एचकेनेपाल डट कम संवाददाता-
काठमाडौ, २१ जेठ । चुरे भावर राष्ट्रिय एकता पार्टीले नेपालले बरिष्ठ उपाध्यक्ष शिवप्रसाद तामाङ, महासचिव भूमिराज निरौलालाई पार्टी हित विपरित गतिविधी गरेको भन्दै साधारण सदस्य समेत नरहने गरी निस्कासन गरेको छ।
पार्टीको तर्फबाट अध्यक्ष हिमालय भक्त प्रधानाङ, उपाध्यक्ष कृष्णगोपाल श्रेष्ठ, महासचिव बद्रीप्रसाद न्यौपाने र कोषाध्यक्ष हरि पोख्रेलले आज आईतवार संयूक्त रुपमा एक विज्ञप्ति जारी गरि उनीहरुलाई साधारण सदस्य समेत नरहने गरी निस्कासन गरेको जानकारी दिएको हो।
विज्ञप्तिमा लामो समयदेखि पार्टीभित्र चुरे भावर आन्दोलनबाट जनताले राखेको अपेक्षा र विश्वास विपरित पार्टीभित्र गुटबन्दी गरेकोले पार्टी विधानको परिच्छेद ६ दफा ३७ को उपदफा १ बमोजिम साधारण सदस्य समेत नरहने गरी निस्कासन गरिएको उल्लेख छ।
उनीहरुमाथि पार्टीको औपचारिक धारणा र निर्णय बेगर विचार नमिल्ने समूहरुसँग सहकार्य गर्दै पार्टीलाई कमजोर बनाउने षडयन्त्र गरेको र त्यसलाई सच्याउन बारम्बार आग्रह गर्दा समेत त्यसलाई बेवास्ता गरिएको आरोप लगाईएको छ।
विज्ञप्तिमा निस्कासित तामाङ र निरौलाले गर्ने गतिविधी र ब्यक्त गर्ने धारणा आजका मिति देखि पार्टीको धारणा नभई ब्यक्तिगतमात्र हुने समेत स्पष्ट पारिएको छ।
हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस