सन्तोष काफ्ले / एचकेनेपाल डट कम-
धरान, २२ जेठ । विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका शल्यचिकित्सकहरुले संसारमा विरलै हुने तर अत्यन्तै जोखिमपूर्ण अवस्थामा ल्याइएका सप्तरीको दिमन-५ बस्ने १० वर्षीय महमद हुसैनको सफल शल्यक्रिया गरेका छन्।
प्रतिष्ठानको आकस्मिक कक्षमा ल्याइपुर्याउदा तीन फुट लम्वाइको बांसको भाटाले आन्द्रा, भुंडी र फोक्सो वारवार गर्दै घांटीको देव्रेभाग छिचोलेको अवस्थामा हुसेनको सफल शल्यक्रिया भएको हो।
उनको शरीरमा बांस छिरेको पाँच घण्टापछि विपि प्रतिष्ठानको आकस्मिक कक्षमा बांसको भाटासंगै ल्याइएको थियो। घांटी बाहिर निस्केको बांसको चुचोमा सानो आन्द्रा र फोक्सोका केही मासुका टुक्राहरु उधिनिएको देखिएको अबस्थामा बालकलाई आकस्मिक कक्षमा पुर्याइएको थियो।
तस्विरः सन्तोष काफ्ले / एचकेनेपाल डट कम
सफल शल्यक्रिया पछि सघन उपचार कक्षमा भर्ना गरिएका बालक हुसैनको अवस्थामा क्रमिक सुधार आइरहेको र खतरा बाहिर रहेको शल्यक्रियामा संलग्न प्रमुख चिकित्कसक प्रा डा. शैलेस अधिकारीले बताए। बालकको शरीरमा बांसको भाटा बायां पेटदेखि छिरेर सानो आन्द्रा हुदै आमासय छेडेर बाया फोक्सोको एक भाग छिचोल्दै घांटीको देव्रे तिरबाट छिचोलेर निस्केको जोखिमपूर्ण अवस्थामा शल्यक्रिया गरेको उनको भनाई थियो।
चिकित्सा विज्ञानमा यस्ता घट्ना संसारमा विरलै हुने गरेका छन्। उनले शरीरको प्रमुख तीन अंगमा क्षति पुर्याएको अवस्थामा एकैपटक तीनै अंगको शल्यक्रिया गरेर मानिस बचाउनु चानचुने विषय नभएको उनको भनाई छ।
दुइ दशक लामो शल्यक्रियाको अनुभव संगालेका डा. अधिकारीले जटिल शल्यक्रिया चिकित्सकहरुले विरलै गर्नु पर्ने अवस्था आउने तथा बालकको पेटबाट छिरेर बांयाघांटीबाट बाहिर निस्केको बांसको भाटाले सानो आन्द्रामा दुइ ठाउं क्षति पुर्याएर तीन टुक्रा बनाएको बताए।
आमाशय (भूडी) मा पनि छेडेर फोक्सो सुरक्षित बनाउने मासुको मोटो पत्र डायफ्राम च्यातेर बांया फोक्सोको केही भाग छिया छिया पार्दै घांटी बाहिर निस्केको अवस्थामा शल्यक्रिया गरिएको उनले जनाकारी दिए।
घाँटीमुनि छिरेको बाँसको भाटा
हुसैन आफ्नो घर छेउको नरिवलको रुखमा चढेका बेला अचानक खुट्टा चिप्लेर झर्दा ठाडो पारेर गाडिएको बांसको भाटाले पेटदेखि फोक्सो हुदै घांटीसम्म छिचोलेको थियो। सानो आन्द्रा, ठूलो आन्द्रा, आमासयदेखि फोक्सोसम्म एउटै बांसको भाटाले उधिनेर क्षति पुर्याएको अत्यन्तै जटिल अवस्था भएकाले बालकको छातीदेखि पेटसम्म करिव १७ सेन्टीमिटर खोलेर सिलाएको डा. अधिकारीले जानकारी दिए।
अस्पताल पुर्याउदा उनी होसमै थिए। यस्तो अवस्थामा पनि बालकले होस नगुमाएकोमा चिकित्सकहरुसमेत आश्चार्यचकित भएका थिए। तत्कालै शल्यक्रियाका लागि सिटी स्क्यान र अन्य टेस्ट गरेर शल्यक्रिया गरिएको प्राध्यापक डा. अधिकारले बताए।
बालकको शरीरबाट त्यो भाटा निकाल्ने प्रयास भएको भए बालकको तत्कालै मृत्यु हुन सक्ने संभावना रहेन्थ्यो तर धन्न बांसको भाटा नचलाई जस्ताको तस्तै अवस्थामा आकस्मिक कक्षमा ल्याइपुर्याएकाले उपचार तथा शल्यक्रिया गर्न सहज भएको उनले बताए। कुनैपनि त्यस्ता घट्नामा शरीरमा प्रवेश भएका छुरी, भाला, वा कुनै धारिलो र तिखो बस्तु नचलाई पहिले अस्पताल पुर्याउनु बुद्धिमानी ठहरिने उनले बताए।
यसरी तलदेखि माथि घाँटीसम्म छिरेको थियो बाँसको भाटा
बालकको शल्यक्रियामा डा अधिकारी र डा राजवंशीका साथै डा. अनङ्ग पंगेनी, डा. नारायण बेल्वासे, एनेस्थिसियाका डा सुजाता निरौला र डा. दिपेस धिताल संलग्न रहेका थिए।
प्ररतिष्ठानका अस्पताल निर्देशक प्रा.डा अरविन्द सिंहाले सघन उपचार कक्षमा राखिएका बालक महमुद हुसैनको उपचार खर्च पुरै निशुल्क गरिदिएका बताए। उनले यस्तो क्रिटिकल अप्रेसन चिकित्सा विज्ञानमा विरलै हुने गरेको दावी गरे।
घट्नापछि बालकसंगै विपि प्रतिष्ठानमा आएकी हुसैनका ठूलीआमा रोशना खातुनले हुसैनका बाबु मोहमद मनिर हाल मलेसियामा बैदेशिक रोजगारीमा रहेको बताइन्। उनले यस्तो अवस्थामा हुसैन बाच्छ जस्तो नलागेको तर विपि प्रतिष्ठानमा शल्यक्रियापछि उसको स्वास्थ्यमा सुधार आएकाले अव धेरै आशा जागेको भन्दै खुसी व्यक्त गरिन्।
उनले चिकित्सक र देवतामा फरक नभएको वताइन्। एसियाकै उत्कृष्ट अस्पतालको रुपमा रहेको प्रतिष्ठान केही समय अगाडि मात्र विश्वका सय अस्पतालका सूचिमा पर्न सफल भएको थियो।
हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस