Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

अपडेटः बन्दकर्ताद्वारा प्रेसमाथि आक्रमण

अपडेटः बन्दकर्ताद्वारा प्रेसमाथि आक्रमण
एचकेनेपाल डट कम संवाददाता-
काठमाडौ, ७ जेठ । जातीय पहिचान सहितको संघीय राज्यको माग गर्दै आदिवासी जनजातीले आब्हान गरेको तीन दिने नेपाल बन्दको पहिलो दिन आइतवार आन्दोलनकारीहरुले जनताका सूचनाका सम्बाहक सञ्चारकर्मीमाथि दुर्ब्यवहार गर्नुका साथै सञ्चारकर्मी सवार र सञ्चारगृहका सवारी साधनहरुमा आक्रमण गरेका छन्।

आन्दोलनकारीहरुले हिमालय टेलिभिजनका क्यामेरा म्यान वाईपी घिमिरे सवार बा २० प ३८९९ नम्बरको मोटरसाईकलमा आगजनी गर्नुका साथ घिमिरेलाई दुर्ब्यवहार गरेका छन्। त्यसैगरी, आन्दोलनकारीहरुले कान्तिपुर दैनिकको पत्रिका बोकेको गाडीलाई बन्दकर्ताहरुले काठमाडौंको जोरपाटीमा तोडफोड गरेका छन्। त्यसैगरी, सिटिजन एफएमका पत्रकार दिनेश गौतमलाई टुसालमा हाम्रो समाचार नपढने भन्दै टायर घाँटीमा छिराएर दुर्ब्यवहार गर्नुका साथै उनी सवार बा ४६ प ३४२१ नम्बरको मोटरसाईकलमा तोडफोड गरेका छन्। सोही ठाँउमा एभेन्यूज टेलिभिजनका सञ्चारकर्मी सवार एक मोटर मोटरसाईकलको हावा खोलिदिनुका साथै सञ्चारकर्मीहरुमाथि दुर्ब्यवहार गरेका छन्। त्यसैगरी, एभेन्यूज टेलिभिजनको सवारी साधनमा चावहिलमा ढुङ्गा मुढा गरेका छन्।

तस्बिरः शिरोमणि धिताल/ट्विटर

नवलपरासीमा संयुक्त थारु संर्घष समितिका कार्यकर्ताहरुले नेपाल पत्रकार महासंघका केन्द्रिय पार्षद हरि शर्मालाई आक्रमण गरेको छ। थारुहट प्रदेशको माग गर्दै आन्दोलनमा रहेको सर्घष समितिका कार्यकर्ताहरुले नवलपरासीको बासा चोकमा शनिवार साँझ पत्रकार शर्मालाई आक्रमण गरेका हुन्। पत्रकार शर्मा संयुक्त थारु संर्घष समिति नवलपरासीले डण्डामा आयोजना गरेको विरोध सभाको समाचार संकलन गरेर परासी फर्कदै थिए।

बन्दकर्ताद्वारा तोडफोड भएका कान्तिपुर पब्लिकेशन्स र कान्तिपुर टीभीका भ्यानहरु। तस्विरः बुद्धिलाल तामाङ/ईकान्तिपुर

रिपोर्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाले एक प्रेस विज्ञप्ति जारी गरी घटनाको घोर भत्सर्ना गरेको छ। विज्ञप्तिमा जनताको सूचनाको हकको प्रत्याभूत गर्ने पत्रकारहरुमाथिको यो आक्रमणलाई रिपोर्टर्स क्लब नेपालले प्रेस स्वतन्त्रतामाथिको आक्रमणको रूपमा लिएको छ। सञ्चारमाध्यम र सञ्चारकर्मीहरुमाथिको यो आक्रमणको क्लब घोर भर्त्सना गर्दै पत्रकारमाथिको आक्रमणका घटनाको सत्यतथ्य तत्काल पत्ता लगाई घटनामा संलग्न अपराधिको पहिचान गरी कानुनी कार्वाहीको घेरामा ल्याउन सरकारसँग जोडदार माग गरेको छ। साथै क्लब पत्रकारहरुको सवारी साधनमाथि भएको क्षतिको उचित क्षतिपूर्ति उपलब्ध गराउन सरकारसँग माग गरेको छ।

बन्दले जनजीवन प्रभावित
एचकेनेपाल डट कम संवाददाता-
काठमाडौ, ७ जेठ । आजदेखि सुरु भएको नेपाल बन्दको क्रममा बिहानैदेखि देशभर यातायात, कलकारखाना, बजार तथा शिक्षण संस्थाहरु ठप्प भएका छन्।

नेपाल आदिवासी जनजाति महासंघका विभिन्न जिल्ला समन्वय परिषद्हरुले गराएको जानकारी अनुसार बिहानैदेखि आदिवासी जनजाति महासंघको झण्डा र ब्यानरसहित बन्दको समर्थनमा जुलुस प्रदर्शन भइरहेको छ।

बन्दका क्रममा ३१ जना बन्दकर्ताहरू पक्राउ परेका छन्। बन्दकर्ताले ५ वटा गाडी र २ मोटरसाइकलमा तोडफोड गरेका छन्। बन्दकर्ताले पत्रिका पुर्याएर फर्कंदै गरेको कान्तिपुर पब्लिकेशन्सको एउटा भ्यान तोडफोड गरेका छन्। त्यसैगरी, ग्वार्कोमा हिमालय टेलिभिजनका क्यामेराम्यान वाइपी घिमिरेको बा २० प ३८९९ नम्बरको मोटरसाइकलमा आगजनी गरिएको छ।

नेपाल आदिवासी जनजाति महासंघ सहितको आदिवासी जनजाति संयुक्त संघर्ष समितिको आव्हानमा भएको नेपाल बन्दको समानान्तर रुपमा आदिवासी जनजाति महासंघ सहितको सहकार्यमा थारु संयुक्त संघर्ष समितिले थरुहट तराई बन्द पनि जारी राखेको छ।

बन्दको समर्थनमा शान्तिपूर्ण रुपमा सडकमा ओर्लिएका नेपाल आदिवासी जनजाति महासंघ तथा यससंग सम्बद्ध संस्थाका कार्यकर्ता तथा बन्द समर्थक जनतालाई आज गिरफ्तार गर्र्ने, यातना दिने काम प्रहरी प्रशासनले गर्न थालेको छ भने हिजो साँझ देशब्यापी मसाल जुलसमा पनि प्रहरीले हस्तक्षेप गरि दर्जनौंलाई घाइते बनाएको छ।

सुनसरीको धरानमा हिजो साँझको मसाल जुलसमा भएको प्रहरी दमनमा दर्जनौं घाइते भएका छन्।

नेपाल बन्दको दौरानमा अहिले देशब्यापी रुपमा जनप्रदर्शन भइरहेको महासंघका अध्यक्ष राजकुमार लेखी थारुले जनाएका छन्। लेखीले काठमाडौंमा एकसयभन्दा धेरैजनाले बिहानै गिरफ्तार दिएको बताएका छन्।

बिहान नवलपरासीको बासाबसहीमा प्रहरीसँग भएको झडपमा केही आन्दोलनकारि घाइते भएका छन्। सिराहाको वसहीमा पनि झडप भएको लेखीले बताए।


बन्दको आह्वान गर्दै पोखरामा शनिवार साँझ निकालिएको मोटरसाइकल र्‍याली। तस्विरः उमेश पुन / एचकेनेपाल डट कम

नेपाल आदिवासी जनजाति महासंघले प्रहरी दमन र गिरफ्तारिको घोर भत्सर्ना गर्दै पहिचान सहितको नयाँ संविधान निर्माणका लागि आन्दोलनको मैदानमा उत्रिन महासंघले सम्पूर्ण नेपाली जनतालाई हार्दिक अपिल गरेको छ।

अध्यक्ष लेखीले एक प्रेस विज्ञप्ति जारी गर्दै नेपाल बन्दमा एम्बुलेन्स, प्रेस, रेडक्रस, दमकल, स्वास्थ्यसेवा, मानव अधिकार अनुगमन टोली, मलामी, जन्ती, कुटनितिक नियोग, विदेशी पर्यटक, पिउने पानीको टयाङ्कर, दूध, पेट्रोल, डिजेल ग्यास, औषधी पसल, औषधीको गाडी र सुरक्षा निकायका गाडीहरुलाई अवरोध नगर्नसमेत आग्रह गरेका छन्।

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
 
 

About the author

More posts by