Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

प्रधानमन्त्री संविधान सभाको म्याद थपको गृहकार्यमा

एचकेनेपाल डट कम संवाददाता –
काठमाडौ, ३१ बैशाख । प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार देबेन्द्र पौडेल सुनिलले प्रधानमन्त्री डा बाबुराम भट्टराई संविधानसभाको म्याद थप्ने गृहकार्यमा जुटेको खुलासा गरेका छन्।

रिपोर्टर्स क्लब नेपालले आईतवार आयोजना गरेको साक्षात्कारमा बोल्दै पौडेलले संविधानसभाको म्याद थपेर भए पनि संविधान जारी गर्ने स्पष्ट पार्दै कानूनी जटिलता मिलाएर भए पनि संविधानसभाको म्याद थपिने बताए।

क्लबका अध्यक्ष ऋषि धमलाको सभापतित्वमा भएको साक्षात्कारमा उनले संविधान जारी नभई संविधानसभा विघटन हुन नसक्ने ठोकुवा गर्दै संविधानसभाको म्याद नथपिए मुलुक भयंकर अराजकतामा फस्ने चेतावनी दिए। उनले भने-उपयुक्त विकल्प विना संविधानसभा विघठन हुन दिनु हुँदैन। प्रधानमन्त्री डा बाबुराम भट्टराई पनि संविधान जारी नभई संविधानसभा विघटन हुन दिन नहुने पक्षमा हुनु हुन्छ।

मुलुकमा संघीयतालाई असफल बनाएर पुरानै अवस्थामा फर्काउने षडयन्त्र भईरहेको दावी गर्दै पौडेलले अखण्ड सुदूरपश्चिमको आन्दोलन त्यस्तै षडयन्त्रकारीहरुले सञ्चालन गरेको आरोप लगाए।

पछिल्लो समयमा भईरहेको षडयन्त्र र चलखेल अन्त्यकोलागि पनि नेकपा एमाले तत्काल सरकारमा आउनु पर्ने उल्लेख गर्दै सहमतिको सरकार बनाएर चलखेल नियन्त्रण गर्न नसके मुलुक गम्भीर अराजकतामा फस्ने चेतावनी दिए।

जातीयसहित साँस्कृतिक र भाषागत पहिचान सहितको संघको नामाकरण हुनु पर्ने भन्दै माओवादीले पहिचानलाई पुरै छाड्न नसक्ने उनको स्पष्टोक्ति थियो।

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
 
 

About the author

More posts by