Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

न्यायाधीश बमको गोली हानी हत्या, २ को अवस्था गम्भीर

न्यायाधीश बमको निधन, २ को अवस्था गम्भीर
एचकेनेपाल डट कम संवाददाता-
काठमाडौं १८ जेठ । अज्ञात समूहको गोली प्रहारबाट गम्भीर घाइते भएका सर्वोच्चका न्यायाधीश रणबहादुर बमको निधन भएको छ। उनको अस्पतालमा उपचारको क्रममा निधन भएको हो।

उनीसंगै कारभित्र रहेका उनका अंगरक्षक महेश गिरी र साथी राम गिरी (हास्य कलाकार दिपकराज गिरीका पिता) को अवस्था गम्भीर रहेको अस्पताल स्रोतले जनाएको छ। महेशको घाँटी र हातमा तथा रामको हातमा दुई र पेटमा एक गोली लागेको छ। दुबै जनाको शल्यक्रिया भएपनि अवस्था खतरामुक्त नरहेको जनाइएको छ।

रामलाई सुरुमा भरोसा र अल्का अस्पताल पुर्‍याए पनि पछि नर्भिक लगिएको थियो। वरिष्ठ जनरल सर्जन डा.प्रविण नेपालका अनुसार कोखाबाट छिरेको गोलीले रामको पेटका नसा फुटाएर पाँच ठाउँमा चोट र सम्पूर्ण आन्द्रालाई समेत क्षतविक्षत बनाएको छ। कृत्रिम श्वासप्रश्वास दिएपछि उनको होस आएपनि सहज रूपमा खानाको पाचन नभएसम्म अवस्था के हुन्छ भन्न नसकिने बताइएको छ।

घाइते अंगरक्षक महेश घाँटीको रगत बग्ने नसा गोलीले क्षतविक्षत भएपछि त्यहाँ खुट्टाको नसा प्रत्यारोपण गरिएको जनाएको छ। उनको हातको सल्यक्रिया गर्नुपर्ने भएपनि खतरामुक्त पछि गरिने जनाएको छ।

अपडेटः सर्वोच्चका न्यायाधीश रणबहादुर बमको गोली हानी हत्या
एचकेनेपाल डट कम संवाददाता-
काठमाडौं १८ जेठ । अज्ञात हतियारधारी समूहले विहीवार सर्वोच्च अदालतका न्यायाधीश रणबहादुर बमलाई गोली प्रहार गरी हत्या गरेको छ।

गोली लागेर गम्भीर घाइते भएका न्यायाधीश बमको नर्भिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। उनको चिउँडो, घाँटीको रुद्रघन्टी, छातीका ३ ठाउँ गोलीले क्षतविक्षत पारेको थियो। छातीनजिकैका कोखा र हातका औंलाहरूमा गहिरो चोट थियो।

बमसंगै रहेका बमका अंगरक्षक महेश गिरीमाथि पनि गोली प्रहार भएको छ। उनको घाँटीमा गोली लागेको छ। गाडीमै रहेका न्यायाधीश बमका साथी राम गिरी (हास्य कलाकार दिपकराज गिरीका बुबा) को हातमा दुई र पेटमा एक गोली लागेको जनाइएको छ। दुबै जनाको शल्यक्रिया भएको छ। उनीहरूको अवस्था खतरामुक्त नरहेको जनाइएको छ। सकुशल अवस्थामा रहेका गाडी चालक अश्व लामालाई प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ।

यसअघि, गम्भीर घाइते भएका बमलाई भेट्न प्रधानमन्त्री बाबुराम भट्टराई, प्रधानन्यायाधीश खिलराज रेग्मी, गृहमन्त्री विजय गच्छदार, प्रहरी महनिरीक्षक रविन्द्र प्रताप शाहलगायत प्रहरीका उच्च अधिकारीहरु अस्पताल पुगेका थिए।

बंगलामुखी मन्दिरमा दर्शन गरेर बा ८ छ ९८५३ नम्बरको सेतो कारमा कार्यालयतर्फ आउँदै गरेको बेला राजधानीको शंखमुलमा बममाथि गोली प्रहार भएको हो। पल्सर मोटरसाइकलमा आएका दुई जनाले बममाथि बिहान ११:०५ बजे गोली प्रहार भएको प्रहरीले जनाएको छ।

घटनास्थलमा अमर नेपाल संयोजक रहेको नेपालवाद एनजेएस एसआर पार्टी नामको पर्चा भेटिएको छ। यसअघि, यो पार्टीको नाम सुनिएको थिएन। पर्चामा सरकारी तथा गैरसरकारी कार्यालयमा बसेर अनैतिक काम गर्नेहरु समेतलाई कारवाही गर्ने चेतावनी दिएको छ।

घटनापछि प्रहरीले कुपण्डोललगायत ललितपुरका धेरैजसो क्षेत्रमा पल्सर मोटरसाइकलहरू नियन्त्रणमा लिएर सोधपुछ थालेको छ। गृहमन्त्री गच्छदारले बमलाई गोली हान्ने अपराधी र प्रयोग गरिएको पल्सर मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिइसकेको बताएपनि थप विवरण दिएको छैन।

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
 
 

About the author

More posts by