Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

चन्दा नदिएको आरोपमा होटल तोडफोड

सन्तोष काफ्ले / एचकेनेपाल डट कम-
सञ्जुहाङ पालुङ्वाले नेतृत्व गरेको संघीय लिम्बुवान राज्य परिषदको भातृ संगठनको रुपमा रहेको युवा परिषदका सुनसरी अध्यक्षसहितका कार्यकर्ताले चन्दा नदिएको भन्दै एक होटलमा तोडफोड गरेका छन्।

धरान १५ स्थित वगरकोटमा रहेको लुम्चुङ चाम्लिङ सेकुवा कर्नरमा शुक्रवार राति चन्दा नलिएको निहुंमा तोडफोड गरेको प्रहरी जनाएको छ।

घर जग्गा व्यवसायी समेत रहेका प्रेमचन्द्र राईको होटलमा जग्गा प्लटिङ गर्दा आफूहरुलाई नसोधेको तथा चन्दा नदिएको निहूंमा घरेलु हतियारसहित पुगेका युवा परिषदका अध्यक्ष प्रेम लिम्बुसहितका युवाहरुले तोडफोड गरेको पीडितले धरानमा पत्रकार सम्मेलन गरी जनाकारी दिएकाछन्।

पीडित राईले युवा परिषदका कार्यकर्ताले चन्दा दिन नियमित रुपमा दवाव दिदैआएको र आफूले इन्कार गरेपछि प्रकाश लिम्वुको नेतृत्वमा आएका १५ /१६ जनाको समूहले एक्कासी होटलमा प्रवेश गरेर तोडफोड गरी होटल छोडन दवाव दिदै नछोडे परिवारको नै ज्यान लिने धम्की दिएको बताए।

लिम्बु समूहले फोनमार्फत समेत बारम्बार धम्की दिएको कारण आफूहरु व्यवसायबाटै पलायन हुने स्थितिमा आएको वताए। राईले असुरक्षाका कारण शनिवार पसल नै बन्द गरेका छन्। लिम्वुवानले यस पनि राईसंग २ लाख चन्दा लिइसकेको सम्मेलनमा जानकारी दिइयो।

यसैवीच धरान घर जग्गा व्यवसायी संघ धरानले घटनाको निन्दा गरेको छ। संघका महाचिव मनोज भट्टराईले असुरक्षाका कारण व्यवासायीहरु पलायन हुन लागेकोले सुरक्षाको प्रत्याभूति दिलाउन सरकारसमक्ष माग समेत गरेका छन्। भट्टराइले पत्रकार सम्मेलनमा वोल्दै दोषीलाई कानुनको कठघरामा उभ्याउन र निर्वाध रुपमा व्यावसाय गर्न पाउने नागरिकको नैसर्गिक अधिकारलाई सुनिश्चित गर्न उनले मागसमेत गरेका छन्।

यसैबीच, चन्दा नदिएको रिसमा होटलमा तोडफोड गर्ने लिम्वुवानका ५ कार्यकर्तालाई प्रहरीले शनिवार पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा सन्जुहाङ्ग पालुङवा नेतृत्वको संघीय लिम्वुवान राज्य परिषदको युवा संगठनका सुनसरी अध्यक्ष धरान १५ का २९ वर्षीय प्रकाश लिम्वु र उनका सहयोगीहरु धरान १५का १८ वर्षीय नविन गुरुङ, १८ वर्षीय किरण लिम्वु, १८ वर्षीय सुमन लिम्वु र १८ वर्षीय विक्रम भनिने विशाल श्रेष्ठ रहेका छन्।

उनीहरुको साथबाट ५ थान घरेलु हतियारसमेत बरामद गरेको धरान प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपि राजेन्द्र विष्टले उनीहरुलाई सार्वजनिक अपराध ऐन अर्न्तगत कारवाही गरिने बताए।

यता लिम्वुवानका सुनसरी अध्यक्ष भूपेन्द्रसुन्दर लावतीले घटनामा आफ्नो पार्टीका कार्यकर्ता भएको स्वीकार गदै दोषी प्रमाणित भए कारवाही गर्ने बताएका छन्। उनले आफ्नो पार्टीले प्लटिङ्ग रोक्ने नीति भएपनि पैसा लिने नीति भने नभएको बताउदै पैसा मागेको प्रमाणित भए कारवाही गर्ने स्पष्ट पारेका छन्।

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
 
 

About the author

More posts by