एचकेनेपाल डट कम संवाददाता-
काठमाडौ, २५ जेठ । नेपाल आदिवासी जनजाति महासंघ र थारु संयुक्त संघर्ष समितिले संयुक्त रुपमा आव्हान भएको आन्दोलनको क्रममा गोली लागेर घाइते भएका धनबहादुर थनैत थारुको निधन भएको छ।
उनको उपचारको क्रममा मंगलबार राति काठमाडौंको शिक्षण अस्पताल महाराजगञ्जमा निधन भएको नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष राजकुमार लेखी थारुले जानकारी दिएका छन्।
उनलाई उपचारका लागि भारतको नयाँ दिल्ली पठाउन मन्त्रिपरिषद्ले निर्णय गरेको भएपनि दिल्ली पठाउनुअघि नै उनको निधन भएको हो।
नवलपरासीको डण्डा बजारमा बैशाख २७ गते भएको शान्तिपूर्ण विरोध प्रदर्शनमा प्रहरीले अन्धाधुन्द गोली वर्षाउँदा उनी घाइते भएका थिए। सोही क्रममा डण्डा बजारमा रहेको थारु सांस्कृतिक संग्रहालय पनि जलाइएको थियो।
त्यस गोलीकाण्ड तथा दमनमा दर्जनौं घाइते भएका थारूले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ। घाइतेहरूमध्ये महेन्द्र आले मगर, विशाल चौधरी थारु र तारा थनैत थारु अहिले पनि शिक्षण अस्पताल महाराजगन्जमा उपचारत छन्।
धनबहादुर थारु थनैत एक किसान थिए। उनका श्रीमती, एक छोरा र छोरी छन्।
नेपाल आदिवासी जनजाति महासंघ र थारु संयुक्त संघर्ष समिति धनबहादुर थारु थनैतको हत्याको घोर भत्सर्ना गर्दै मृत आत्माको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनलाई धैर्य धारण गर्न अपिल गरेको छ।
नेपाल आदिवासी जनजाति महासंघ धनबहादुर थारु थनैतको हत्याको विरोध तथा शोकमा निम्न कार्यक्रम घोषणा गरेको छ।
१ आज जेठ २४ ९ बजे शिक्षण अस्पताल महाराजगन्जमा भेला हुने
२ आजै नेपाल आदिवासी जनजाति महासंघको ७१ जिल्लाका जिल्ला समन्वय परिषद्हरुको कार्यालयमा काम बन्द गरि शोक पुस्तिका राख्ने
३ आजै जिल्ला समन्वय परिषद्हरुले शोक सभा आयोजना गरि हत्याको भतर््सना गर्ने
४ आजै जिल्ला प्रशासन कार्यालयहरु घेराउ गर्ने
तत्कालका लागि हामी निम्न माग अगाडि सार्दछौं
१ धनबहादुर थनैत थारुलाई शहीद घोषणा गरियोस्
२ शहीद परिवारलाई राहत र रोजगारिको व्यवस्था गरियोस्
३ डण्डामा शान्तिपूर्ण विरोध प्रदर्शनमा गोली वर्षाइएको तथा थारु सांस्कृतिक संग्रहालय जलाइएको घटनाको निष्पक्ष न्यायिक छानवीन गरि दोषीलाई कडा कारबाही गरियोस्