधार्य गरेका सभासद्हरुले युगकै लागि अक्षम्य गल्ती गरे। काँग्रेस र एमालेलाई जातीय पहिचानसहितको संघीय संरचनाका लागि निर्णय गर्न पनि आफ्नै पुर्ख्यौली विर्ता खोसिने जत्तिकै गाह्रो लाग्यो ।” पोर्तुगल महासंघका कार्यबाहक अध्यक्ष गणेश लिम्बु र महासचिव दावा साङ्गे पाख्रिनद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, “सहमति गर्दा राम्रो गरेको ठान्ने माओवादी, काँग्रेस, एमाले र मधेसी मोर्चाका नेता कार्यकर्ताबाटै ती प्रतिवद्धताहरुको उल्लङ्घन भएका कारण संविधान निर्माण हुन नसकेको कुरा स्पष्ट छ।”

आफैले गल्ति गरेको थाहा छ तर आफू पानीमाथिको ओभानो हुन अरुलाई दोषारोपण गर्दै फेरि पनि सत्ता र कुर्सीलाई बार्गेनिङ प्वाइन्ट बनाउनु तीन करोड नेपालीको भविष्यमाथि खेलवाड हो । परिवर्तनकामी वर्गले इतिहासको हरेक कालाखण्डमा जहाँ पनि परिवर्तनको संघारनेर अनगिन्ती चुनौतिहरुको सामना गर्नुपर्छ विज्ञप्तिमा उल्लेख छ, अझै प्रहारहरु हुन सक्छन् ब्राह्मणवादी झुण्डहरुबाट, अन्तत सत्यको जितलाई कुनै पनि जालझेल र ताकतले रोक्न सक्ने छैन।

परिवर्तन क्रम र युगको माग अनुसार शताब्दीयौदेखि अधिकारबाट बञ्चित बनाइएका समग्र आदिवासी जनजाति, दलित, महिला, मधेशी, फरक क्षमता भएका र शोषित पीडित वर्गलाई मूल प्रवाहमा ल्याउँदा यिनीहरुको ठगी खाने पेशा समाप्त हुने डरले जे जस्तो हठकण्डा अपनाएका छन्, यी अत्यन्त खेदजनक र आपत्तिजनक छन्।

हिजोका दिनमा आदिवासी जनजातिमा सूचिकृत हुन सरकार र आधिकार सम्पन्न आयोगले आव्हान गर्दा आदिवासीलाई दोश्रो दर्जा ठान्ने बाहुन क्षेत्रीका अहिलेका नेता भनाउँदाहरुबाट नकटो भेषमा आदिवासी बन्ने नक्कली मागमा हाम्रा सम्भावनाहरुमाथि खेलवाड गरिदैछ । महासंघले भनेको छ, यो चुनौतिपूर्ण घडीमा तमाम पछाडि पारिएका वर्ग पक्षधरहरु सचेत, सक्रिय भइ वारपारको परिवर्तनका लागि एकपटक आफूलाई होम्नुपर्ने बेला भएको छ।

संविधान निर्माणका लागि दबाव दिन, गलत संस्कृतिको विरुद्ध संघर्ष गर्न र ठाउँ ठाउँमा खबरदारी गर्न सबै परिवर्तनकामी नेपालीलाई महासंघले आव्हान गरेको छ । जहाँ नागरिकले स्वतन्त्रता पाउँछन् त्यहाँ कहिल्यै जातीय द्वन्द हुँदैन, बरु अधिकारबाट बन्चित गर्ने संस्कारविरुद्ध संसारका थुप्रै मुलुकहरुमा डरलाग्दा लडाइहरु भएका छन्। विज्ञप्तिमा जातीय पहिचानसहितको राज्य पुनर्संरचनाका लागि पहल गर्न प्रतिबद्धता र नेपालमा भइरहेका जनजाति आन्दोलनमा ऐक्यबद्धता जनाइएको छ।

ब्राह्मणवादी र संकीर्ण सोचका कारण फालिने जाली पासाहरुमा नफस्न र सचेत रहन सबै जनजातिहरुमा महासंघले अनुरोध गरेको छ । दलीय स्वार्थभन्दा जनजातिका जायज मागहरु पूरा गराउनका लागि एकजुट हुन पनि विज्ञप्तिमा आव्हान गरिएको छ । जनजाति र पछाडि पारिएका वर्गलाई अधिकार दिनुपर्ने मागको बर्खिलापमा दलहरु र हुनेखानेहरुले कुनै पनि चिन्तन र गतिविधि नगर्न पनि महासंघले खबरदारी गरेको छ।

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
 
 

About the author

More posts by