अपडेटः सेतीमा मर्ने संख्या ३१ पुग्यो, अझै ४० बेपत्ता
एचकेनेपाल डट कम संवाददाता-
पोखरा, ३१ बैशाख। सेती नदीमा आएको बाढीले बगाएर मृत्यु हुनेको संख्या ३१ पुगेको छ। पर्वत लेखफाँट ७ का ५९ वर्षीय कुमबहादुर पुन, पोखरा-१ सिम्पानीका २८ वर्षीय जंगु मगर र तनहूँ ढोरफिर्दी ३ का ४९ वर्षीय मानध्वज तामाङको शनिवार सनाखत भएपछि मृत्यु हुने संख्या ३१ पुगेको हो। कास्की प्रहरी प्रवक्ता निरीक्षक रवीन्द्र पौडेलले अझै ६ जनाको सनाखत हुन नसकेको बताए। प्रहरीका अनुसार अझै ४० बेपत्ता छन्।
अपडेटः हिमपहिरोको बाढीले ७ करोडको नोक्सान
एचकेनेपाल डट कम संवाददाता-
पोखरा, २८ बैशाख। गत शनिवार सेती नदीमा आएको बाढीले करीव ७ करोडको क्षति पुर्र्याएको छ। बाढीबाट ४ करोड ९६ लाख २८ हजार रुपैंयाँ बराबरको सार्वजनिक र १ करोड ७६ लाख ७ हजार रुपैया बराबरको नीजि सम्पत्ति नोक्सान भएको छ।
जिल्ला विपद् व्यवस्थापन समिति, जिल्ला प्रशासन कार्यालय र जिल्ला विकास समिति कास्कीले उक्त विवरण सार्वजनिक गरेको हो।
विवरणका अनुसार बाढीबाट १९ वटा घर, ३ वटा झोलुङ्गे पुल, ८ वटा पाटीपौवा, २ वटा पानी घट्ट, ४५ मिटर पाईप सहित खानेपानीको ट्रस ब्रिजमा क्षति पुगेको छ। बाढीले माछापुच्छ्रे गाविसको १ सय ४४ रोपनी खेतीयोग्य जमिन बगरमा परिणत भएको छ। त्यसैगरी, मर्दीको मुहानबाट पोखरासम्म ल्याएको खानीपानीको पाइप र ट्रष्ट ब्रिजमा क्षति पुर्याएको छ। यसको मर्मत गर्न कम्तीमा १ करोड १७ लाख खर्च लाग्ने जनाएको छ।
बाढीमा बगेर बेपत्ता ४३ मध्ये विहीवार एक जनाको सनाखत भएको छ। हेम्जा गाविस १ मा बसेर मजदुरी गर्दै गरेका ५२ वर्षीय कविन्द्र इङ्नाम लिम्बूको खुट्टा मात्र भएकोले उनकी छोरीले खुट्टाबाट सनाखत गरी जिम्मा लिएकी हुन्।
प्राप्त शवमध्ये हालसम्म २१ वटा शवको मात्र सनाखत भएको छ। सनाखत भएका शवहरू आफन्तले बुझिसकेका छन्। यो सहित बाढीमा परी मर्नेको सङ्ख्या २८ पुगेको छ। बाढीमा परेर अझै ४२ जना बेपत्ता छन्।
तस्विरः उमेश पुन/ एचकेनेपाल डट क
अपडेटः हिमपहिरोको बाढीले बगाएको थप १ शव भेटियो
उमेश पुन/ एचकेनेपाल डट कम-
पोखरा, २७ बैशाख। सेती बाढीमा परी बेपत्ता हुनेहरूको खोजी कार्य घटनाको पाँचौं दिनसम्म पनि जारी छ। उद्धार टोलीले बाढी प्रभावित क्षेत्रमा डोजर र तालिमप्राप्त कुकुरसहित बेपत्ताको खोजी गरिरहेको छ।
मंगलवार थप पाँच र बुधवार थप १ जनाको शव फेला परेको प्रहरीले जनाएको छ। यो सहित बाढीमा परी मर्नेको सङ्ख्या २७ पुगेको छ। बुधवार भेटिएको शव पर्वत लेखाफाँटका ५९ वर्षीय कुमबहादुर पुन रहेको प्रहरीले जनाएको छ।
प्राप्त शवमध्ये हालसम्म २० वटा शवको मात्र सनाखत भएको छ। सनाखत भएका शवहरू आफन्तले बुझिसकेका छन्।
यसरी उर्लेथ्यो बाढी (तस्विरमा)
सेती नदीमा शनिवार अचानक बाढी उर्लिएर आउन थाल्दा कास्कीको खारापानी बजार (तल) । यो तस्वीर खिचेको केही मिनेटमा यहाँ देखिएका सबै घर (माथिको रेष्टुरेण्टबाहेक) बगायो। तस्वीरमा देखिका केही व्यक्तिसमेत भाग्दाभाग्दै बेपत्ता भए। पहिलो तस्विर खारापानीमा पिकनिक गएका पोखराको ला-ग्राण्डी इन्टरनेसल कलेजका विद्यार्थी शिव आचार्यले खिचेका हुन्। उनी सेतीपारि पिकनिकस्थलमा रहेका बेला आएको बाढीले दाउरा लिन खारापानी बजार झरेका सहपाठी आर्जना श्रेष्ठ र चेतबहादुर थापालाई बगाएको थियो। आर्जनाको शव सोही दिन पोखरामा भेटिएको थियो भने थापा अझै बेपत्ता छन्। तस्विरहरूः शिव आचार्य साभार नागरिक र कान्तिपुर।
बाढीले बगाएर मर्नेको संख्या १७ पुग्यो, खोजी कार्य जारी
एचकेनेपाल डट कम संवाददाता-
पोखरा, २४ बैशाख। अन्नपूर्ण हिमऋंखलामा शनिवार बिहान भीषण हिमपहिरोपछि बाढीले बगाएर मर्नेको संख्या १७ पुगेको छ। आइतबार थप दुई शव फेला परेको प्रहरीले जनाएको छ। सनाखत भएका १२ शव आफन्तले अन्तिम संस्कारका लागि बुझिसकेका छन्। बाढीले बगाएर अझै ४७ जना बेपत्ता छन्। उनीहरूको खोजी भइरहेको जनाएको छ।
हिमपहिरो बगेपछि पोखरास्थित रामघाटमा बढेको पानी। तस्वीरहरूः सुदर्शन रञ्जित र उमेश पुन /एचकेनेपाल डट कम
मृत्यु हुनेहरूमा खारपानीका ७७ वर्षीय गोपाल ताम्राकार र उनकी बुहारीको मात्र सनाखत भएको छ। मृत्यु हुनेहरूको शव सेतीनदी किनार, लामाचौर, खारापानी, हेम्जाको माथिल्लो याम्दी, तल्लो याम्दीमा फेला परेको प्रहरीले जनाएको छ।
हिमपहिरोको बाढीले भुर्जुङखोला क्षेत्र ज्यादा मारमा परेको छ। बाढीले बगाएर भुर्जुङ्गखोलाको तातोपानीस्थित एक गाउँनै बगाएको त्यहाँ पुगेका सञ्चारकर्मी माधव वरालले बताएका छन्। हिमपहिरोले माछापुच्छ्रे गाविसका केही वस्ती र सार्दीखोला गाविस वडा नम्वर ७ र ९ मा गरी ३० घर बगाएको माछापुच्छ्रे गाविस सचिव तोयानाथ आचार्यले जानकारी दिएका छन्।
हिमपहिरोको बाढीले ४ वटा ट्रक, एउटा स्कूल बस र खारापानीस्थित बसपार्कमा रहेका तीन वटा ट्याक्टर बगाएको छ। पहिरोमा बेपत्ता भएका तीन रसियन पर्यटकको मृत्यु भएको आशंका गरिएको छ। स्याङ्जाबाट बनभोजका लागि आएका १६ जनामध्ये दुई जना बेपत्ता भएका छन्।
विहान करीव ९ बजे खसेको हिमपहिरोले निकै ठूलो मानवीय तथा भौतिक क्षति हुनसक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको छ। हिमपहिरोले बगाएर ल्याएको तीन जनाको उद्धार गरिएको छ। उनीहरूको मणिपाल अस्पतालमा उपचार भइरहेको कास्की जिल्ला प्रहरी प्रवक्ता रवीन्द्र पौडेलले बताएका छन्।
यसैबीच, प्रधानमन्त्री प्रधानमन्त्री बाबुराम भट्टराईले उद्धारका लागि सबै स्रोत र साधान परिचालन गर्न निर्देशन दिएका छन्। उद्धारका लागि नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बल र स्थानीयहरु त्यसतर्फ प्रस्थान गरेका छन् भने हेलिकप्टर पनि प्रयोग गरिएको छ।
…
तस्वीरहरूः सुदर्शन रञ्जित र उमेश पुन /एचकेनेपाल डट कम
CLICK HERE TO VIEW MORE PHOTOS