सानु घिमिरे / एचकेनेपाल डट कम-
सिड्नी । अष्ट्रेलियाको सिड्नीमा बिभिन्न कार्यक्रमको अयोजना गरी २५५६ औँ बुद्ध जयन्ती भव्यताका साथ मनाइएको छ। अस्ट्रेलियमा रहेका बिभिन्न ६ वटा संस्थाहरुले संयुक्त रुपमा बुद्धको पुजा अर्चना, बिपस्यना ध्यान, लुम्बिनी भ्रमण बर्ष २०१२ लाई प्रबर्द्धन गर्ने सामाग्रीहरुको प्रदर्शन, फोटो प्रदर्शनी , शान्ति र्याली, रक्तदान कार्यक्रम,बुद्ध कप सकर प्रतियोगिता, बुद्ध कप भलिबल प्रतियोगिताका साथै छेलो हान्ने रोमाञ्चकारी प्रतियोगितासहित बुद्ध जयन्ती मनाइएको हो।
कार्यक्रम सिड्नीको मनोरम र बिशाल टेम्पे पार्कमा भव्यताका साथ मनाइएको हो। कार्यक्रमका बिशेष अतिथी लुम्बिनी कपिलबस्तु दिवस बिश्व अभियान समितीको बिश्व समितीका सल्लाहकार डा कविता राम श्रेष्ठले शान्तिका अग्रदूत भगवान गौतम बुद्धले दिएको शान्तिको सन्देशलाई बिश्व सामु फैलाउने प्रमुख दायित्व हाम्रै हो भन्दै गौतम बुद्ध जन्मेको पवित्र भूमि लुम्बिनीको जगेर्ना गर्ने कर्तब्य पनि हामी नेपालीहरुको नै भएको बताउदै सबै नेपालीहरुलाई जागरुक हुन आव्हान गर्नु भयो। नेपाल सरकारले मनाइ रहेको लुम्बिनी भ्रमण बर्ष २०१२ लाई प्रबर्द्धन गर्दै प्रबासी नेपालीहरुले पनि देश बिकासमा सके जति सहभागी हुन उहाँले अपिल गर्नु भयो।
कार्यक्रममा प्रमुख अतिथि न्यु साउथ वेल्स अष्ट्रेलियाका लागि महाबाणिज्यदूत दिपक खड्काले आजको युद्ध र हिंसा ग्रस्त समाजमा गौतम बुद्धले दिनु भएको शान्ति, अहिंसा, प्रेम र करुणाको सन्देश अरु बढी सार्थक भएको बताउदै लुम्बिनी कपिलबस्तु दिवस अभियानले आफूलाई लुम्बिनी प्रबर्द्धनको लागि घच्घच्याएको बताउनु भयो। कार्यक्रममा बिशेष अतिथि नेपाल बुद्धिष्ट काउन्सिलका अध्यक्ष मनिश्वर बज्राचार्यले बुद्ध धर्मको उत्पति, यसको वैज्ञानिकता र यो धर्मका बिशेषताको परिचर्चा गर्दै गौतम बुद्ध जन्मिएको देशमा जन्मिन पाएकोमा गौरब लागेको बताउनु भयो। कार्यक्रमलाई सम्बोधन गर्दै अर्का बिशेष अतिथि लुम्बिनी कपिलबस्तु दिवस बिश्व अभियानका बिश्व संयोजक राम कुमार श्रेष्ठले यो अभियानको विकास, औचित्य आदिमाथि प्रकाश पार्नु भएको थियो।
सोही कार्यक्रममा बुद्धको जीवनीमा आधारित पहिलो नेपाली उपन्यास ‘महाभिनिस्कि्रमणका अस्वीकृत पाइला’ का लेखक प्राध्यापक डा कविताराम श्रेष्ठलाई बुद्ध दर्शन समिति अष्ट्रेलियाले सम्मान गरेको थियो। महामहिम दीपक खड्काले अभिनन्दन पत्र र बुद्ध दर्शन समिति अष्ट्रेलियाका अध्यक्ष निमा शेर्पाले खादा ओढाई लेखक श्रेष्ठलाई बधाई सहित अभिनन्दन गर्नु भएको थियो।
कार्यक्रमा एनआरएन आइसीसीका सल्लाहकार समाजसेवी इन्द्र बन, गोर्खा नेप्लिज कम्युनिटी अष्ट्रेलियाका अध्यक्ष दा नरय्हं प्रधान, एनआरएन अष्ट्रेलियाका उपाध्यक्ष प्रेम सापकोटा, एनआरएन अष्ट्रेलियाका पूर्व अध्यक्ष मन खत्री, नेपाल आदिवासी जनजाती मंच अष्ट्रेलियाका अध्यक्ष गणेश तामाङ, नेपाल लोकतान्त्रिक मञ्च अष्ट्रेलियाका संयोजक हरि लामिछाने, नारी निकुन अष्ट्रेलियाकी उपाध्यक्ष सुमित्रा बिष्ट, एनआरएन अष्ट्रेलियाका सल्लाहकार रामजी बिष्ट, गुठी अष्ट्रेलियाकी पूर्बअध्यक्ष निलम प्रधानाङ्ग लगायतको उपस्थिती रहेको थियो।
औपचारिक कार्यक्रमपछि शान्ति र्यालीको समेत आयोजना गरिएको थियो। सोही दिन बिहान १० बजे तमु समाज सिड्नीका अध्यक्ष इन्द्र गुरुङले बुद्ध कप २०१२ को उद्घाटन गर्नु भएको थियो। यस बर्षको बुद्ध कप सकरको उपाधि भने फ्रेन्ड्स युनाइटेडले लगेको छ भने सगरमाथा एफसीले दोश्रो स्थान हात पारेको छ। उता बुद्ध दर्शन समिती अष्ट्रेलिया र छन्त्याल परिबार अष्ट्रेलियाले संयुक्त रुपमा सोही दिन सोही स्थानमा आयोजना गरेको भलिवल प्रतियोगितामा भने छन्त्याल परिबार अष्ट्रेलियाले बुद्ध कप भलिबल हात पारेको छ भने पोखरा समाजले दोश्रो स्थान हासिल गरेको छ। तमु समाज सिड्नी, बुद्ध दर्शन समिती अष्ट्रेलिया, लुम्बिनी कपिलबस्तु दिवस बिश्व अभियान समिती अष्ट्रेलिया, गुठी अष्ट्रेलिया, छन्त्याल परिवार अष्ट्रेलिया र तामाङ सोसाइटी अष्ट्रेलियाले संयुक्त रुपमा आयोजना भएको सो कार्यक्रमको अध्यक्षता तमु समाज सिड्नीका अध्यक्ष इन्द्र गुरुङले गर्नु भएको थियो।
सहभागी र सहयोगीहरुलाई धन्यबाद दिदै संयोजक इन्द्र गुरुङले सिड्नीमा पहिलो पटक यति धेरै संस्थाहरु मिलेर संयुक्त रुपमा मनाइएको यो समारोहले एकता र शान्तिको सन्देश दिएको बताउनु भयो। कार्यक्रममा बुद्ध दर्शन समिति अष्ट्रेलियाका उपाध्यक्ष सुदिप गौचनले स्वागत मन्तब्य व्यक्त गर्नु भएको थियो भने कार्यक्रमको सञ्चालन लुम्बिनी कपिलबस्तु दिवस बिश्व अभियान बिश्व समिति अष्ट्रेलिया प्रतिनिधि सानु घिमिरेले गर्नु भएको थियो।