Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

ललितपुरमा पत्रकार असुरक्षित

नवराज न्यौपाने / एचकेनेपाल डट कम-
काठमाडौं, ९ जेठ । नेपाल पत्रकार महासंघ काठमाडौं शाखाले मंगलवार गरेको अनुगमनको क्रममा ललितपुरको सातदोबाटो, बालकुमारी र त्यस आसपासका क्षेत्र पत्रकारको समाचार संकलनका लागि असुरक्षित क्षेत्र रहेको प्रतिवेदन सार्वजनिक गरिएको छ।

पत्रकार महासंघका काठमाडौं शाखाको सदस्य तथा केन्द्रीय पार्षद सम्मिलित एक दर्जन पत्रकारहरुको टोलीले बिहान ११ बजेदेखि २ बजेसम्म राजधानीको नयाँ बानेश्वर, गौशाला, चाबहिल, गोंगबु, नयाँ बसपार्क, बालाजु, स्वयम्भु, कलंकी, एकान्तकुना, लगनखेल, जावलाखेल, कुपण्डोल, थापाथली, पुतलीसडक, बागबजार, सुन्धारा, रत्नपार्क सातदोबाटो क्षेत्रको प्रत्यक्ष अनुगमन गरेको थियो।

अनुगमनको क्रममा सबैभन्दा प्रेस मैत्री प्रदर्शन गौशाला, चावहिल, महाराजगन्ज, गंगबु र कलंकीमा भइरहेको थियो भने ललितपुरको सातदोबाटो, बालकुमारी क्षेत्र पत्रकारहरुको लागि जुनसुकै समयमा कुटाई खानुपर्ने अवस्था रहेको औल्याइएको छ।

अनुगमनको क्रममा सातदोबाटो पुगेको टोलीलाई आन्दोलनकारीले परैबाट जबरजस्ती भिडमा लगेर खरानी बनाईदिने धम्की दिएको थियो। यस्तो धम्कीपछि ग्वार्खो क्षेत्रमा जानै नसकी बीच बाटोबाटै फर्किनु परेको नेपाल पत्रकार महासंघका केन्द्रीय पार्षद नवराज न्यौपानेले जानकारी दिए। सातदोबाटोमा एक जना प्रहरी निरिक्षकले आन्दोलनकारी अत्यन्तै आक्रामक अवस्थामा रहेकोले आफूले सुरक्षा दिने नसक्ने भन्दै फर्कन आग्रह समेत गरेको थियो।

महाराजगन्ज, कलंकी लगायतका क्षेत्रमा माउन्टेन टिभीको नामै लिएर उक्त टिभीको पत्रकारहरुलाई बाँकी नछोड्ने चेतावनी दिइएको थियो। प्रेसमैत्री वातावरणमा प्रदर्शन भइरहेको गौशाला, गोंगबुमा रहेका नेतृत्वले जुनुसकै मिडियाका पत्रकार आएपनि आफूहरुले स्वतन्त्रतापूर्वक आवतजावत गर्न दिइएको जानकारी बन्दकारीले दिएका थिए।

अनुगमनमा नेपाल पत्रकार महासंघका काठमाडौं शाखाका कार्य समितिका सदस्य मानध्वज लामा (सागर), डा. शितलकाजी श्रेष्ठ तथा नेपाल पत्रकार महासंघका केन्द्रीय पार्षद नवराज न्यौपाने, रेडियो मिर्मिरेका बृद्धि विश्वकर्मा, राष्ट्रिय उद्घोषक संघका अध्यक्ष उद्धवबहादुर अर्याल, पत्रकारहरु राजन प्रसाई, मोहन पन्त, रिना श्रेष्ठ, हरिहर राजभण्डारी, माधव निर्दोष, प्रदिप तिवारीलगायतको सहभागिता रहेको थियो।

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
 
 

About the author

More posts by