एचकेनेपाल डट कम संवाददाता-
काठमाडौ, १ असार । नवगायक एडी शेर्पाले शान्तिको कामना गर्दै शान्तिका लागि संगीत यात्रा सुरु गरेका छन्।
जेठ २५ गते बौद्धमा लामा गुरुहरुले शान्ति पुजा गरेर सुरु गरिएको शान्ति यात्राको क्रममा गोरखामा पहिलो पटक शान्ति संगीत यात्राको आयोजना समेत भईसकेको छ।
एडी भोलम् वान नामको एल्बम निकालिसकेका भोजपुर गृहनगर भएका गायक एडी शेर्पाले शुक्रवार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गरेर हेलो म्यूजिक र फोर्स नेपालको सहयोगमा शान्ति संगीत यात्राको सुरु गरेको जानकारी दिए।
शान्तिका दूत भगवान गौतम बुद्धको मुलुकमा जनताले शान्तिको सास फेर्न नपाएको देखेर शान्तिको पक्षमा दवाव सृजना गर्न आफूले यात्रा सुरु गरेको जानकारी दिदै शेर्पाले ७५ वटै जिल्लामा शान्ति संगीत यात्रा सम्पन्न गर्ने योजना बनाए पनि पहिलो चरणमा गोरखा, भोजपुर, धनगढी, सुनसरी, पोखरा र काठमाडौ सहितका १० वटा जिल्लामा संगीत यात्रा लैजाने जानकारी दिए।
उनले पत्रकार सम्मेलनमा आफ्नो हरेक एल्बममा एउटा शान्ति गीत राख्ने प्रतिबद्धता ब्यक्त गर्दै यात्राको क्रममा स्थानीय स्तरमा लोप भएका संगीतको संरक्षण स्वरुप त्यसलाई गाउने जानकारी पनि दिए।
यात्राको क्रममा आफूले स्थानीय जनताको राम्रो रेस्पोन्स पाएको भन्दै यात्राले शान्तिको पक्षमा माहौल बनाउँदै सम्बन्धीत पक्षमाथि दवाव सृजना गर्ने विश्वास पनि ब्यक्त गरे।