उपचारको लागि युएइबाट ३४ हजार सहयोग
एचकेनेपाल डट कम संवाददाता-
पोखरा २६ जेठ । उपचार गर्ने पैसाको अभावमा टाउकोको दुईतर्फको खप्परलाई पेटमा राख्न विवश कमल क्षेत्रीलाई युएइबाट आर्थिक सहयोग प्राप्त भएको छ।
क्षेत्रीलाई तमु समाज युएइका महासचिव नर गुरुङ तथा संगठन प्रमुख मुनिन्द्र गुरुङले ३४ हजार रुपियाँ आर्थिक सहयोग गरेका हुन्।
कास्की ढिकुरपोखरी गाविस पाँउदुर घरभई काठमाडौं बस्ने सरिता गुरुङले भिडियो फेसबुकमा राखेपछि युएइमा रहेका गुरुङद्वयले सहयोग गरेका हुन्। सञ्चारकर्मी सागरराज तिमिल्सिनाले भिडियोलाई यु ट्युबमा अपलोड गरेका थिए। त्यही भिडियोलाई सरिताले फेसबुकमा राखेकी थिइन्।
गुरुङद्वयले उपचारको लागि पोखराको अमरसिंहचोकस्थित बाणिज्य बैकको खाता नं ०४८००१९१५११० नम्बरको खातामा पठाईसकिएको छ। पर्वत जिल्ला तिलाहार गाउँ विकास समिति ७ का २५ वर्षीय कमल १० महिनाबाट यस्तो अवस्थामा रहेका छन्। क्षेत्री गत श्रावण ११ गते मोटरसाइकल दुर्घटनामा परेदेखि उपचारको अभावमा टाउको खप्पर पेटमा राख्न बाध्य भएका हुन्।
५४ वर्षीय कमलका बावु श्यामबहादुर जिसी छोराको उपचारको लागि सहयोगको लागि विभिन्न संघसंस्थासित आग्रह गरेका छन्। ५ महिना न्यूरो अस्पतालमा राखेपछि आफूले पैसा पुर्याउन नसकेपछि अस्पतालबाट निकाल्नु परेको बाबु श्याम वहादुर जिसीले बताएका छन्। छोराको उपचारका लागि १० लाख रुपैया खर्च गरिसेकका छन्। उनको उपचारका लागि अझै ५ लाख रुपैयाँ लाग्ने अस्पतालले बताएको जिसी बताउँछन्।
छोराको उपचारको लागि गाउँमा भएको ७ रोपनी जग्गा सहित घर तथा गरगहना विक्री गरिसकेको उनले बताए। दुर्घटनामा परेपछि पश्चिमाञ्चल अस्पताल पोखरा, काठमाण्डौ न्यूरो अस्पताल र वीर अस्पतालमा उपचार भएपनि रकम अभावका कारण उनको उपचार हुन सकेको छैन।
दशा दुःखीको, खोजी दयालुको (Video)
कृष्ण ज्ञवाली/ एचकेनेपाल डट कम-
छिमेकी, त्यो पनि दाजुभाइ पर्नेले श्रीमती उडाइदियो, त्यसैको खलकले छोराको यो हालत बनायो । हे भगवान !’ भगवान पुकार्ने र आँशु खसाल्ने बाहेक अरु केही उपाय छैन, ५४ वर्षो श्यामबहादुर क्षेत्रीसँग।
पर्वत तिलाहरका क्षेत्री गाउँमा बस्न नसक्ने भएपछि चार वर्षअघि पोखरा झरे। हुन पनि गाउँकै आफ्नै दाजुभाइ पर्ने नारायण लामिछानेले श्रीमती लगेपछि उनलाई बस्न मन नलाग्नु स्वभाविकै हो। “जे त होला भनेर पोखरा झरे, अहिले उही नारायणको भाइ पर्नेले मेरो बुढेसकालको सहारा कान्छो छोरो यस्तो बनाइदियो।’ उनी भाग्यलाई जति सराप्छन, त्यो भन्दा बढी नियती र पीडकहरुलाई।
कान्छो छोरो २५ वर्षको कमलको टाउकाको खप्पर (हड्डी) पेटभित्र छ । सुन्ने र पढ्ने मान्छेलाई पत्याउन गाह्रो हुन्छ। “टाउकाको हड्डी पनि पेटमा कसरी हुन्छ ?’ देखेपछि भने पत्याउन करै लाग्छ। टाउकाको अगाडीको भागमा छाला मात्रै छ। दुवै हड्डी पेट चिरेर राखिएको छ। यत्ति गर्दैमा उनीसँग भएको पैसा सकियो। अझै पुगेन । अब फेरि शल्यक्रिया गरेर टाउको मै हड्डी राख्नु पर्नेछ तर पैसा छैन, अस्पतालले पैसा जम्मा नगरी शल्यक्रिया गर्दैन।
‘साउन ११ गते पोखराको बिरौटमा काम गरेर बसेका कमललाई गाउँकै दाइ पर्ने राजु लामिछानेले मोटर साइकलमा राखेर लगे। काठको मिस्त्री काम गर्ने कमल राति ड्यामसाइडमा घाइते अवस्थामा भेटिए। पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा लगियो, डाक्टरले काठमाडौं लैजाऊ भने। काठमाडौंमा त सबै भन्दा महङ्गो अस्पतालमा पो पठाएछन्। सरकारीमा लान पाएको भए हुने।’ दाजु प्रकाश क्षेत्रीले यसैगरी घटना बिवरण सुनाउँछन्। राजु त्यही मोटर साइकल छोडेर भागे। उनलाई अहिलेसम्म प्रहरीले पक्राउ गर्न सकेको छैन।
कमलको टाउको फुटेको थियो। भित्र रगत जमेको थियो, त्यसैले औषधी गर्ने क्रममा डाक्टरले टाउकाको पूरै हड्डी झिके, शरीर बाहिर राख्दा हड्डी बिग्रने थियो, सुरक्षाका लागि पेटभित्र राखिदिए। यत्ति गर्दैमा उनीसँग भएको पैसा सकियो। ६ महिना बाँसबारीस्थित न्यूरो अस्पताल बसेका बाबु श्यामले अस्पताल प्रशासनबाट पाउनु सास्ती पाए। “भएको गहना बेचे, घर भेटीसँग २ लाख ऋण खोजे, पसल बेच्दा आएको सबै लगे। सबै दिए, अस्पतालले मान्दैन।’ अस्पतालले पनि बढी मागेको होइन। जत्ति बिल भयो उत्ती मागेको थियो, तर महङ्गो न्यूरो अस्पताल श्यामबहादुरलाई थेग्नै गाह्रो।
चार भाइ छोराका बाबु यी श्यामबहादुर क्षेत्री आजभोलि यसै गरी हिकहिकाएर आँशु पुछ्दै दिन काट्न बाध्य छन्। प्रहरीमा भएको जेठो छोरो द्वन्द्वका बेलामा मारियो, २ छोराले बुहारी लिएर घर छोडे, जन्म गाउँ छोडेर पोखरामा मजदुरी गर्दै आएका श्यामबहादुरले आशा गरेको कान्छो छोराको हालत यस्तो छ।
दुर्घटनामा परेका भनिएका कमल १० महिनादेखि जिउँदो लाश जस्तै छन्। न बोल्छन, न हिड्डुल गर्छन्। दाहिने हात खुट्टा चल्दै चल्दैन, दिशा पिसाब गरेको थाहै पाउँदैनन्।
कमलको शल्यक्रिया डाक्टर उपेन्द्र देवकोटाले गरेका हुन्। उनी नेपालका सबै भन्दा महङ्गा सर्जन हुन्। टाउको पहिलो शल्यक्रिया गर्दा उनीसँग भएको पैसा सिद्धियो। अब पेटमा भएको हड्डी फेरि टाउकोमा राख्नुपर्ने बेला भएपनि पैसा छैन। बिना पैसा डाक्टरले शल्यक्रिया गर्न मान्दैन। “शल्यक्रिया, बेड चार्ज र औषधी गर्दा झण्डै नौ लाख ५० हजारको बिल भयो। बल्ल बल्ल जम्मा गरेर ६ साँढे ६ लाख न्यूरो अस्पतालाई बुझाए, अस्पताल प्रशासनले ठूलो सास्ती दियो। एक लाख ३५ हजारपछि तिर्ने कागज गरेर छोरो त्यहाँबाट निकाले।’ शुक्रबार श्यामबहादुरले रुँदै भने।
कान्छो छोरा सञ्चो होला र जीवन धान्न साथ देला भनेर श्यामबहादुरले सक्दो आर्थिक जोहो गरे, ऋण धन गरे। जति गरेपनि रकम अपुग नै भयो। थप पैसा जुटाउन नसक्दा उनले न्यूरो अस्पतालमा खेप्नु सास्ती खेपे। ‘तीन दिन अस्पताल प्रशासनले थुन्यो, बिरामी छोरो भोकै।’ उनले भने।
‘अमी’ मात्र भन्न सक्ने कमलको पेटमा राखिएको हड्डी पुनः टाउकोमा राखे ठीक हुन सक्ने चिकित्सकहरुले बताएका छन्। यही झिनो आशामा उनको परिवार पोखरामा कुदिरहेको छ, तर २ लाख रुपैँया कसरी जुटाउनु ? दाजु प्रकाश क्षेत्री पनि सहयोगका लागि आग्रह गर्दै हिँडिरहेका छन्-“लौन सर कोही छन् की हामी दुःखीलाई सहयोग गर्ने, एक पटक अप्रेशन गरेर पेटमा राखिएको हड्डी टाउकोमा लैजान पाए भाइ ठीक हुन्थ्यो कि ?’ २ लाख त शल्यक्रिया गर्दा मात्र चाहिन्छ। अरु ३ लाख काठमाडौं लैजान,बस्न र खान जोहो गर्नुछ, यो परिवारले तर उपाय केही छैन।
प्रधानमन्त्री बाबुराम भट्टराईसम्म पुगेको यो परिवारले प्रधानमन्त्रीले तोक लगाए पनि सरकारी सहयोग नपाएपछि निराश बनेको छ। सरकारले न त दुर्घटनामा पारेर वेपत्ता हुने मान्छे समाउन सकेको छ र न त औषधी उपचार गर्नमा। कुनै उपाय नभएको यो परिवार सहयोगी मनहरुको प्रतिक्षामा छ।
उपचारका लागि अझै ५ लाख रुपैँया लाग्ने बताएको क्षेत्री बताउँछन्। ‘गाउँमा भएको ७ रोपनी जग्गासहित घर तथा गरगहना बिक्री गरिसके।’ उनी भन्छन्-“कसैले दिए हो, हाम्रो त उपाय छैन।”
सहयोगको लागिः
Account no 3480 0191 5110
SHYAM bahadur G C
Rasthtriya Banijya Bank Branch off Amarsingngh Chowk Pokhara kamal fathar SHYAM BAHADUR G C 9819108905 9815173026