Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

नेपालमा संविधान जारी नभएकोप्रति प्रवासमा चिन्ता

धर्मराज अधिकारी / एचकेनेपाल डट कम-
बेलायत । संविधान घोषणाको दिन गुज्रिसकेपछि पनि देशमा सविधान जारी हुन नसक्दा प्रवासमा रहेका नेपालीहरुले चिन्ता व्यक्त गरेका छन्।

विभिन्न जातीय तथा क्षेत्रीय राज्य माग गरेर देशमा जातजातीबीच फुटको स्थिति सिर्जना भएकोप्रति उनीहरुले आपत्ति समेत जनाए।

पांचथर सेवा समाज युकेले आयोजना गरेको समर भेटघाटमा सहभागीहरुले देशप्रति गहिरो चिन्ता व्यक्त गरेका हुन्। फार्नबरोमा आयोजित कार्यक्रममा समाजका अध्यक्ष एकराज नेम्वाङले नेताहरुले समन्वय गर्न नसकेका कारण देश अनिर्णयको बन्दी बनेको बताए। नयां बन्ने संविधानले जनताका आधारभूत आवश्यकताहरु स्वास्थ्य, शिक्षा र रोजगारीको ग्यारेण्टी हुनुपर्ने उनको भनाइ थियो। नेपालका गरीब तथा बञ्चितीकरणमा परेका समुदायहरुलाई स्थान दिनुपर्ने जिकीर गर्दै उनले जातीय पहिचानले नेपालीहरुलाई नखुम्च्याउन आग्रह समेत गरे।

समाजमा पांचथरसेवा समाजप्रति आएका सकारात्मक टिप्पणीबाट सिंगो पांचथरवासीहरु खुशी भएको उनले सुनाए। व्यस्त समयको बाबजुदपनि समाजको कार्यक्रममा सहभागी भएकाहरुप्रति उनले आभार प्रकट गरेका थिए। कार्यक्रमका प्रमुख अतिथि समाजसेवी कमल पुर्जाले हामी नेपालीहरु बगैंचाका फूलजस्तै भएको बताए। थरीथरीका नेपालीको बेग्ला बेग्लै पहिचान भएपनि आफ्ना संस्कृतिको जगेर्ना गर्न सबै उत्सुक भएकोमा उनले खुशी व्यक्त गरे। उनले पांचथर सेवा समाजको पूर्ण सफलताको शुभकामना दिएका थिए।

समाजका महासचिव नरप्रसाद थामसुहाङद्धारा सञ्चालन गरीएको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष नरबीर आङ्बोले स्वागत मन्तव्य व्यक्त गरेका थिए । सहभागिहरुलाई हेल्थ एण्ड सेफ्टीका बारेमा सल्लाहकार चन्द्र सुन्दासले जानकारी गराए। प्रमुख अतिथि एवं समाजका अध्यक्षबाट दीप प्रज्वलन गरी उद्घाटन गरिएको कार्यक्रममा राष्ट्रिय गान बजाइएको थियो। कार्यक्रममा डा. चन्द्र लक्जम्बा, रीटायर्ड मेजर लक्ष्मी वान्तवा लगायतको सहभागि भएका थिए।

तीन चरणमा विभाजन गरीएको सो कार्यक्रमको दोश्रो भागमा स्थानीय कलाकारहरुबाट नाच, गान तथा कविता बाचन गराई सहभागीहरुले मनोरञ्जन लिए। सहभागी कलाकारहरुले नेपाली तथा हिन्दी गीतहरुमा नृत्य प्रस्तुत गरेका थिए। सांस्कृतिक कार्यक्रमको अन्त्यमा सहभागी कलाकारहरुलाई संस्थाको तर्फबाट प्रमाणपत्र वितरण गरिएको थियो।

कलाकारहरु कामना नेम्वाङ, जमुना नेम्वाङ, अन्जु तवा, सविना आङ्बो, किस्मीता तवा, लीला सेलीङ माबो, नगेन्द्र नेम्वाङ, नम्रता माबो, यमुना नेम्वाङ, मेघा नेम्वाङ, मान तबेबुङ, सिता नेम्वाङ, भावना माबो, रोशनी माबो, शान्ति लिम्बु, छवी सेलीङ, कामना नेम्वाङ, झुमा फागो लगायतलाई प्रमाणपत्र वितरण गरीएको थियो। सो अवसरमा पांचथर समाजमा उल्लेखनीय योगदान पुर्‍याउनुहुने महानुभावहरु, विभिन्न श्रेणी उत्तीर्ण गरेका विद्यार्थी, पूर्व कार्यसमितिका सदस्य लगायतलाई प्रशंसापत्र वितरण गरीएको थियो। कार्यक्रममा समाजका कोषाध्यक्ष एवं मनोक्रान्तिका ज्ञाता नगेन्द्र नेम्वाङले सहभागीहरुलाई मनोक्रान्तिका बारेमा जानकारी दिएका थिए।


हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
 
 

About the author

More posts by