भाष्कर अर्याल / एचकेनेपाल डट कम-
स्कटल्याण्ड, अर्गनाइजेशन फर नेपलिज कल्चर एण्ड वेलफेयर (ओएनसीडब्लु)को आयोजनामा हालै स्कटल्याण्डको एबरडिनमा मेघा कल्चर इभेन्ट २०१२ भब्यतापूर्वक सम्पन्न भएको छ।
कार्यकममा नेपाली चलचित्र उद्योगका महानायक राजेश हमाल, प्रसिद्ध हास्य कलाकारहरु दीपकराज गिरी र दीपाश्री निरौला, युवा गायक हिमाल सागरको प्रस्तुति रहेको थियो।
दर्शकसंग नाँच्दै महानायक राजेश हमाल। तस्वीरः भाष्कर अर्याल / एचकेनेपाल डट कम
महानायक हमालले आफ्ना प्रसिद्ध सम्वादहरु सुनाएका थिए भने नृत्यहरु प्रस्तुत गरेका थिए। बाझो खेतमा बोलको गीतमा महानायक हमाल दर्शकहरुसँगै नाचेका थिए। यस्तै हाँस्य कलाकार दीपकराज गिरी र दीपाश्रीले एयरर्पोट भन्सार प्रस्तुत गरेका थिए। कलाकार गिरीले आफ्नो एकल प्रस्तुतिमा विभिन्न राजनीतिज्ञहरुको क्यारिकेचर गर्नुको साथै नेपाली गीत संगीत र गायकगायिकाहरुको बदलिंदो संगीतप्रति ब्यंग्य हानेका थिए। दीपाश्री निरौलाले भने नृत्यहरु प्रस्तुत गरेकी थिइन्।
कार्यक्रमको अर्को आकर्षण गायक हिमाल सागरले आफ्ना चर्चित आधार्दजन गीतहरु सुनाउँदै दर्शक नचाएका थिए। कार्यकममा आयोजक ओएनसीडब्लुले अतिथि कलाकारहरुलाई स्कटिश टार्टन उपहार दिएका थिए। कार्यक्रममा स्थानीय नेपाली कलाप्रेमीहरुको पनि प्रस्तुति रहेको थियो। सरस्वती स्यानद्यानको कोरियोग्राफीमा नेपालको विविध संस्कृति झल्किने पहिरन र संगीतको सामूहिक प्रस्तुतिलाई विशेष मन पराइएको थियो।
यस्तै विभु पौडेल, दीपेश रेग्मी, रेणुका उप्रेतीले गीत गाएका थिए भने सुरेन्द्र माकाजुले गितारमा सहयोग पु्र्र्याएका थिए। कार्यक्रममा देवी गुरुङ, सबिना सुवेदी,प्रकृति भट्ट, अनुशुया बोहोरा, मोनिका सापकोटा आस्था ढकाल, अंशु भण्डारी, सर्वज्ञा भुर्त्याल, संसारा स्यानदान, आयुष्मा स्यानदान लगायतको आर्कषक नृत्य रहेको थियो। ठूलो संख्यामा डण्डी र एडिनब्रा बस्ने नेपालीहरु पनि कार्यक्रम हेर्नकै लागि एबरडिन आएका थिए। आयोजक संस्था ओएनसीडब्लुका अध्यक्ष दीपेश रेग्मीले छोटो समयको बावजुद भब्यतापूर्वक कार्यक्रम भएकोमा खुशी प्रकट गर्दै कार्यक्रमलाई सहयोग पु्र्याउने सबैलाई धन्यवाद दिएका थिए।