सन्तोष काफ्ले / एचकेनेपाल डट कम-
धरान, १५ जेठ । अधिकार सम्पन्न लिम्बुवान राज्यको माग गर्दै आएको संयुक्त लिम्बुवान मोर्चा नेपालले वर्तमान सरकारकाले घोषणा गरेको निवार्चनमा सहभागी हुने जनाएको छ।
राजनीतिक दलहरुको आपसी खिचातानीका कारण संविधान सभा विघटन भएकोप्रति आपत्ति जनाउदै मोर्चाले नयाँ जनादेशमा जानुको विकल्प नहरेको सोमवार धरानमा पत्रकार सम्मेलन गरि जानकारी दिएको हो। निर्वाचनमा मोर्चा एक भएर जाने समेत सम्मेलनमा जानकारी दिइएको थियो।
मोर्चाले यस अघि घोषणा गरेका आन्दोलनका कार्यक्रम समेत फिर्ता लिएको छ। मोर्चाले संविधान सभा नै नरहेको अवस्थामा यस अघि घोषणा गरिएको आन्दोलनको औचित्य सकिएको भन्दै सवै कार्यक्रम फिर्ता लिएको हो।
यस अघि, मोर्चाले ऐतिहासिक पृष्ठभूमिको आधारमा पहिचानयुक्त प्रदेशको रुपमा लिम्बुवान सुनिश्चितताको माग गर्दै विभिन्न चरणमा आन्दोलन गरेको थियो भने लिम्बुवान सुनिश्चितता विनाको संविधान आए जलाएर आफ्नै सविधान जारी गर्ने चेतावनी दिएको थियो। जस अन्तर्गत उसले आफ्नो छुट्टै संविधानको मस्यौदा समेत सार्वजनिक गरेको थियो।
हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस