Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

अमरको जीवन रक्षाका लागि नेपाल सरकारसंग आग्रह

एचकेनेपाल डट कम संवाददाता-
काठमाडौं, २७ बैशाख। दुबईमा मृत्यूदण्डको सजाय सुनाईएका नेपाली नागरिक अमरबहादुर बमको जीवन रक्षाका लागि पहल गर्न नयाँ नेपाल अभियानले नेपाल सरकारसंग आग्रह गरेको छ।

नयाँ नेपाल अभियानले प्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई ज्ञापन पत्र लेख्दै ध्यानाकर्षण गराएको हो।

पत्रमा परराष्ट्र मन्त्रालय काठमाण्डौं र दुबईका तत्कालीन राजदूत अमरबहादुर थापा लगायतका विभिन्न निकायमा हार गुहार गर्दा पनि सुने नसुने झै गरिएको र हाल सम्म सरकारी स्तरबाट कुनै पहल नभएको उल्लेख गर्दै अमरको जीवन रक्षाका लागि कदम चाल्न सरकार समक्ष अनुरोध गरेको छ।

भारतीय नागरिक शरद सेठ्ठीको हत्यामा संलग्न भएको अभियोगमा मृत्युदण्डको सजाय सुनाइएका बम निर्दोष रहेकाले परिवारले जीवनरक्षा गरिदिन सरकार, कूटनीतिक नियोग र नागरिक समाजसँग आग्रह गर्दै आएको छ।

ज्ञापन पत्र
सम्माननीय प्रधानमन्त्री डा. बाबुराम भट्टराईज्यू
प्रधानमन्त्रि तथा मन्त्रिपरिषद्को कार्यालय,
सिंहदरवार, काठमाण्डौं ।

विषयः अमरको जीवन रक्षाको लागि सरकारको ध्यानाकर्षण ।

दार्चुला जिल्ला धारी गाविस घर भई रोजगारीको शिलशिलामा ९ बर्ष अघि दुबई पुगी हाल दुबईमा मृत्यूदण्डको सजाय सुनाईएका ३४ वर्षीय अमरबहादुर बमको जीवन रक्षाका लागि पहल गर्न नेपाल सरकारको ध्यानाकर्षण गराउन चाहन्छौं।

सो घट्ना सम्बन्धमा परराष्ट्र मन्त्रालय काठमाण्डौं र दुबईका तत्कालीन राजदूत अमरबहादुर थापा लगायतका विभिन्न निकायमा हार गुहार गर्दा पनि सुने नसुने झै गरिएको र हाल सम्म सरकारी स्तरबाट कुनै पहल नभएको भन्ने जानकारी पाउंदा नेपाली नागरिकको हैसियतमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ।

तत्संबन्धमा, हार गुहार गर्न अमरबहादुरकी पत्नी धनमती बम र उनका पिता ६८ वर्षीय कर्णबहादुर बम र काठमाण्डौ आउनुभएको र प्रवासी नेपाली समन्वय समिति लगाएतका संस्थाहरुले अमरलाई बचाउन विभिन्न कोशिस गर्नु भएको छ र हामी सबै अमरको जीबन रक्षाको आशामा छौं।

त्यसैले, आफ्नो नागरिकको जीवन रक्षालाई प्राथमिकतामा राखि आजै अमरको जीवन रक्षाका लागि कदम चाल्न सरकार समक्ष अनुरोध गर्दछौं। अमर जस्ता नागरिकको जीवन रक्षा गरे न सरकार, राजनैतिक दल र नेताको कर्तब्य पुरा हुन्छ, न बैदेशिक रोजगारबाट निरन्तर रेमिट्यान्स आउंछ र न मुलुक अग्रगमनमा जान सक्छ, न नयाँ नेपालको कल्पना गर्न सकिन्छ। तसर्थ, राजनैतिक मुद्धाहरु त महत्वपूर्ण छंदैछन्, नागरिकको जीउधनको रक्षाको लागि पनि राज्य जिम्मेवार भै काम गर्न नागरिकको तर्फबाट अपिल गर्दछौं।

पहलको लागिः
श्री प्रचण्ड, अध्यक्ष, एनेकपा माओवादी,
श्री शुसिल कोइराला, सभापति, नेपाली कांग्रेस,
श्री झलनाथ खनाल, अध्यक्ष, एमाले,
श्री अध्यक्ष, राष्ट्रिय मानवअधिकार आयोग,
श्री परराष्ट्र मन्त्रालय, नारायणहिटी, काठमाण्डौ,
श्री श्रम सचिव, श्रम मन्त्रालय, सिंहदरवार,
श्री युवा तथा बैदेशिक रोजगारका क्षेत्रमा काम गर्ने संस्थाहरु,
श्री नागरिक अधिकार र मानवअधिकारमा काम गर्ने संस्थाहरु,
श्री नेपाल बार एशोसिएसन, काठमाण्डौं ।
श्री अमर बचाउ अभियानको सचिवालय, प्रवासी नेपाली समन्वय समिति -४७७०७७५)
श्री प्रधानन्यायाधिश, सर्वोच्च अदालत ।

सम्बद्ध नागरिकहरुको तर्फबाट

कविन्द्र बुर्लाकोटी
राष्ट्रिय संयोजक
नयाँ नेपाल अभियान

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
 
 

About the author

More posts by