Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

संचारकर्मीको साईकल समेत छाडिएन

दिननाथ बराल / एचकेनेपाल डट कम-
पोखरा, ९ जेठ । बन्दका क्रममा समचार संकलन गरेर फर्कदै गरेका रेडियो अन्नपूर्णका संवाददाता एवं समाचारवाचक रञ्जन अधिकारीमाथि दुर्व्यवहार भएको छ।

नयाँबजारबाट रेडियो अन्नपूर्णको कार्यालयतर्फ आउने क्रममा पोखराको नयाँबजार चोकमा महेन्द्रपुलबाट नयाँबजार तिर जाँदै गरेका ५ युवाको समूहले साईकल रोकेर दुर्व्यवहार गर्नुका साथै साईकल समेत तोडफोड गरेका हुन्।

अधिकारीले आफू समाचार संकलनका लागि हिँडेको र परिचयपत्र देखाउँदा देखाउँदै पनि ” बन्दमा साईकल चलाउन पाउँदैन भन्ने सञ्चारकर्मीलाई थाहा छैन?” भन्दै एक्कासी साईकलमाथि लात्तीले बजारेका थिए। तोडफोडबाट रेडियो अन्नपूर्णको हनि हण्टर माउण्टेन बाईकको गियरमा पूर्ण रुपमा क्षति पुगेको छ।

साईकल तोडफोडपछि पनि नयाँबजार क्षेत्रबाट महेन्द्रपुल सम्म आईपुग्दा अधिकारीमाथि पटक-पटक साईकल रोकेर दुर्व्यवहार भएको थियो। महेन्द्रपुलमा बसेका बन्दकर्ताको अर्को समूहले “पत्रकारलाई मोटरसाईकल चढ्न दिँदा समेत साईकल चढेर रमाईलो गर्दै हिँड्ने” भन्दै थर्काएका थिए।

“ढाका पसल अगाडि बसेका एक अधबैंसे बन्दकर्ताले साईकल किन चलाएको भन्दै गरेका थिए, फेरि अगाडि बढ्दा अर्को समूहले साईकल नचढ भन्यो, चोकमा बसेका युवाले भने परिचयपत्र हेरेर जानुस् भन्दै छाडे।” अधिकारीले भने।

यसैबीच, रेडियो अन्नपूर्णले रेडियोका संवाददता तथा समाचारवाचक रञ्जन अधिकारीमाथि भएको दुर्व्यवहार र साईकल तोडफोड भएको घटनाप्रति भर्त्सना गरेको छ।

रेडियोका स्टेशन म्यानेजर दीपेन्द्र श्रेष्ठले एक विज्ञप्ति प्रकाशित गरी घटनाको भर्त्सना गर्दै स्वतन्त्र प्रेसको सम्मान गर्न आन्दोलनरत पक्षलाई आग्रह गरेका छन्।

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
 
 

About the author

More posts by