Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

पोखरामा खबरदारी र्‍याली

दिननाथ बराल / एचकेनेपाल डट कम-
पोखरा, ५ जेठ । नेपाल सरकार र राष्ट्रिय अखण्डता र जातीय सद्भावका लागि संयुक्त सङ्र्घर्ष समितिबीच बिहीबार राति सरकारसंग तीन बुंदे माग पूरा गर्ने हस्ताक्षर भएपछि समितिले शुक्रबार देशव्यापी रुपमा बिभिन्न ठाँउहरुमा खबरदारी र्‍यालीसहित आंशिक खुसियाली मनाएको छ।

आफ्नो आन्दोलन आंशिक रुपमा सफल भएको भन्दै संयुक्त संर्घष समितिले शुक्रवार देशभर सरकारलाई खबरदारी गर्दै आंशिक रुपमा खुसियाली मनाएको संयुक्त संर्घष समितिका केन्द्रीय महासचिव कुमार खड्काले बताए। खड्काले आफ्ना मागहरु संविधानमा नलेखिएसम्म आफूहरुको आन्दोलन नटुङगिने बताउदै हाललाई आन्दोलनका सम्पूर्ण कार्यक्रम स्थगित गरेको बताए।

यसै क्रममा पोखरामा पनि विजय र्‍यालीसहित सरकार विरुद्धको खबरदारी र्‍याली निकालिएको छ। पोखराका विभिन्न स्थानबाट शुरु भई चिप्लेढुंगा विपिचोकमा पुगेर उक्त र्‍याली सभामा परिणत भएको थियो। खबरदारी र्‍यालीमा आन्दोलनको क्रममा घाईते हुन पुगेकी सरीता गुरुङलगायत बिभिन्न व्यक्तिहरुलाई सम्मान गरिएको छ।

पार्दी विरौटामा आन्दोलनको क्रममा भागदौड मच्चिदा दाईने हात भाचिएपछि संयुक्त संर्घष समिति कास्कीले आन्दोलनको जिम्वेवार आफूहरुले लिदै उनलाई उपचार गर्दै सम्मान गरेको संर्घष समिति कास्कीका संयोजक पदम बहादुर कार्कीले बताए।

कार्यक्रममा कार्कीले गुरुङलाई ढाकाको पछ्यौरा ओढाएर तथा अविर लगायर सम्मान गरेका हुन्। यसअघि, आन्दोलनको क्रममा संयुक्त सर्घष समितिले आयोजना गरेको नेपाल बन्दको क्रममा प्रतिकार गर्ने व्यक्तिलाई तमुवान सर्घष समितिले सम्मान गरेको थियो। आन्दोलनको क्रममा घाईते भएका पुरुषलाई ढाकाटोपी र महिलाहरुलाई ढाकाको पछ्यौरा ओढाउदै सम्मान गरिएको संर्घष समिति कास्कीका प्रवक्ता विश्वमोहन पौडेलले बताए।

अन्य घाईते हुनेहरुमा विक्रम शाही, सूर्य अधिकारी, विश्वमोहन पौडेल, गोविन्द लामिछाने, भेषराज रेग्मी, मोहनराज गौतम, सुरेन्द्र बुढा, विन्दु कार्की, नरेन्द्र कार्की, झमकनाथ बराल, प्रेमलाल शाह, चन्द्रबहादुर पोखरेल, निसा थापा, दिनेश पौडेल, कृष्णराज खनाल, देवेन्द्रराज बराल, लेखनाथ भट्टराई, दिपेन्द्र जिसि, रविराज बराल, सहदेव ढकाल, महेश रेग्मी रहेको समितिले जनाएको छ।

छोरेपाटनमा आन्दोलनको क्रममा नरेन्द्र कार्की, राजेन्द्र पाठकमाथि केही युवाहरुले कुटपिट गर्दा उनीहरु घाईते भएका थिए।

बिरोध कार्यक्रममा संर्घष समिति कास्कीका संयोजक पदम बहादुर कार्कीले आफ्नो बन्दको क्रममा सहयोग पुराउने सम्पूर्ण उद्योग व्यावसायी, तथा र्सवसाधरणहरुमा हार्दिक आभार व्यक्त गर्दै आफूहरुको आन्दोलन आंशिक रुमपा मागहरु पुरा भएकोले अब त्यसलाई संस्थागत गर्नको लागि निरन्तर खबरदारी गर्नु पर्ने बताए।

ब्राहृमण समाज कास्कीका अध्यक्ष भेषराज लम्साल, क्षेत्री महिला समाजका केन्द्रीय अध्यक्ष पुष्पा केसी भण्डारी, दशनामी समाज कास्कीका अध्यक्ष राजकुमार गिरी, संर्घष समिति कास्कीका प्रवक्ता विश्वमोहन पौडेलले लगायतले आफूहरु अझै पनि ढुक्क भएर बस्ने अबस्था नभएकोले निरन्तर सरकारलाई खबरदारी गरी सतर्क हुन आग्रह गरेका छन्।

बिहीबार शान्ति मन्त्रालयमा भएको वार्तामा नयाँ संविधानमा ‘अन्य जाति’ हटाई आन्दोलित ब्राहृमण समाज नेपाल, क्षत्री समाज नेपाल, ठकुरी समाज महासंघ नेपाल, नेपाल दशनामी समाज, विभेदमुक्ति प्रगतिशिल समाज, दलित जनजागरण सेवा संघ, खस क्षत्री एकता समाज पिछडा बर्ग महासंघ, रानाभाट सेवा समाजका लगायतका जातिहरुलाई ‘खस, आर्य’ राखी अधिकार सहित आदिवासीमा सूचीकृत गरिने सहमति भएको हो।

सरकारसंगको गएराति भएको सहमति अनुसार प्रदेशको नामाकरण व्यवस्थापिका-संसद्ले गर्ने र प्रदेशबारे अन्तिम निर्णय प्रदेश सभाले गरेबमोजिम हुने तथा आवश्यक परेमा त्यस विषयमा जनमत सङ्कलन गरिने सहमति भएको थियो। सहमतिपछि सरकारी वार्ता टोलीका संयोजक उपप्रधानमन्त्री कृष्णप्रसाद सिटौलाले विरोधका कार्यक्रम गरिरहेका सबै पक्षलाई वार्तामा आउन र बन्दका कार्यक्रम नगर्न पनि आब्हान गरेका छन् । उपप्रधानमन्त्री सिटौलाले नेपाल मेचीदेखि महाकालीसम्मका सबै जाति, क्षेत्र, धर्म तथा भाषाभाषीका जनताको भएकाले सबै मिलेर जातीय सद्भावका साथ बस्नुपर्ने आग्रह गरेका छन्।

वार्ताको प्रारम्भमा प्रधानमन्त्री डा.बाबुराम भट्टराई र प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूको पनि उपस्थिति रहेको थियो। सहमतिमा सरकारका तर्फबाट उपप्रधानमन्त्री सिटौला र समितिका तर्फबाट वार्ता टोलीका संयोजक संयुत्त सर्घष समितिका संयोजक प्रा.डा. दिलबहादुर क्षेत्रीले हस्ताक्षर गरेका थिए।

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
 
 

About the author

More posts by