भेग च्हाक्ली तमु / एचकेनेपाल डट कम-
तमु प्ये ल्हु संघ युकेले आगामी जुन १६ तारिख शनिबारको दिन त्हुँ त्हेँ (सामुहिक यज्ञ) गरिने भएको छ।
समर बिबिक्यु तथा वार्षिक भेटघाट कार्यक्रममा सौर्यमण्डलिय एवं वायुमण्डलिय पराक्रम तथा जलवायु, हावापानी र मौसम परिवर्तनले निम्त्याउने महामारी तथा दैविक प्रकोपको रोकथाम गरी प्राकृतिक बनस्पति र मानव जगतको भलाईको लागि त्हुँ त्हेँ(सामुहिक यज्ञ) गरिन लागेको हो।
यज्ञमा छ्योप, ह्योँखु, पार्क(फुँसुँ) र थासोँ त्हेँ जस्ता शक्तिशाली पूजाहरुलाई एउटै यज्ञमा अर्चना गरिनेछ। यसरी दुईभन्दा बढी यज्ञ(त्हेँ)हरुलाई एकै ठाउँमा विशाल जनसमुदायको सहभागितामा सामुहिक रुपमा सम्पन्न गरिने भएकोले यस यज्ञलाई त्हुँ त्हेँ(सामुहिक यज्ञ) भनिएको हो।
तमु प्ये ल्हु संघ युकेले आयोजना गर्ने समर बिबिक्यु तथा वार्षिक भेटघाट कार्यक्रममा हरेक बर्ष यस्तो पूजाहरु गर्दै आइरहेकोछ भने विगत बर्षहरुमा क्होइडुलुमरा त्हेँ, फुँसुँ त्हेँ, योप्रिँ त्हेँ, मि त्हेँ, थासोँ त्हेँ आदि पूजाहरु गरिएको थियो।
तमु प्राकृतिक वोन धर्म अन्तर्गत गरिने यी पूजाहरु सौर्यमण्डल र वायुमण्डलमा रहेका ग्रह, सूर्य, चन्द्र, तारा, आकाश, पृथ्वी, जलवायु, हावापानी र वातावरण सन्तुलन लगायत मानव जीवनको भलाई तथा एस्ट्रोलोजिकल कन्ट्रोल (Astrological Control) को लागि गरिने पूजाहरु हुन्। जसले प्राकृतिक तथा दैविक प्रकोपको रोकथाम गरी महामारी, रोगव्याधी तथा नराम्रो ग्रहदशा तथा वातावरणिय दूषित पराक्रमबाट हुन सक्ने असर तथा नोक्सानीबाट जोगाई मानव जीवन र जगतलाई स्वस्थ, मंगलमय, सुखमय, सम्पत्ति–सम्पन्न, सौभाग्यशालि, समृद्धशालि, प्रगतिशिल र समुन्नत बनाउंदछ।
त्हुँ त्हेँमा समावेश गरिएको त्हेँहरु छ्र्योप, ह्योँखु, पार्क(फुँसुँ) र थाँसोको आ–आफ्नो छुट्टाछुट्टै विशेषता, शक्ति, महत्व तथा औचित्य रहेकोछ। यद्यपि सामुहिक रुपमा गरिने यस त्हुँ त्हेँमा जीवन रक्षा, शक्ति संरक्षण तथा शत्रुञ्जयको लागि छ्योप त्हेँ गरिनेछ भने सुख–शान्ति, समृद्धि, सम्पन्नता, सौभाग्य र समुन्नतीको लागि ह्योँखु त्हेँ गरिनेछ।
यस्तैगरी प्रतिकुल ग्रह, अधोमुख नक्षत्र र उल्कापातलाई अधीनीकरण गरी चिन्ता, प्रलाप, विनाश, रोगव्याधि, सन्ताप, जडता र मरण जस्ता ग्रहदशाहरुलाई सतविज होम दिई वैधिक कर्म गरी पवित्र गराउनको लागि पार्क(फुँसुँ) त्हेँ गरिनेछ भने क्षेद–भेद, दोष, दूषात र प्रेतात्मा आदिबाट मनुष्यात्मालाई छुट्टाई शुद्धिकरण गराउनको लागि थाँसो त्हेँ गरिनेछ।
यी त्हेँहरु गर्नाले सौर्यमण्डलको गह्र, नक्षत्र, सूर्य, चन्द्र, तारा र पृथ्वी सन्तुलित रहने र निवारणको कारण वायुमण्डलमा रहेका जलवायु, हावापानी, मौसम र वातावरणलाई स्वच्छ तथा अनुकुल बनाउंदछ।
मौसम परिवर्तनको कारण उत्पन्न हुन सक्ने गृष्मकालिन प्रतिकूल वातावरणलाई नियन्त्रित एवं सन्तुलित तुल्याई जीवन जगतको भलाईको लागि समर बिबिक्यु तथा वार्षिक भेटघाटको अवसर पारेर आयोजना गरिने उक्त त्हुँ त्हेँ(सामुहिक यज्ञ)मा आठजना पच्यु खेगी र छजन क्ल्हेप्री खेगी गरी चौधजना तमु खेगीहरु पूजा–पाठमा सरिक हुनेछ भने आमा समूह(उमि–आना) र थप सहयोगीहरु पूर्ण बन्दोवस्तको लागि सम्मिलित रहनेछ।
यस सामुहिक यज्ञमा उपस्थित भई वैधिक कर्म गरी सतविज होम दिएर धर्मगुरुहरुबाट आशिषसहित प्हैरु ग्रहण गरेमा शुभलाभ हुने भएकोले वेलायतमा रहेका सम्पूर्ण महानुभावहरुलाई यज्ञमा सहभागि भईदिन संघले हार्दिक आव्हान गरेको छ। सामान्य अस्वस्थ तथा विकल समस्या भएकाहरुको साधारण झारफुक तथा प्राथमिक हेरकोर गरिने साथै यज्ञ सम्बन्धि कुनै जिज्ञासा भएमा खेगी(धर्मगुरु)हरुसँग प्रत्यक्ष भेट्न र सोध्न सकिने कुरा समेत संघले जनाएको छ।
हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस