एचकेनेपाल डट कम संवाददाता-
काठमाडौं, २२ बैशाख । नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति बैरागी काइँला, स्रष्टा उषा शेरचन र प्रा.डा. उषा ठाकुरले विविध क्षेत्रमा समर्पित भई आआफ्ना ठाउँबाट प्रतिष्ठा आर्जन गर्ने राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रका सात जना व्यक्तित्वलाई शुक्रबार २०६९ सालको नइ पुरस्कार प्रदान गर्नु भयो।
नइ प्रकाशनका पुरस्कार संस्थापक खनूप्रुदे रामबाबू अस्वस्थ हुनु भएकाले समारोहमा उपस्थित हुनुभएन। तीन लाख रूपियाँ राशिको ‘नइ देरूख अन्तर्राष्ट्रिय पुरस्कार’ संयुक्तराज्य अमेरिकाको कोलम्बिया विश्वविद्यालयका मानवशास्त्री प्रा.डा.थियोडोर रिकार्डीलाई प्रदान गरियो। यो पुरस्कार विशिष्ठ प्रतिष्ठा आर्जन गर्ने विदेशी नागरिकलाई हरेक वर्ष प्रदान गरिन्छ।
यसैगरी, दुई लाख रूपियाँ राशिको ‘नइ देरूनीख अन्तर्राष्ट्रिय पुरस्कार’ भारतीय नेपाली साहित्यकार प्रा.लीलबहादुर क्षेत्रीलाई प्रदान गरियो। यो पुरस्कार नेपालीगोर्खाली मुलका विशिष्ठ प्रतिष्ठा आर्जन गर्ने विदेशी नागरिकलाई हरेक वर्ष प्रदान गरिन्छ।
समारोहमा पत्रकार, शिक्षासेवी तथा अक्षरशिरोमणि मदनमणि दीक्षितलाई एक लाख रुपियाँ राशिको ‘नइ खरा सुकीर्ति पुरस्कार’ प्रदान गरिएको थियो। त्यसैगरी, महाकवि लक्ष्मीप्रसाद देवकोटाका गणेशका नाउँले सुपरिचित साहित्यकार पं.श्यामदास वैष्णवलाई पचास हजार रूपियाँ राशिको ‘नइ खरा प्रदीप्ति पुरस्कार’ प्रदान गरियो।
दृश्यविहीन भएर पनि सामाजिक जागरणमा समर्पित कुमार थापालाई पचास हजार रूपियाँ राशिको ‘नइ खरा सुरभि पुरस्कार’ प्रदान गरियो। गीत गायन तथा समाजसेवामा मन, वचन र कर्मले जागरुक आनी छोइङ डोल्मालाई पच्चीस हजार रुपिया राशिको ‘नइ खरा गौरव पुरस्कार’ प्रदान गरियो।
प्रथम मिस तराई, मानवअधिकार कर्मी तथा पत्रकार प्रसून सिंहलाई पन्ध्र हजार रुपियाँ राशिको ‘नइ खरा पौरख पुरस्कार’ प्रदान गरियो।
नइ प्रकाशनका अध्यक्ष इन्दिरा प्रसाईको अध्यक्षतामा सम्पन्न समारोहमा पुरस्कृत व्यक्तित्वहरु, नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति बैरागी काइँला, उपकुलपति गंगाप्रसाद उप्रेती, संयुक्त राज्य अमेरिकाकी समाजशास्त्री तथा नारीअधिकारकर्मी एलेन कुन र नइ प्रकाशनका सदस्यसचिव नरेन्द्रराज प्रसाईले मन्तव्य दिनु भयो।
नइ प्रकाशनले राष्ट्रिय र अन्तर्राष्ट्रिय पुरस्कार छनौटका लागि नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति बैरागी काइँलाको संयोजकत्वमा दार्जीलिङ भारतका डा.इन्द्रबहादुर राई, लण्डन विश्वविद्यालयका प्रा.डा.माइकल हट, त्रिभुवन विश्वविद्यालयका प्रा.डा.सुरेन्द्र केसी र नरेन्द्रराज प्रसाई सदस्य रहनु भएको निर्णायक समिति गठन गरेको थियो। सोही समितिको सिफारिसमा पुरस्कृत व्यक्तित्वको चयन गरिएको थियो।
हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस