एचकेनेपाल डट कम संवाददाता-
काठमाडौं १५ जेठ । ब्राम्हण, क्षेत्री, दशनामी र ठकुरीहरुको संगठन राष्ट्रिय अखण्डता र जातीय सद्भाव लागि संयुक्त संर्घष समितिले जेठ १४ गते संविधानसभा अगाडि गरिएको शान्तिपूर्ण र्याली र धर्ना कार्यक्रममा गृहमन्त्रीको ठाडो आदेशमा दमन गरिएको नैतिक जिम्मेवारी लिँदै प्रधानमन्त्री र गृहमन्त्रीले तत्काल राजिनामा दिनुपर्ने माग गरेको छ।
सोमबार रिपोर्टर्स क्लब नेपाल पत्रकार सम्मेलन गर्दै संयुक्त संर्घष समितिले विभिन्न अस्पतालमा उपचार गराईरहेका घाईतेहरुको निःशुल्क उपचार गर्नुपर्ने भन्दै गते जेठ ४ गते संर्घष समिति र प्रमुख राजनीतिक दलहरुको संलग्नतामा सरकारसँग भएको सम्झौता तत्काल लागू गर्न समेत माग गरेको छ।
संर्घष समितिले राष्ट्रिय अखण्डता र जातीय सद्भावका लागि सञ्चालित आन्दोलन निरन्तर जारी राख्ने स्पष्ट पार्दै केही दिनमै आन्दोलनको थप स्वरुप निर्धारण गर्ने जानकारी दिएको छ।
पत्रकार सम्मेलनमा संयुक्त संर्घष समितिका संयोजक दिलबहादुर क्षेत्रीले राम्रो र हाम्रो संविधानका लागि ६०१ सभासद्हरुलाई ४ वर्षसम्म दशैँको खसी पाले झैं पालेर राखिए पनि जनताको कर खाएका नमक हराम सभासदहरुले जनतालाई धोका लिएर स्वार्थको राजनीति गरेको आरोप लगाए।
उनले भने- यो अखण्ड नेपालको फूलबारीमा रमाई बसेका ३ करोड नेपालीहरुको जातीय सद्भावलाई खलबल्याउने जातीय अतिवादीहरुको दिवास्वप्न सखाप पार्ने छौं।
संर्घष समितिका सचिव कुमार खड्काले नेपाललाई विखण्डन गर्ने र जातीय सद्भाव भड्काउनेहरुको विरुद्ध संयुक्त संर्घष समिति ढाल, खम्बा, दिवार भएर उभिने चेतावनी दिए।
सह-अध्यक्ष प्राध्यापक नारायणप्रसाद अधिकारीले अहिले राष्ट्रलाई विखण्डन गर्ने र अखण्ड नेपालको पक्षका लागि लड्नेहरुको बीच लडाई भएको र यो लडाईमा आफूहरुको जित सुनिश्चित हुने दावी गरे।
हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस