Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

५ बुंदेमा सहमति, जेठ १४ अघि नै कांग्रेस सरकार

एचकेनेपाल डट कम संवाददाता-
काठमाडौं, २२ बैशाख । तीन दल र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीच मध्यरातिसम्म भएको छलफलपछि पाँच बुंदे सहमति भएको छ।

सहमतिका अनुसार दुई दिनभित्र प्रधानमन्त्री बाबुराम भट्टराईकै नेतृत्वमा सहमतिको सरकार निर्माण गर्ने, जेठ १४ अघि नै प्रधानमन्त्री भट्टराईले राजिनामा दिने र कांग्रेसको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठन हुने भएको छ।

दलका शीर्ष नेताहरू पुष्पकमल दाहाल ‘प्रचण्ड’, सुशील कोइराला, झलनाथ खनाल र विजयकुमार गच्छदारद्वारा हस्तक्षरित पाँच बुंदे सहमतिपत्रमा २०६९ साल जेष्ठ १४ गते अगावै नयां संविधान घोषणा गरिने जनाइएको छ।

यसअघि, सहमतिलाई मार्गप्रशस्त गर्न प्रधानमन्त्रीबाहेक मन्त्रिमण्डलका सबै सदस्यले राजीनामा दिइ सकेका छन्।

हेर्नुहोस् राजनीतिक दलहरुका बिच भएको सहमति
२०६८ साल कार्तिक १५ गते भएको सात बुंदे सहमति बमोजिम संविधान निर्माण कार्यलाई सम्पन्न गर्न तथा राष्ट्रिय सहमतिको सरकार गठन गर्न राजनीतिक दलहरुका बिचमा निम्नलिखित सहमति भएको छ:

१) बर्तमान मन्त्रिपरिषद्का सवै सदस्यहरुले राजीनामा गरिसकेको वर्तमान स्थितिमा दुई दिन भित्र विगतमा भएको सात बुँदे सहमति बमोजिम प्रधानमन्त्री डा. बावुराम भट्टराईको नेतृत्वमा सहमतिको नयाँ सरकार गठन गरिने छ।

२) संविधान निर्माणका क्रममा देखिएका राज्यको पुनःसंरचना, शासकीय स्वरुप लगायतका सवै विषयहरुलाई तीन दिन भित्र सहमतिमा टुंग्याईने छ। सहमति हुन नसकेका विषयहरुलाई प्रक्रियाबाट निर्णयमा लगिने छ।

३) २०६९ साल जेष्ठ १४ गते अगावै नयां संविधान घोषणा गरिने छ। संविधान घोषणा गर्नु अघि बर्तमान प्रधानमन्त्रीले राजीनामा गरी नेपाली कांग्रेसको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठन गरिने छ। यो सरकारले एक बर्ष भित्र राष्ट्रिय आम निर्वाचन सम्पन्न गराउने छ।

४) शान्ति प्रक्रियाका बाँकी कामहरु बिगतका सहमति बमोजिम अविलम्व सम्पन्न गरिने छ।

५) संविधान निर्माणको कामलाई तीब्रता दिन राजनीतिक दलका शीर्ष नेताहरुको नियमित रुपमा बैठक गरिने छ।

पुष्पकमल दाहाल ‘प्रचण्ड’, सुशील कोइराला, झलनाथ खनाल, विजयकुमार गच्छदार
मिति- २०६९।१।२१

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
 
 

About the author

More posts by