Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

बन्द सफल भएको महासंघको दावी

एचकेनेपाल डट कम संवाददाता-
काठमाडौ, ७ जेठ । नेपाल आदिवासी जनजाति महासंघले ७२ घन्टे नेपाल बन्दको पहिलो दिन शानदार रुपमा सफल भएको जनाएको छ।

महासंघका अध्यक्ष राजकुमार लेखी थारुले एक प्रेस विज्ञप्ति जारी गर्दै बन्द शानदार रूपमा सफल भएको जनाएको छ। विज्ञप्तिमा नेपाल बन्दको दौरानमा प्रेसमाथि भएको आक्रमणप्रति नेपाल आदिवासी जनजाति महासंघले दुःख ब्यक्तसमेत गरेको छ।

प्रेस विज्ञप्ति जस्ता तस्तै

नेपाल आदिवासी जनजाति महासंघ
संघीय परिषद् सचिवालय

प्रेस विज्ञप्ति

मितिः ७ जेठ २०६९

कतिपय अप्रिय घटनालाई छाडेर ७२ घन्टे नेपाल बन्दको पहिलो दिन आज शानदार रुपमा सफल भएको छ । अधिकार र पहिचान सहित बहुप्रदेशको संघीयता तथा जनअधिकारको पक्षमा देशब्यापी रुपमा जनता सडकमा ओर्लिएका छन् । जनताको यो आवाज र भावना अझै पनि संविधानसभाका निर्णायक दलका निर्णायक नेता समूहको कानमा पुग्दैन भने उनीहरुलाई समयको प्रचण्ड प्रवाहले बगाएर लैजाने निश्चित छ।

नेपाल आदिवासी जनजाति महासंघ सहितको आदिवासी जनजाति संयुक्त संघर्ष समितिको आव्हानमा भएको नेपाल बन्दको समानान्तर रुपमा आदिवासी जनजाति महासंघ सहितको सहकार्यमा थारु संयुक्त संघर्ष समितिले थरुहट तराई बन्द पनि जारि राखेको छ । यसरी आजको बन्दमा देखिएको जनसमर्थनले मुलुक अब कुनै पनि नामको अखण्डताको बहानामा पहिचान सहितको संघीयताबाट पछाडि फर्कन नसक्ने स्पष्ट भएको छ । यो तथ्यलाई संविधानसभाका निर्णायक दलका निर्णायक नेता समूहले स्विकार गर्न अब ढिलाई गर्न हुँदैन।

नेपाल बन्दको दौरानमा प्रेसमाथि भएको आक्रमणप्रति नेपाल आदिवासी जनजाति महासंघ दुःख ब्यक्त गर्दछ । बन्दमा सरकारी भिजिलान्तेको ब्यापक घुसपैठ भएको देखिएको छ । शान्तिपूर्ण रुपमा प्रदर्शन गरिरहेका कार्यकर्ता तथा सर्वसाधारणलाई लखेट्ने, गिरफ्तार गर्ने काम प्रहरीले गरेको छ भने अवांछित क्रियाकलाप गर्नेलाई प्रत्यक्ष संरक्षण दिएको देखिएबाट सरकारी संरक्षणप्राप्त भिजिलान्तेहरुको घुसपैठको पुष्टि हुन्छ । यस क्रममा काठमाडौंको चाबहिल र विशालनगरमा दुई जना भिजिलान्तेलाई हाम्रा आन्दोलनकारि साथीहरुले पक्राउ गरि प्रहरीलाई बुझाएको पनि जानकारि गराउँछौं । त्यसैगरि संचारकर्मीको मोटरमाथि आक्रमण गर्न खोज्ने एक समूहलाई नयाँ बानेश्वरमा आदिवासी जनजाति महिला महासंघकी सचिव टोमा लामा नेतृत्वको टोलीले लखेटेको छ।

हामी प्रेस स्वतन्त्रता तथा प्रेसको निर्वाध सूचना संकलन गर्ने अकुण्ठित अधिकारप्रति सदैव निसर्त सम्मान गर्दछौं । प्रेसमाथिको आक्रमणलाई जायज ठहराउन किमार्थ सकिँदैन । कान्तिपुर एफएममा गएर आक्रमणको प्रयास गरिनु झनै निन्दनीय छ । श्रमजीवी पत्रकारहरुको ब्यक्तिगत सवारी साधनमा समेत भिजिलान्ते घुसपैठियाहरुबाट आक्रमण भएको छ । स्वतन्त्र प्रेस माथि हुने कुनै पनि किसिमको आक्रमण संचारकर्मीहरुको मात्र चिन्ता र सरोकारको विषय बन्न हुँदैन, यो हामी सबैको साझा चिन्ता र सरोकारको विषय हो । लोकतन्त्रको प्राणवायु भनेकै स्वतन्त्र प्रेस हो । नेपालमा प्रेस उपर सुनियोजित आक्रमण गम्भिर समस्याका रुपमा रहँदै आएको छ तर सुनियोजित तरिकाले प्रेस माथि हुने गरेका आक्रमण तथा क्षणिक आवेग र आक्रोशले हुने घटनालाई एउटै रुपमा नलिइदिन पनि हामी आग्रह गर्दछौं । तथापी, प्रेसमाथि जुनसुकै अवस्थामा भएको आक्रमण किन नहोस्, त्यसले लोकतन्त्रलाई नै कमजोर बनाउँछ भन्ने तथ्यप्रति हामी अत्यन्तै गम्भिर र सचेत रहेका छौं तथा सबैलाई सचेत हुन अपिल पनि गर्दछौं।

हामीले बाध्य भएर बन्द कार्यक्रम गरेका हौं, यसका निम्ति नेपाल सरकार, संविधानसभालाई खल्तीमा हालेर बसेका केही नेताहरुको जिम्मेवार छन् । हामीले आम जनतालाई असुविधा होस् भनेर बन्द गरेका पनि होइनौं । त्यसैले ७२ घन्टे नेपाल बन्दको क्रममा आम जनताको असुविधालाई ध्यानमा राखेर काठमाडौंमा बिहान पाँचबजेदेखि अपरान्ह पाँच बजेसम्म मात्र बन्द कार्यक्रम संचालन हुने जानकारि गराउँदछौं । त्यसैगरि जिल्लामा स्थानीय परिस्थितिलाई ध्यानमा राखेर निर्णय गर्न सकिने पनि जानकारि गराउँदछौं।

आजको बन्दको दौरानमा काठमाडौंका विभिन्न ठाउँका साथै चितवन, नवलपरासी, बर्दिया, सुनसरी, कैलाली, पोखरा लगायतका जिल्ला तथा कैयन नगरहरुमा प्रहरीले शान्तिपूर्ण बन्दमा उत्रिएका जनतामाथि ज्यादती गरेको छ । यसैगरि देशभरिबाट शान्तिपूर्ण आन्दोलनमा उत्रिएका सयौंलाई गिरफ्तार गर्ने काम गरेको छ । प्रहरी प्रशासनले विभिन्न जातीय समुदायलाई भिडाउने कुत्सित मनसाय समेत राखेको देखिएको छ।

नेपाल आदिवासी जनजाति महासंघ यस्ता सरकारी क्रियाकलापको घोर भत्सर्ना गर्दै गिरफ्तारहरुलाई बिना सर्त रिहा गर्न माग गर्दछ।

नोटः नेपाल बन्दमा एम्बुलेन्स, प्रेस, रेडक्रस, दमकल, स्वास्थ्यसेवा, मानव अधिकार अनुगमन टोली, मलामी, जन्ती, कुटनितिक नियोग, विदेशी पर्यटक, पिउने पानीको टयाङ्कर, दूध, पेट्रोल, डिजेल ग्यास, औषधी पसल, औषधीको गाडी र सुरक्षा निकायका गाडीहरुलाई अवरोध नगर्न फेरि पनि हार्दिक अनुरोध गरिन्छ।

राजकुमार लेखी थारु ९८४१४३७४००
अध्यक्ष
नेपाल आदिवासी जनजाति महासंघ
संघीय परिषद् सचिवालय

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
 
 

About the author

More posts by