एचकेनेपाल डट कम संवाददाता-
काठमाडौं १२ जेठ । विश्वकै कान्छी सगरमाथा आरोही सोलुखुम्बुको बुदेल ४ की १६ वर्षीया छेम्जी शेर्पालाई शुक्रवार राजधानीमा सम्मान गरिएको छ।
शुक्रवार रिपोर्टर्स क्लब नेपालमा एक कार्यक्रम आयोजना गरेर गुदेल शेर्पा किदुग समाजले कान्छी आरोहीलाई खाँदा ओडाएर सम्मान गरेको हो।
सम्मान कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका सभासद जिपछिरिङ लामाले ठूला दलका नेताहरुले जातीय राज्यलाई थाँती राखेर आफूहरुमात्रै आधिकार सम्पन्न हुने हिसावमा काम गरे देशमा जातीय विष्फोट हुने चेतावनी दिए।
सभासद लामाले भने- जातीय पहिचानको आधारमा राज्य पुनःसंरचना भए देशको कुना-कुनाको विकास हुन्छ, प्रदेशको विकाससँगै समाजको विकास हुन्छ । जातीय राज्यबाट दलहरु पछि हट्नु हुँदैन।
सभासद लामाले राष्ट्रको नाम विश्वभर फैलाउन सफल कान्छी सगरमाथा आरोही १६ वर्षीया छेम्जी शेर्पालाई राज्यले सम्मान गर्नु पर्ने भन्दै उनको २ वर्षसम्म लाग्ने पढाई खर्च आफैले व्यहोर्ने प्रतिबद्धता व्यक्त गरे।
राष्ट्रिय आदिवासी जनजाती महिला संघकी अध्यक्ष हिमी छेम्जी शेर्पाले कठिन परिश्रमका साथ सगरमाथा आरोहण गरेर विश्वकीर्तिमान लगायत अनेक कीर्तिमान कायम गर्ने शेर्पा जातिलाई पर्यटन मन्त्रालयले अहिलेसम्म एक जनालाई पनि जागिरको व्यवस्था गर्न नसकेकोमा असन्तुष्टि जनाईन्।
कान्छी आरोही १६ वर्षीया छिम्जी शेर्पाले एसएलसी दिएर बसेको फुर्सदिलो समयमा बुवाको सहयोगमा सगरमाथा चढेर नाम राख्न सकेकोमा गर्व लागेको बताईन्। उनले सगरमाथ आरोहण दुखपूर्ण, ज्यानको खतरा हुने र एउटा शेर्पा मर्यो भने उसको सपरिवारको विचल्ली हुने अवस्था रहेको भन्दै राज्यले आरोहीहरुको जीवन रक्षाको व्यवस्था गर्न माग गरिन्।
गुदेल ४ सोलुकी शेर्पाले बुवा देन्डी शेर्पाको साथमा सगरमाथाको सफल आरोहण गरेकी थिईन्।
हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस