एचकेनेपाल डट कम संवाददाता-
काठमाडौं ५ आषाढ । राष्ट्रिय जनमुक्ति पार्टीका उपाध्यक्ष केपी पालुङ्गाले निःवर्तमान सभामुख सुवासचन्द्र नेम्वाङलाई संविधानसभालाई फाँसीमा चढाउने जल्लाद भएको आरोप लगाएका छन्।
सुवास नेम्वाङको काम सभामुखको नभै पार्टीको हलिया भएको भन्दै पालुङगाले भने- ठूला दलका नेताहरुले हलियालाई संविधानसभालाई फाँसीमा चढा भनेर आदेश दिएको र उनले संविधानसभालाई जानी बुझी फाँसीमा चढाएकोले उनी जल्लाद हुन्।
रिपोर्टर्स क्लव नेपालमा राष्ट्रिय जनमुक्ति पार्टीले गरेको पत्रकार सम्मेलनमा बोल्दै पालुङ्गाले संवैधानिक समितिलेको वैठक नबोलाएर राष्ट्रप्रति घात गर्ने निलाम्बर आचार्य सहायक जल्लाद भएको आरोप लगाए।
पालुङगाले संघीयता विरोधीहरु काँग्रेस, एमाले, राप्रपा, जनमोर्चा नेपालका सबै नेता तथा कार्यकर्ताहरुले आफूलाई परिवर्तन गरी राष्ट्रिय जनमुक्ति पार्टीमा प्रवेश गर्न आव्हान गरे।
पत्रकार सम्मेलनमा राष्ट्रिय जनमुक्ति पार्टीले संविधानसभाको पुनःस्थापनाको विकल्प स्वीकार्ने तर त्यसो हुन नसक्दा ताजा जनादेश लागि संविधानसभाको निर्वाचनमा जानु पर्ने, २०६९ जेठ १४ सम्म संविधानसभाले गरेको उपलब्धिको रक्षाको लागि बृहद जनआन्दोलनको बाटो जानुपर्ने, राष्ट्रिय सहमतिको निर्माणका लागि राष्ट्रपतिबाट र्सवदलीय राजनीतिक सम्मेलनको आयोजना हुनुपर्नेजस्ता बुँदाहरुमा एक जुट हुन आव्हान गरेको छ।
हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस