दिननाथ बराल / एचकेनेपाल डट कम-
पोखरा, २९ जेष्ठ। सेतीनदीका बाढी पीडितहरुको राहत प्रदान गर्ने उद्धेश्यले रेडियो अन्नपूर्णले स्थापना गरेको अन्नपूर्ण राहत कोषबाट सेतीनदी बाढी पीडितका ८ घर परिवारलाई चौथो चरणमा जनहि २५ हजारका दरले सोमबार चेक हस्तान्तरण गरिएको छ।
माछापुच्छ्रे गाविसका सादल लगायतका क्षेत्रमा रहेका सेतीनदी बाढी पीडित कैले मगर, मनबहादुर पुन, रोकबहादुर मगर, कालु पुन, रतनमाया पुन, केशव मगर, माने तामाङ र कर्णबहादुर पुनलाई जनहि २५ हजारको चेक हस्तान्तरण गरिएको हो।
तस्विरः सुदर्शन रञ्जित / एचकेनेपाल डट कम
रकम हस्तान्तरण कार्यक्रमका प्रमुख अतिथि जिल्ला विकास समितिका योजना अधिकृत निसानराज गौतम, लायन्स क्लब अफ ३२५ बी इलेक्ट डिष्ट्रीक गभर्रनर दिपक श्रेष्ठ, रेडियो अन्नपूर्णका संस्थापक शिश्वशंकर पाखिले, रेडियोका प्रबन्ध निर्देशक सुनयना पालिखे, स्वतन्त्र पत्रकार संघ नेपालका अध्यक्ष कृष्णप्रसाद बास्तोला, कान्तिपुर पब्लिकेसनका प्रतिनिधि तथा पत्रकार लालप्रसाद शर्मा, तमु समाज कतारका प्रतिनिधि राजीत गुरुङ, नेपाल रेडक्रस सोसाईटी कास्की शाखाका धर्मराज अधिकारी, उद्यमी चन्द्रकृष्ण कर्मचार्यलगायतले उक्त चेक हस्तान्तरण गरेका हुन्।
अन्नपूर्ण राहत कोषमा हालसम्म ४३ लाख ५ हजार संकलन भएको बताउदै रेडियोका स्टेशन म्यानेजर दिपेन्द्र श्रेष्ठले चौथो चरणसम्मको राहत वितरणमा अन्नपूर्ण राहतबाट १६ लाख ३० हजार रुपैया बराबरको राहत वितरण गरिएको जानकारी दिए।
सेतीनदीबाढी पीडितहरुलाई माछापुच्छ्रे गाविस ९ सानोखोवाङमा स्थायी रुपमा बसोबास गर्न दैविक प्रकोप उद्धार समिति कास्कीले सिफारीस गरिएको छ। उक्त क्षेत्रमा २२ घर परिवारलाई बसोबासको लागि स्टेमेट गरिएको उक्त क्षेत्रमा बाढी पीडितहरु गएर आफ्नो तोकिएको मापदण्ड अनुसार घर निमार्ण गर्नुपर्ने गाविस सचिव तोयनाथ आचार्यले बताए। सानो खोवाङमा छेन तामाङ र जकी तामाङद्वय घर परिवार अस्थायी रुपमा बस्न थालेका छन् भने सो क्षेत्रमा हालसम्म १४ घर परिवार बस्ने पक्का भएको बताईन्छ। उनीहरु बस्ने घरहरु निमार्ण गर्न लागेको सो क्षेत्र पहिला उनीहरु रहेको भन्दा करीब पैदलबाट आधा घण्टा टाढा रहेको छ भने सेतीनदीबाट कुनै पनि जोखिम नभएको पुनर्रवासमा सहभागीहरु बताउछन।
घर निमार्ण प्रभारम्भिक चरणमा दिईएको उक्त रकमले उनीहरुले घर निमार्णको कार्यलाई तत्काल अघि बढाउने बताए। अन्नपूर्ण राहतकोषबाट संकलित राहत जिविस, रेडक्रसलगायत बिभिन्न संघ संस्थाको रोहवरमा पुनः चरणबद्ध रुपमा राहत वितरण गरिने भएको रेडियोले जनाएको छ।
लायन्स क्लब अफ ३२५ बी इलेक्ट डिष्ट्रीक गभर्रनर दिपक श्रेष्ठले सेतीनदी बाढी पीडितहरुको आवश्यक पूर्वाधार निमार्ण आफूहरुले समेत समन्वय तथा सहयोग गर्ने बताए। अन्नपूर्ण राहतकोषमा राहत संकलन कार्य जारी रहेको छ।
हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस