एचकेनेपाल डट कम संवाददाता-
काठमाडौं, ९ जेठ । नेपाली चलचित्रमा चर्चित नायिका रेखा थापा र चलचित्र निर्माता छवि ओझा चलचित्रमा जस्तै अभिनय र नौटङ्की गर्न खप्पिस छन् भन्ने पछिल्लो हल्लाले पुनः सावित गरिदिएको छ।
दुबैले औपचारिक रुपमा छुट्टिएर बस्ने सहमति भएको खबरले मंगलवार दिनभर चलचित्र र सञ्चार क्षेत्रमा सर्वाधिक चर्चा पाएको थियो।
रंग पत्रकार प्रकाश सुवेदीको रोहवरमा उनीहरू दुबै अलग्गिएर बस्ने सहमति भएको हल्ला बाहिर आएको थियो। यो नौटङ्की रेखा र छविले सृजना गरेका हुन् या रंगपत्रकार सुवेदी स्वंयले हौवा फैलाएका हुन्, बुझ्न सकिएको छैन।
मंगलवार औपचारिक रुपमा छुट्टिएर बस्ने सहमति भएको खबर पाएपछि दुबैले पछि यसलाई डिभोर्स नभएर नौ महिनादेखिको चिसो सम्बन्धमा सुधार आएका बताएका छन्।
यसअघि, एउटै घरमा तल्लो र माथिल्लो तलामा छुट्टाछुट्टै बस्दै आएका उनीहरूबीच बोलचालसमेत बन्द भएको थियो।
बानेश्वरस्थित छविको कार्यालय नमस्ते नेपालमा रेखाले अब म मम्मीसंगै बस्छु भनेर छविसंग अनुमति मागेपछि औपचारिक रुपमा छुट्टिएर बस्ने सहमत भएका हुन् मंगलवार बाहिर आएको समाचार यस्तो थियो। सुवेदीका अनुसार रेखा र छविले एक अर्कालाई अंगालो मारेर छुट्टिएका थिए।
छुट्टिने बेलामा भावुक बनेकी रेखाले भनेकी थिइन् ‘छवि मेरो अभिभावक हो र अब पनि अभिभावक नै रहने छ।’ प्रतिउत्तरमा छविले रेखालाई सहयोग गर्न सधैं तयार रहने बताएका थिए।
१२ वर्षअघि विवाह बन्धनमा बाँधिएका दुबैजनाबीच असमझदारी बढ्दै गएको खबर भने बारम्बार आइरहने गर्र्थ्यो।
हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस