राजेन्द्र अधिकारी / एचकेनेपाल डट कम-
पोखरा, २४ बैशाख । शुक्रबार दिनभरि देशमा सरकार विहिनको जस्तो अवस्था भयो। गृहमन्त्रीले राजीनामा दिईसकेका थिए। र, गृहमन्त्रालय राजनीतिक नेतृत्वविहिन थियो। त्यसैगरी रक्षामन्त्रीले पनि राजीनामा दिएका थिए। रक्षामन्त्रालय पनि राजनीतिक नेतृत्वविहिन नै बने।
तर पोखरामा कार्यरत सुरक्षाकर्मीहरुलाई भने रातभरी जाँड खाएर नाच्नमैं मस्त रहे। पोखरा अहिले जातीय सद्भाव खलबलिने विन्दू बनेको छ।
तीन दिने तमुवान जातीय राज्य माग गर्नेहरुको विरोध सभा र र्याली सकिन नपाउँदै लगत्तै क्षत्री समाज, ब्राहृमण समाज र दशनामीहरुको संयुक्त संर्घष समितिले त्यसको विरुद्ध विशाल जनर्याली प्रदर्शन गरेको थियो। यस्तो अवस्थामा पोखरामा रहेका सुरक्षाकर्मीहरुलाई भने रात बिताएर रोदी खेल्ने अवसर जुट्यो।
जतिबेला जहाँ जे पनि हुन सक्ने अहिलेको जोखिमपूर्ण परिस्थितिमा समेत पोखरामा रहेका सुरक्षा निकायका प्रमुखहरु मोजमस्ती गर्दै गाउँमा हराएपछि प्रधानमन्त्री डा.बाबुराम भट्टराईले उनीहरुलाई खबरदारी गर्दै फोन गरेरै भएपनि हकारेका छन्।
शुक्रबार कास्की जिल्लाको ल्वाङघलेल गाविसमा पुगेका पोखराका सुरक्षा निकायका प्रमुख, कलाकार, पत्रकार र पर्यटन व्यवसायीहरु रातभर जाँडरक्सी खाई दुइबजेसम्म मोज मस्ती गरिरहेका थिए। राति अबेला सुतेका सुरक्षा निकायका प्रमुखहरु बिस्ताराबाट उठ्न नपाउँदै कास्कीमा ठूलो घटना घट्यो। उनीहरु निदाएकै क्षेत्रतिर सेती नदीमा एक्कासी ठूलो पहिरो जाँदा पुरिएर बनेको ताल एक्कासी फुट्दा एउटा बजार नै ध्वस्त भयो। जसमा दुइदर्जन भन्दा बढि मानिसहरु मारिए भने ३५ जना भन्दा बढि वेपत्ता भए।
पोखराका चर्चित गणेश भट्टराईले व्यक्तिगत खर्चमा आयोजना गरेको कार्यक्रममा पृतनापति भिक्टर शमशेर जबरा, जनपद प्रहरीका डिआईजी राजेन्द्रसिंह भण्डारी, सशस्त्र प्रहरीका डिआईजी प्रेम शाही, कास्कीका प्रमुख जिल्ला अधिकारी चेतनाथ भट्टराई, सशस्त्र प्रहरी केन्द्र लामपाटनका एसएसपी नारायणबाबु थापा, सशस्त्र प्रहरी कालिका गणका प्रमुख एसपी शम्भु उप्रेती, कवि तीर्थ श्रेष्ठ, डा.विश्वकल्याण पराजुली, डा.कृष्ण केसी, कलकार बुद्धी गुरुङ र सञ्चारकर्मीहरुको टोली रमाईलोका लागि कास्कीको उत्तरी भेगतर्फलागेको थियो। केही त दुइ दिनसम्म पनि पोखरामा फर्किएका छैनन्।
गुरुङवस्तीमा आयोजना गरिएको कार्यक्रममा मोजमस्तीका लागि सबै कुराहरुको व्यवस्था आयोजकहरुले मिलाएका थिए। गुरुङवस्तीको नाचगान र जाँडरक्सीको चाँजोपाँजो स्थानीय व्यवस्थापन समितिका संयोजक राजेन्द्र तमुले गरेका थिए। अहिलेको स्थितिमा गृहमन्त्री नभएको बेलामा रत्यौंलीमा लुठो नाचे झैं सुरक्षा निकायका प्रमुखहरु रमाईलोमा बहकिँदा प्रधानमन्त्रीको रिसको पारो निकै माथि चडेको स्रोतले जानकारी दियो। तत्तपश्चात् सुरक्षा निकायका प्रमुखहरु पोखरा झरेका थिए। जतिबेला पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल पोखरामा नै थिए। शान्ति सुरक्षाका जिम्मेवार व्यक्तिहरु नै यसरी मोजमस्तीका नाममा हराएका थिए।
हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस