एचकेनेपाल डट कम संवाददाता-
काठमाडौ, ३ असार । प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार देबेन्द्र पौडेल सुनिलले सेरोमोनियल राष्ट्रपतिले सरकार गठन विघटनको नाममा राजनीतिक गर्न नमिल्ने बताएका छन्।
रिपोर्टर्स क्लब नेपालले आईतवार आयोजना गरेको साक्षात्कारमा पौडेलले राष्ट्रपतिलाई उक्साएर सरकार कु गर्ने प्रयास भईरहेको दावी गर्दै सेरेमोनियल राष्ट्रपतिले त्यस्तो गर्न नमिल्ने ठोकुवा गरे।
साक्षात्कारमा उनले भने-राष्ट्रपतिलाई सक्रिय राजनीतिमा ल्याउन उक्साएर स्वयम राष्ट्रपति, लोकतन्त्र र दलहरुको हित हुँदैन बरु मुलुक झन ठूलो अस्थिरता र अराजकता तिर जान्छ। दलका नेताहरुलाई भेटेर राष्ट्रपतिले सरकार परिवर्तन कुरा गर्नु संविधान विपरित हो। त्यो गरे मुलुक द्धन्द्धमा जान्छ।
उनले राजनीतिक दलको सहमति भएर प्रधानमन्त्रीले पद छाडेको अवस्था बाहेक फेरि बहुमतको अर्को सरकार गठन गर्न नसकिने भन्दै अहिले प्रधानमन्त्री डा बाबुराम भट्टराईलाई कसैले पनि हटाउन नसक्ने ठोकुवा गरे। उनले भने-दलहरुवीच सहमति भए प्रधानमन्त्रीले पद छाड्नु हुन्छ वा निर्वाचन भएर अर्को शक्ति आए प्रधानमन्त्री परिवर्तन हुन्छ। अन्तरिम संविधान र अन्तर्राष्ट्रिय प्रचलन अनुसार प्रधानमन्त्री कसैले पनि हटाउन सक्दैन।
संविधानसभा रहँदै बैद्यानिक सरकारले घोषणा गरेको निर्वाचन अबैधानिक हुनै नसक्ने समेत उनले स्पष्ट पारे। तर उनले निर्वाचन गर्ने समयको विषयमा भने दलहरुवीच कुराकानी गर्ने अवस्था भने खुल्ला रहेको बताए। निर्वाचनको लागि सहमति र लोकतन्त्रको लागि निर्वाचनको विकल्प नरहेको भन्दै संसद पुनर्स्थापना विकल्प हुनै नसक्ने उनको तर्क थियो।
हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस