एचकेनेपाल डट कम संवाददाता-
काठमाडौं, १९ बैशाख । विभिन्न सिङ्गिङ रियालिटी शोहरूमा आफ्ना प्रतिभाका अभूतपूर्व कला र गला प्रस्तुत गरेर देशविदेशमा चर्चा बटुलेका गायकहरूको स्वर एउटै म्युजिक एल्बममा समेट्ने क्रममा हालै इन्डियन आइडल ३ प्रशान्त तामाङको स्वर पनि रेकर्ड भएको छ।
सिक्किमका कलाप्रेमी युवा सुरेश लामा निर्माता रहेको म्युजिक एल्बम ‘सम्मान’मा पछिल्लो पटक प्रशान्त तामाङको समेत स्वराङ्कन भएको हो।
प्रशान्त तामाङको व्यस्तताका कारण भर्खरैमात्र गीत रेकर्ड भएको निर्माता सुरेश लामाले एचकेनेपाल डट कमलाई जानकारी दिए। प्रशान्त तामाङको गीत काठमाडौंस्थित पर्पल स्टुडियोमा रेकर्ड भएको हो, लामाले भने।
निर्माता सुरेश लामाका अनुसार सम्मान म्युजिक एल्बममा इन्डियन आइडल ३ प्रशान्त तामाङ, इन्डियन आइडल ४ रनरअप कपिल थापा, साउथ एशियन सुपरस्टार (नेपाल) असुशेन लामा, जी टिभि सारेगामा सिङ्गिङ सुपरस्टार कर्मा शेर्पा, स्टार प्लस छोटे उस्ताद प्रगति गिरी, नर्थ इष्टका सुपरस्टार रेमन्ति राई, हिमालयन आइडल बनिका प्रधान र सिक्किमका गंगा मुखियाका स्वरहरू समेटिने छन्। नेपाली आइईलहरूप्रति सम्मान व्यक्त गर्न सम्मान गीति एल्बम तयार गरिन लागेको लामाले बताए।
तामाङ मिडिया एण्ड मार्केटिङ चावाहिल काठमाण्डूले बजार व्यवस्थापन गर्ने उक्त म्युजिक एल्बममा महेन्द्र गुरूङ र सुरेश लामाको शव्द रहेका छन् भने रूबेन शाहीले संगीतबद्ध गरेका छन्। म्युजिक एल्बममा म्युजिक एरेन्जरहरू गोपाल रसाइली, नोर्बु शेर्पा, निलम मोक्तान र दार्जीलिङका जीवनप्रकाश प्रधान र ग्यान्टोकका अल्बर्ट गुरूङ र सुबास रहेका छन्।