Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

अखण्ड सुदूरपश्चिम आन्दोलन फिर्ता नभए प्रतिकार गर्ने

एचकेनेपाल डट कम संवाददाता-
काठमाडौं १ जेठ । एकीकृत नेपाल कम्युनिष्ट पार्टी (माओवादी) सेती-महाकाली राज्य समितिका सदस्य र सभासदहरुले अखण्ड सुदूरपश्चिम आन्दोलन जातीयतावादी, क्षेत्रीयतावादी अहंकारवादीको पक्षमा भएको भन्दै त्यो आन्दोलन तत्काल फिर्ता नलिए प्रतिकारमा उत्रने चेतावनी दिएका छन्।

उनीहरुले अखण्ड सुदूरश्चिम आन्दोलनले सामन्तबादी, पूँजीपति, साम्राज्यवादी र विस्तारवादको हित गर्न खोजेको आरोप लगाउँदै तत्कालै आन्दोलन फिर्ता नलिए प्रतिकारमा उत्रने चेतावनी दिएका हुन्।

आज रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै सेती-महाकाली राज्य समितिले सदियौंदेखि वर्गीय,जातीय, क्षेत्रीय र लिङ्गीय उत्पीडनमा परेका जनताको न्यायगर्ने संघीय राज्यहरुको स्थापना गर्ने पार्टीको स्पष्ट नीतिको विरुद्ध जातीवाद, अतिवाद, उत्तरआधुनिकवादी र विखण्डनवादको गन्ध आएको भन्दै १८ दिनदेखिको सुदूरपश्चिम बन्द तत्काल फिर्ता नलिए प्रतिकार उत्रने चेतावनी दिएको हो।

पत्रकार सम्मेलनमा सेती-महाकाली राज्य समितिका इन्चार्ज तथा एमाओवादीका पोलिटव्युरो सदस्य धर्मेन्द्र वास्तोलाले १८ दिनदेखिको सुदूरपश्चिम बन्द संघीयता विरोधी भएको भन्दै तत्काल बन्द फिर्ता नलिए बाध्य भएर प्रतिकारमा उत्रने चेतावनी दिए।

उनले सेती-महाकालीका ७ वटा जिल्ला जोडेर प्रदेशको निर्माण गर्नुपर्ने, त्यसको राजधानी दिपायल हुनुपर्ने जिकिर गर्दै उनले भने- कैलाली कञ्चनपुर थरुहट राज्य हुनुपर्छ।

सेती-महाकाली राज्य समितिका सेक्रेटरी खगराज भट्टले भने- सेती महाकाली बन्दमा लाग्ने केही ठूला नेताहरु संघीयता विरोधी हुन्, तिनीहरुका विरुद्धमा पनि आवाज उठ्ने छन्।

पत्रकार सम्मेलनमा सेती-महाकाली राज्य समितिका सह-इन्चार्ज भीमबहादुर कडायत, सह-इन्चार्ज जगत पार्कीलगायतले सुदूर पश्चिम बन्द संघीयता विरोधी र राष्ट्रघाती भएको भन्दै तत्काल फिर्ता लिन आग्रह गरे।

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
 
 

About the author

More posts by