Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

धरानका सरकारी कार्यालयहरुमा तोडफोड

सन्तोष काफ्ले / एचकेनेपाल डट कम-
धरान, ७ जेठ । आदिवासी जनजाति महासंघले आव्हान गरेको दुइदिने आम हड्तालको पहिलो दिन बन्द कर्ताहरुले धरानमा दुई सरकारी कार्यालयमा तोडफोड गरि क्षति पुर्याएका छन्।

बन्दमा कार्यालय सञ्चालन गरेको भन्दै हातमा लाठी बोकेर गएका बन्द कर्ताहरुले नेपाल टेलिकम कार्यालय र पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पसमा तोडफोड गरेका छन् भने धरान १८ वुद्ध चोकमा वन्दको अवज्ञा गरेका भन्दै एक मारुती भ्यानमा आगजनी गरेका छन्।

बन्दकर्ताहरुले धरान छाता चोकस्थित नेपाल टेलिकमको कार्यालयमा प्रबेश गरि कर्मचारीलाई आतंकित पार्दै कार्यालयका झ्याल ढोकाका सिसा, विलकाउण्टर र कार्यालयका विभिन्न कोठामा प्रबेश गरि तोडफोड गरेको टेलिकमका सवारी चालक इन्द्र राईले जानकारी दिए।

बन्दकर्ताहरुले टेलिकमको एक थान कम्प्युटरमा २ वटा झ्याल विल काउन्टर तथा ढोकालगायत फोनको कनेक्सन वोर्डमा समेत तोठफोड गरेका छन्। बन्दकर्ताहरुले टेलिकममा तोडफोड गरि आतंक मच्चाए पश्चात कर्मचारीहरुले कार्यालयको काम बन्द गरेका थिए।

तोडफोडमा एक लाख वराबरको क्षति भएको टेलिकमले जनाएको छ। तोडफोडपछि इलाका प्रहरी कार्यालय धरानले नेपाल टेलिकममा सुरक्षाका लागि प्रहरी खटाएको छ। त्यस्तै, बन्दकर्ताहरुले धरानकै पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पसमा समेत तोडफोड गरेको प्रहरीले जनाएको छ। बन्दकर्ताहरुले क्याम्पस प्रबेश गरि टेबुल दराजमा क्षति पुर्याएका छन् भने बन्दकर्ताहरुले अन्धाधुन्द झ्याल ढोकामा ढुङ्गा प्रहार गर्दा झ्याल ढोकाका सिसा फुटेको प्रहरीले जनाएको छ।

बन्दकर्ताहरुले धरानका सम्पूर्ण शैक्षिक संस्था, कलकारखाना बजार बन्द गराइ ठप्प पारेका थिए। जनजातिको बन्दका कारण धरानका सम्पूर्ण सरकारी कार्यालयको कामसमेत प्रभावित भएको थियो। यस्तै, बन्द सफल वनाउन धरानको भानु चोकमा ढोल तथा चण्ढि नाचको प्रदर्शन गरिएको थियो। यस्तै वन्दकर्ताले धरान इटहरी सडक खण्डको पानी पिया क्षेत्रमा सडक अवरोध गरि मोटरसाइकल समेत चल्न दिएका थिएनन् भने यात्रुहरुलाई समेत दुर्व्यवहार गरेका थिए। सो क्षेत्रमा सञ्चारकर्मीहरुलाई समेत आवत जावत तथा फोटो र भिडियो खिच्न अवरोध गरिएको थियो।

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
 
 

About the author

More posts by