सन्तोष काफ्ले / एचकेनेपाल डट कम-
धरान, २५ वैशाख । मुलुकमा लोकतन्त्र आएपछि पनि सञ्चारकर्मीहरु सुरक्षित नरहेको एक कार्यक्रममा सहमागी सञ्चारकर्मीहरुले बताएका छन्।
महिला सञ्चारकर्मी मनिता चाम्लिङ्गद्वारा सम्पादन/प्रकाशन गरेको दिव्य रोशनी साप्ताहिकको आठौ बार्षिक साधारण सभाको अवसरमा सञ्चारकर्मीहरुले सो कुरा बताएका हुन्।
पत्रकार महासंघ सुनसरीका सभापति केशव घिमिरेले २०६२/०६३ को आन्दोलनमा सक्रिय सञ्चारकर्मीहरुमाथि नै लोकतन्त्र वहालीपश्चात अझ असुरक्षित भएको बताउनुभयो। उहाँले राज्यले सञ्चारकर्मीको सुरक्षामा कुनै किसिमको सुरक्षा नीति अवलम्बन नगरेकै कारण खुलेर काम गर्न कठिनाई भएको समेत स्पष्ट पार्नुभयो।
यस्तै बरिष्ठ पत्रकार हर्ष सुब्बाले नेपाली प्रेस जगत अहिले दिनप्रति असुरक्षित हुदै गएको अवस्थाम प्रेस क्षेत्रमा महिलाहरुको उपस्थिति न्यून रहेको बताउनुभयो। उहाँले सम्पादक/प्रकाशक मनिता चाम्लिङ्गको एकल प्रयासले पत्रिका सञ्चालन भइरहेको बताउनुहुदै महिला सञ्चारकर्मीलाई राज्यले प्रोत्साहन गर्नुपर्ने आवश्यकता रहेको औल्याउनुभयो। उहाँले सञ्चारमाध्यममा अझै समावेशी हुन नसकेको बताउदै महिला सञ्चारकर्मीहरु ठूला मिडियाहरुले उपेक्षित गर्दै आरोप लगाउनुभयो।
यस्तै सञ्चारकर्मी महेश श्रेष्ठले ठूला अखबारहरुले पत्रकारहरुलाई मुल्यांकन गर्न नसकिरहेको अवस्थामा दिव्य रोशनी जस्तो मोफसलको पत्रिकाले सञ्चारकर्मीको योगदानको कदर गर्दै सम्मान समेत गरेकोमा धन्यवाद ज्ञापन गर्नुभयो। उहाँले ठूला मिडियाहरुभन्दा मोफसलका साना सञ्चारमाध्यमले राज्यको सूचना दिने काममा महत्वपूर्ण भूमिका खेल्दै आएको भए पनि राज्यबाट भने उपेक्षित भएको बताउनुभयो।
यसैगरी, पत्रकार एवम् लेखक गोपाल देवानले सञ्चार क्षेत्रमा महिलालाई अवसर प्रदान गर्नुपर्ने बताउनुभयो। उहाँले विश्वका अन्य मुलुकको दाजोमा महिला सञ्चारकर्मीलाई राज्यले सधै उपेक्षा गरेको समेत आरोप लगाउनुभयो।
वार्षिकोत्सवको अवससमा अग्रज पत्रकार हर्ष सुब्बा र संचारकर्मी निलिफा सुब्बालाई सामाजिक पत्रकारिता क्षेत्रमा योगदान पुर्याएवापत सम्मान गरिएको छ भने पत्रकार महेश श्रेष्ठलाई सृजनशील पत्रकारिता पुरस्कारसँगै सम्मान गरिएको छ उहाँहरुलाई जनही ५ हजार ५ रुपैया सम्मानपत्र प्रदान गरिएको थियो। शिक्षा क्षेत्रमा योगदान पुर्याएपावत तर्फ पर्वत सेकेण्डरी बोर्डिंग स्कुलका भिष्मा चेम्जोङ, सल्लाहकारद्धय इश्वर श्रेष्ठ र सिद्धकुमारी थेवेलाई सम्मानित गरिएको छ।
हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस