Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

१० यूवा संगठनद्वारा आन्दोलन गर्ने चेतावनी

एचकेनेपाल डट कम संवाददाता-
काठमाडौं १३ जेठ । एकीकृत नेकपा माओवादीसहित विभिन्न राजनीतिक दल निकट यूवा संगठनहरुले जेठ १४ भित्रै पहिचान भएको संघीयता सहितको संविधान जारी नगरे आन्दोलन गर्ने चेतावनी दिएका छन्।

वाईसीएल नेपाल, मधेसी यूवा फोरम नेपाल, मधेसी यूवा फोरम नेपाल लोकतान्त्रिक, तराई मधेस यूवा फ्रन्ट, मधेसी यूवा फोरम नेपाल गणतान्त्रिक, सदभावना यूवा मञ्च, यूवा क्यूनिष्ट संघ एकीकृत, नेपाल लोकतान्त्रिक यूवा फ्रन्ट, आदिबासी जनजाति यूवा महासंघ र थारु विद्यार्थी समाजले शनिवार संयुक्त पत्रकार सम्मेलनको आयोजना गरेर त्यस्तो चेतावनी दिएका हुन्।

तीन संगठनहरुले जारी गरेको विज्ञप्तिमा जेठ १४ भित्रै पहिचान भएको संघीयता सहितको संविधान जारी हुनु पर्ने, १४ वा १० प्रदेश कायम गरिनु पर्ने, मुलुकलाई प्रतिगमनतिर उन्मुख गराएर संविधान जारी हुन नदिने तत्व विरुद्ध आन्दोलनका लागि तयार रहन सबैसँग आग्रह गरिएको छ।

त्यसैगरी मधेसी, आदिबासी जनजातिका माग तत्काल सम्बोधन गर्नुपर्ने माग गर्दै संघीयता विरोधी तत्वका विरुद्ध सशक्त आन्दोलन गर्ने स्पष्ट पारिएको छ।

पत्रकार सम्मेलनमा बोल्दै वाईसीएल अध्यक्ष गणेशमान पुनले संघीयता विरोधी तत्वलाई खवरदारी गर्दै संघीयता विरोधी षडयन्त्र नरोकिए जनतालाई साथमा लिएर भिषण आन्दोलनगर्ने चेतावनी दिए। उनले मुलुकमा प्राप्त उपलब्धिलाई गुमाएर २०४७ सालकै संविधान ब्यूँताउने षडयन्त्र भईरहेको भन्दै त्यस विरुद्ध खवरदारी गर्न आग्रह गरे।

मधेसी यूवा फोरम नेपालका अध्यक्ष योगेन्द्र रायले विभिन्न आन्दोलनको उपलब्धिको अपमान हुन लागेको भन्दै जेठ १४ भित्रै पहिचान कायम हुने गरी संघीयता सहितको संविधान जारी गर्न माग गरे। उनले पहिचान नदिई त्यसको नतिजा ठिक नहुने चेतावनी दिए।

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
 
 

About the author

More posts by