एचकेनेपाल डट कम संवाददाता-
काठमाडौं, १९ जेठ। करीव दर्जन जातीय संघ संस्था आवद्ध संघीय समाजावादी आन्दोलन क्रान्तिकारी राष्ट्रिय परिषदले राष्ट्रपतिसँग सर्वदलीय, र्सवपक्षीय गोलमेच सम्मेलनको आव्हान गरी विखण्डन हुन लागेको मुलुकलाई बचाउन अपिल गरेको छ।
सरकारले चोर बाटोबाट घोषणा गरेको संविधानसभाको चुनावलाई बहिष्कार गर्ने चेतावनी दिदै शून्यताबाट मुलुकलाई बचाउन सार्वभौम नेपाली जनताको सार्वजातीय, र्सवपक्षीय बहुलराष्ट्रिय राजनीतिक गोलमेच सम्मेलनाट सर्वपक्षीय सरकार निर्माण गरी नयाँ चुनावमा जानुपर्ने स्पष्ट पारेको छ।
शुक्रबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै सर्वदलीय, सर्वपक्षीय गोलमेच सम्मेलनबाटै जातीय तथा धार्मिक युद्धबाट मुलुक बच्ने भन्दै त्यसो हुन नसकेमा लिम्बुवान, खम्बुवान, तामाङसालिङ, थरुहट, मगरात, तमुवान, खसाङ, मिथिला, नेवाःमण्डललगायतका जातीय संघ संगठनहरुले मुलुकको संकट समाधान गर्न आफ्नो संविधान, राज्य र सरकारको घोषणा गरी अगाडि बढ्न बाध्य हुने चेतावनी समेत दियो।
परिषदका संयोजक सञ्जुहाङ पालुङ्गाले न्यायपालिका र चार राजनीतिक दलहरुको मिलेमतोमा संविधान जारी नगरेको आरोप लगाउँदै यस्ता राष्ट्रघातीहरुको कदमले मुलुक राष्ट्रसंघको छातामुनी बस्न बाध्य हुने चेतावनी दिए।
पत्रकार सम्मेलनमा मणी लामाले चार जना नेताल ६०१ सभासदलाई बन्दी बनाएर संविधान बन्न नदिएको आरोप लगाउँदै अब मुलुकमा जातीय र धार्मिक द्वन्द्व निम्तिने ठोकुवा गरे। उनले भने-चार दलका ठूला नेताहरु देश द्रोही र राष्ट्रघातीका मतियार हुन्, अब सर्वदलीय गोलमेच सम्मेलनबाट राष्टिय सरकार गठन गरी नयाँ निर्वाचनमा जानु पर्छ।
हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस