एचकेनेपाल डट कम संवाददाता-
काठमाडौ, ३० जेठ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. रामशरण महतले असार भित्रमै सहमतिको राष्ट्रिय सरकार गठन हुने दावी गर्दै प्रधानमन्त्री डा बाबुराम भट्टराई नेतृत्वको सरकारले असंबैधानिक रुपमा अध्यादेशमार्फत ल्याउन लागेको बजेट राष्ट्रपति डा रामबरण यादवले रोक्नु पर्ने बताएका छन्।
रिपोर्टर्स क्लब नेपालले मंगलवार आयोजना गरेको साक्षात्कारमा डा. महतले संविधान त काम चलाउन भईसकेको सरकारले बजेट ल्याउन नसक्ने ठोकुवा गर्दै सहमतिको सरकार बनेपछि मात्रै बजेट सार्वजनिक गर्ने बताए।
साक्षात्कारमा उनले राष्ट्रपतिले अन्तरिम संविधानको धारा ४३ बमोजिम सहमतिको सरकार गठनको लागि तत्काल आब्हान गर्नु पर्ने भन्दै त्यसपछि मात्रै मुलुकले निकास पाउने दावी गरे।
उनले भने-राष्ट्रपतिले सहमतिको सरकार निर्माणको लागि आब्हान गरेपछि उपयुक्त विकल्प प्रस्तुत हुन्छ। राष्ट्रपतिले अब तत्काल सहमतिको सरकार गठनको लागि आब्हान गर्नु पर्छ।
प्रधानमन्त्रीले आफ्नै नेतृत्वमा सहमतिको सरकार बनाउन लाग्नु दिवास्वप्न मात्रै भएको भन्दै संविधानत पदमुक्त भएको सरकारमा अरु दलहरु सहभागी हुने कुरै नआउने स्पष्ट पारे।
उपयुक्त विकल्प हुँदा हुँदै जानाजान सत्तामा टिकिरहन संविधानसभा विघटन गरेको आरोप लगाउँदै डा महतले पदमुक्त भईसकेको सरकारले बजेट ल्याउने जस्ता कुनै पनि महत्वपूर्ण कार्य गर्नै नसक्ने ठोकुवा गरे। उनले भने-यो वा त्यो बहानामा सत्ता कब्जाको रणनीति अब चल्दैन।
आफू चाँडो निर्वाचनको पक्षमा रहे पनि प्रधानमन्त्रीले भने जस्तो निर्वाचन हुन नसक्ने भन्दै निर्वाचन आयोगले निर्वाचन गर्न सक्दिन भनेको अवस्था प्रधानमन्त्रीले निर्वाचन गराई छाड्ने दावी गरेर जनता झुक्याउने काम भएको दावी गरे।
माओवादी अध्यक्षले नेपाली सेना आफ्नो पक्षमा रहेको र ५ सय वर्ष शासन गर्ने भनि दिएको अभिब्यक्तिलाई गैरजिम्मेवारीपनको परकाष्टाको संज्ञा दिदै उनले प्रचण्ड मुर्खहरुको स्वर्गमा रमाईरहेको भनि टिप्पणी गरे। उनले भने-नेपालको राष्ट्रिय सेना नेपालको सुरक्षामा प्रतिबद्ध छ। त्यो पार्टीको नियन्त्रणमा छ भन्नु हास्यास्पद र गैरजिम्मेवार भनाई हो।
हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस