सन्तोष काफ्ले / एचकेनेपाल डट कम –
धरान, २९ जेठ । बैठकले विगतका आन्दोलनको समीक्षा गर्दै आगामी आन्दोलनको कार्यनीति तय गर्ने उद्धेश्यले संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषद कन्द्रिय कार्य समितिको बृहत् बैठक जेष्ठ ३० र ३१ गते धनकुटाको भेडेटारमा हुने भएको छ।
परिषदका केन्द्रिय अध्यक्ष कुमार लिङदेन “मिराक” सोमवार एक प्रेस विज्ञप्ति जारी गरि देशको राजनैतिक गाम्भीरतालाई मध्यनजर गरी समसामयिक विषयमा छलफल गर्नु पर्ने भएकोले बृहत् बैठक वस्न लागेको जानकारी दिएका हुन्। सो बैठकमा कन्द्रिय समितिका सबै पदाधिकारी तथा सदस्यहरु, राष्ट्रिय पार्षदहरु, जिल्ला र उपत्यका समितिका अध्यक्ष, उपाध्यक्ष, सचिवहरु सबै भातृसङगठनका केन्द्रीय पदाधिकारीहरू, एलभी केन्द्रीय कमाण्डका कमाण्डरहरु, स्वायत्त परिषदका पदाधिकारीहरु, विदेशस्थित समितिका प्रतिनिधिहरु र आमन्त्रित व्यक्तित्वहरुको समेत सहभागिता हुने परिषदले जनाएको छ।
परिषदको बैठकमा संविधानसभाको ४ वर्षको अवधिमा परिषदले गरेका आन्दोलन तथा कार्यक्रमको समिक्षा, संविधान सभाको बिघटनपछि देशमा भइरहेको पहिचानवादी र पहिचान बिरोधीहरुको ध्रुबिकरणसंगै पहिचानवादीहरुको पक्षमा मञ्च र मञ्चसम्बद्ध संघीय लिम्बुवान राज्य परिषदले खेल्ने सकारात्मक भूमिका लगाएतका विषयमा छलफल हुने विज्ञप्तिमा जनाइएको छ। साथै वैठकमा संविधान सभाको ताजा चुनावको तयारीको वारेमा समेत छलफल हुने वताइएको छ। परिषदले यसअघि नै निर्वाचनमा जाने बताइ सकेको छ।
हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस