एचकेनेपाल डट कम संवाददाता-
काठमाडौ, ६ जेठ । संविधान निर्माणको लागि निर्धारित समय साँघुरिएर समयसीमाभित्र संविधान बन्ने-नबन्नेमा अन्योल उत्पन्न भइरहेको बेला आ-आफ्ना माग बोकेर विभिन्न समूहहरु बन्द-हडतालका कार्यक्रम बोकी सडकमा उत्रिने क्रम बढेसँगै बन्दविरुद्धका आवाज बुलन्द हुन थालेका छन्।
दिनहूँको बन्दका कारण जनजीवन कष्टकर बन्न थालेपछि उद्यमी-व्यवसायी, मानवअधिकारकर्मी, बुद्धिजीवि, कलाकार, विद्यार्थी, अभिभावक एवम् नागरिक समाजले संयुक्त रुपमा बन्दका विरुद्ध आवाज उठाएका हुन्।
‘प्याभ मिडिया’को आयोजनामा रिपोर्टर्स क्लब नेपालमा आयोजित कार्यक्रममा मानवअधिकारकर्मी सुवोधराज प्याकुर्यालले कुनै पनि प्रकारको बन्द ‘हिंसा’ भएको उल्लेख गर्दै हातमा डण्डा लिएर बन्द गराउन हिँड्नेलाई राज्यले जघन्य अपराधी घोषणा गर्नुपर्ने माग गरे। उनले भने-बन्द गर्न हुँदैन भनी आफ्ना कार्यकर्तालाई भन्न नसक्ने राजनीतिक दलका नेताहरु नालायक हुन्। प्याकुर्यालले बन्दकारीहरुलाई कारबाही गर्न नसक्ने सरकार तथा राज्य पनि असफल सावित हुन्छ।
रिपोर्र्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाले जसरी पनि समयभित्रै संविधान आउनै पर्ने भन्दै ‘बन्द’लाई सदाका लागि बन्द गर्न आह्वान गरे। बन्द संस्कृति यसरी नै मौलाइरहे बन्दकर्ता एवम् राजनीतिक दलहरुविरुद्ध जनता सडकमा उत्रनुपर्ने उनको धारणा थियो।
कार्यक्रममा लोकप्रिय गायिका तथा सञ्चारकर्मी कोमल वलीले बन्द गर्ने र बन्दका लागि बाध्य तुल्याउनेहरु मानव नभएको भन्दै पत्रपत्रिकाहरुले आफ्नो प्रकाशनको पहिलो पृष्ठमै ‘बन्दलाई बन्द गरौ“, अब त अति भो’ भन्ने नारा प्रकाशित गरेर बन्द विरुद्ध जनएकता निर्माण गर्नु पर्ने सुझाव दिईन्।
त्यसैगरी, गायिका राधिका हमालले नेता एवम् दलहरुबीच आपसी समझदारी नहुँदाको परिणति ‘बन्द’को रुपमा देखापरेको र यसबाट जनताले निकै सास्ती व्यहोर्नुपरेको उल्लेख गुनासो गरिन्।
बन्दको विरोधमा जेष्ठ ७ गते आइतबार विहान ११ देखि १ बजेसम्म कलाकारलगायत नागरिक समाजका समस्त विधाका व्यक्तित्वहरुको उपस्थितिमा दबावमूलक धर्ना दिने र जेष्ठ ८ गते सोमबार बन्दकर्ता र सरोकारवाला तथा र्सवसाधारणबीच सडकमै अन्तरक्रिया कार्यक्रम आयोजना गरिने पनि कार्यक्रममा जानकारी दिइयो।
हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस