सन्तोष काफ्ले / एचकेनेपाल डट कम-
धरान, ३२ जेठ । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चम्ल्याहा जन्माएकी सप्तरी वैरवा ३ की विमलादेवी मण्डल र उनका चार सन्तानको उपचारको लागि अमेरिकाबाट अर्जुनप्रसाद मैनालीले आर्थिक सहयोग गरेका छन्।
मैनालीले धरानका सञ्चारकर्मी रोहित राईको नाममा सहयोग स्वरुप पठाएको २० हजार नगद विहीवार प्रतिष्ठानका बाल रोग विभाग प्रमुख डा. गौरीशंकर शाहले चार सन्तानकी आमा २० वर्षीया विमलादेवी मण्डल तथा उनका श्रीमानलाई हस्तान्तरण गरे।
ब्लड डोनर्स अफ अमेरिकाका अध्यक्ष समेत रहेका मैनालीले विश्व रक्तदाता दिवसको अवसरमा मण्डल परिवारको सहयोगको लागि भन्दै राईको नामा सो रकम पठाएका हुन्। मैनालीले फेसबुकमार्फ बोष्र्टन युनियनमार्फत रकम पठाएको जानकारी गराएको सञ्चारकर्मी राईले बताए।
मण्डलले आर्थिक समस्या परेका गुनासो गरेपछि सञ्चार कर्मीको पहलमा प्रतिष्ठनाले उनको उपचार निशुल्क गर्नै भएको छ। प्रतिष्ठानका डेपुटी अस्पताल निर्देशक गुरुप्रसाद खनालले मण्डलको उपचारमा लाग्ने सबै शुल्क मिनाह गरेका बताए।
सबै निःशुल्क भए पनि औषधीको रकम तिर्दै आएको मण्डल परिवारलाई सञ्चारकर्मीकै पहलमा प्रतिष्ठानको हाताभित्र रहेको लाइफ केयर मेडिकल आमा र चार शिशुको उपचारमा लाग्ने औषधी निःशुल्क गरिदिने भएको छ।
मेडिकल्सका प्रबन्धक सि.पि.दत्तले पनि मण्डल परिवारलाई भेटेर डिस्चार्ज नभएसम्मको सम्पूर्ण औषधी निःशुल्क उपलब्ध गराउने आश्वासन दिएका छन्। उपचार खर्च जुटाउन समस्यामा परेका मण्डल परिवारलाई अमेरिकाबाट आर्थिक सहयोगसंगै अस्पताल खर्च र औषधी समेत निशूल्क भएपछि निकै खुसी छन्।
विमलादेवीका श्रीमान् राजिनले आर्थिक सययोग पाएकोमा खुसी लागेको प्रतिक्रिया दिए। उनका अनुसार त्यसअघि उनलाई धरानकै एक अपरिचित व्यक्तिले पनि नगद पाँच हजार आर्थिक सहयोग दिएका छन् भने चम्ल्यहा बच्चा हेर्न आउनेहरुले पनि थोरै भएपनि आर्थिक सहयोग गर्ने गरेका छन्।
एकै पटक चार जना सन्तान भएकोमा खुशी भएपनि मजदुरी गरेर जीविका चलाउदै आएको मण्डल परिवारलाई स्याहार सुसारको खर्च जुटाउनुपर्ने भएकोले त्यसतर्फ भने चिन्ता रहेको छ।
हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस