Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

जागरुक नारी प्रजाराज्यलक्ष्मी (जीवनी)

नरेन्द्रराज प्रसाई / एचकेनेपाल डट कम-
एक पटक राजा त्रिभुवनले साहेबज्यू रणविक्रम शाहसमक्ष मुख फोरेका थिए- ‘ए दाइ ! खड्गमान सिंहलाई हजुरकी छोरी दिनुपर्‍यो।’ राजाका कुरा सुनेर शाह छक्कै परे। ती सम्बादले उनी कति छक्क परे भने तीन छक्क परे। जीवनमा उनले त्यस्तो उल्का कुरा सुनेको त्यही पहिलो चोटि थियो। त्यो कुरा पनि राजैबाट सुन्दा उनी छाँगाबाट खसेसरि थिए।

प्रचण्ड गोर्खाका संस्थापक खड्गमान सिंहलाई राणाले खोरभित्रै चरा राख्नेजस्तै ठूलो पिँजडामा २० वर्ष राखेका थिए। तर २००७ सालको जनक्रान्तिले उनी पनि जेल मुक्त भएका थिए । भरखरै जेलबाट निस्केकाले हिंड्दा उनका पाइला टुङ्गामा नटेकिंदा उनी घरिघरि बतासिन्थे। अनि त्रिभुवनले विहेको कुरा चलाएताक अर्थात् २००८ साल मङ्सिर १ गते उनी मन्त्रीमा आसिन थिए।

२० वर्षजेलको पिंजडामा बसेर भरखरै निस्केका मान्छेको बिहेको कुरा राजाको मुखबाट एक्कैचोटि सुन्दा सुन्ने मान्छेलाई नै काउकुती लाग्थ्यो । तर पनि राजा त्रिभुवन रणविक्रम शाह समक्ष एकोहोरो बोलिरहे, ‘खड्मानलाई म जग्गा दिन्छु र घर पनि बनाइदिन्छु। हजुरले प्रजाराज्यलक्ष्मी दिनुपर्‍यो।’ साहेबज्यूलाई छोरी दिन राजाबाट झनै दवाव पर्‍यो। अनि शाहले कन्यादान गर्ने नै निर्णय गरे।

खड्गमान सिंहले राजा त्रिभुवन र प्रधानमन्त्री मात्रृकाप्रसाद कोइरालासमक्ष सिन्दूरपोते मात्र गरेर बिहे गर्ने इच्छा जनाए। सिंहको प्रत्युत्तरमा प्रधानमन्त्री कोइरालाले भने, ‘भरखरै राणा खत्तम भएका छन् । उनीहरूको हक जनताले पनि पाए भनी जनाउन पूरा सम्मानसाथ विवाह सम्पन्न गर्नुपर्छ।’

प्रजाराज्यलक्ष्मीदेवी शाहको र मन्त्री खड्गमान सिंहको विहे तडकभडकका साथ सम्पन्न भयो। त्यस विहेमा १७ तोपको सलामी पनि लाग्यो। त्यस रौनकले राजधानी नै उचालिएको थियो। एउटा सत्तलमा बस्ने टुहुरो र अनाथ मान्छेको राजा त्रिभुवनको दवावमा पृथ्वीनारायण शाहको वंशमा जन्मिएकी नारीसँग बिहे भयो।

त्यो बेहोराले ठूलो हलचल ल्याएको थियो। खड्गमान सिंहलाई नजान्ने र नचिन्नेले पनि प्रजाराज्यलक्ष्मीको सिन्दुर पोतेले चिनाउन थप मद्धत गरेको थियो । पछि यी दम्पत्तिले एक जना छोरा जन्माए- सुमनसिंह बस्नेत।

तत्कालीन समयमा साहेबज्यूका छोरीचेलीले स्कुल गएर पढ्ने चलन थिएन। त्यसैले महाकवि लक्ष्मीप्रसाद देवकोटाले प्रजाराज्यलक्ष्मीदेवीलाई घरमा गएर पढाउँथे। त्यसै परिवेशमा उनले नेपालबाट म्याटि्रक पास गरिन् र भारतको इलाहावादबाट आइए पास गरेकी थिइन्।

प्रजाराज्यको वैवाहिक जीवन कायम भएपछि उनी राजनीति र समाजसेवामा कस्सेर लागेकी थिइन्। आफ्ना पतिको रायसल्लाह स्वीकारेर उनी त्रिभुवन स्मारक समिति र तुलसीमेहर गान्धी स्मारक समितिमा पनि सक्रिय थिइन्।

प्रजाराज्य सानैदेखि जनमनमा भिज्न खोज्थिन्। त्यसैले विहेपछि उनी समाजसेवा र राजनीतिमा बराबरी सकृय थिइन् । उनी नेपाल महिला सङ्गठनमार्फ राष्ट्रको विधायक राष्ट्रिय पञ्चायतको सदस्य भइन्। त्यसैताक उनले उपाध्यक्षमा उमेद्द्वारी दिइन्। त्यतिबेला अरू पाँच जनाले पनि उमेद्द्वारी दिएका थिए । २०२५ साल असार १४ गते उनले त्यस पदको सिंहासन भेटेकी थिइँन् र उनी प्रथम राष्ट्रिय पञ्चायत उपाध्यक्षमा अभिलेखित नारी थिइन्।

प्रजाराज्यले नेपाल महिला सङ्गठनको सचिव भएर पनि धेरै काम गरिन्। उनी चाहे मेचीमा पुग्थिन् र चाहे महाकाली अञ्चल पुग्थिन् सबै ठाउँमा नारीहीतका लागि घूँडो र मुन्टो गर्थिन्। एउटा सम्पन्न परिवारमा जन्मिहुर्केकी भए तापनि उनी जनहृदयमा गाँसिएकी समाजसेवी थिइन् । उनी शिक्षणसेवालाई पनि अपरिहार्य मान्थिन् । त्यसैले उनले काठमाडौंको डिल्लीबजारस्थित पद्मकन्या विद्याश्रममा पनि निशुल्क रूपमा पढाएकी थिइँन्।

खड्गमान सिंह पञ्चायती अञ्चलाधीशमा पनि नियुक्त भए। नेपालका विभिन्न डाँडाकाँडामा आफ्ना पति जहाँजहाँ जान्थे प्रजाराज्य पनि त्यहीँत्यही पुग्थिन्। वास्तवमा त्यसै परिवेशमा उनले पनि नेपालका विभिन्न भूभाग कुल्चने मौका पाइन्। त्यति खेर उनले नारीहीत, नारीजागरण र नारी प्रौढशिक्षाका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेकी थिइन्। उनैले प्रौढ नारी शिक्षाका लागि नन्दी रात्री विद्यालयको स्थापना गरिन् र नन्दी विद्यालय खोल्नका निम्ति पनि गुरुत्तर भूमिका निभाइँन्। उनीसँगै नारीजागरणमा हिंड्ने कमल राणाका अनुसार ‘प्रजाराज्यले राष्ट्रहीतका लागि जुन काम गरिन् मन, वचन र कर्मले नै गरिन्।’

प्रजाराज्य आफ्ना पति राजदूत भएपछि सँगसँगै नारिएर होस् या आफ्नै नेतृत्वमा होस् आयरल्यान्ड, जर्मनी, बेलायत, इजरायल, पाकिस्तान, इरान र टर्की पनि पुगिन् । यी जहाँजहाँ जान्थिन् नेपाली महिलाको हक, हीत र मर्यादाको विषयमा नै केन्द्रित हुन्थिन्। भद्रकुमारी घलेका अनुसार ‘आफ्नो समयमा प्रजाराज्यलक्ष्मीको जनस्तरदेखि अन्तर्राष्ट्रिय स्तरसम्मको आफ्नै परिवेशको पहुच थियो। यतिहुँदाहुँदै पनि उनी सादा जीवन र उच्च विचारले कुँदिएकी विरङ्गना थिइँन्।’

प्रजाराज्य नेपाली जनताको व्यथालाई पढेकी थिइन् । त्यसैले आफ्नो चेतनाको विकास हुन थालेपछि उनी राणाको अन्त्यका लागि प्रार्थना गर्थिन् । उनी हक्की पनि थिइन् । उनीमा दया, करुणा र स्नेह भरिएकी थिइन्। उनी सानैदेखि तीक्ष्ण स्वभावले कुँदिएकी थिइन्। उनी सिलाइबुनाइमा आफ्नो सीप पोख्थिन् । साथै उनी व्याडमिन्टन र बुद्धिचाल खेलमा खुबै रुचि राख्थिन्।

प्रजाराज्य सादा थिइन्। खड्गमानसँग बिहे गरेपछि उनी झनै सादामा रूपान्तरित भइन्। किनभने उनका पति सादा जीवन र उच्च विचारका सग्लो नमुना थिए। त्यसैले उनी झनै नरम बोलीचालीमा अनुवाद हुन थालिन्। साथै दान, धर्म र त्याग उनको जीवनको नैर्सर्गिक विशेषता थियो।

रणविक्रम शाह र रणराज्यलक्ष्मी शाहकी एउटै छोरी प्रजाराज्यलक्ष्मी १९८० सालमा काठमाडौंमा जन्मेकी थिइन्। अनि उनले आधा शताब्दीजति मात्र पृथ्वीमा जीवनभोग गरिन्। घाँटीमा क्यान्सर उब्जेका कारणले उनले आफ्नो रचनात्मक कार्य धेरै गर्न भ्याइनन्।
naiprasai@gmail.com

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
 
 

About the author

More posts by